धनगढी । नेपालको राजनीतिमा महिला प्रतिनिधित्वको प्रश्न सधैँ बहसको विषय रहँदै आएको छ । खासगरी सुदूरपश्चिम प्रदेशजस्तो भौगोलिक, सामाजिक र आर्थिक रूपमा पछाडि पारिएको क्षेत्रबाट संसदमा महिला उपस्थितिको अवस्था झनै कमजोर देखिन्छ । यही सन्दर्भमा २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भई सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा पुग्ने एक्ली महिला सांसद बनेकी छन् कोमल ज्ञवाली ।
सुदूरपश्चिम प्रदेशका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अधिकांशमा पुरुष उम्मेदवार नै विजयी भए । राजनीतिक दलहरूको उम्मेदवार चयनदेखि चुनावी प्रचारसम्म पुरुषप्रधान संरचना हाबी रहँदा महिला उम्मेदवारहरू सीमित संख्यामा मात्र अघि सारिए । २०८२ को प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा सबै दल र स्वतन्त्र गरी जम्मा २१० उम्मेदवारमध्ये १८ जना महिला उम्मेदवार मात्रै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
यही संरचनागत अवरोधबीच कैलाली–१ बाट कोमल ज्ञवालीको विजय केवल व्यक्तिगत सफलता मात्र नभई सुदूरपश्चिमको राजनीतिक इतिहासमा महिला उपस्थितिको प्रतीकात्मक उपलब्धि बनेको छ ।
कोमल ज्ञवालीको सार्वजनिक जीवनको आधार थारु समुदायभित्र चार वर्षसम्म गरिएको महिला सशक्तीकरणको काम हो । ग्रामीण महिलाको आत्मनिर्भरता, चेतना अभिवृद्धि र नेतृत्व विकासमा केन्द्रित कार्यक्रममार्फत उनले समुदायस्तरमै परिवर्तनको अभ्यास गरिन् । महिला अधिकार, सहभागिता र निर्णय प्रक्रियामा महिलाको उपस्थितिलाई संस्थागत बनाउने प्रयास उनका कामको मुख्य केन्द्र रह्यो ।
तीन वर्षसम्म तत्कालीन नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दा उनले राजनीतिक संगठनभित्र व्यवस्थापन क्षमताको परिचय दिइन् । संगठनभित्रको जिम्मेवारीले उनलाई नीति, संगठन र व्यवस्थापनलाई एकसाथ बुझ्ने अवसर दियो । उनको नेतृत्वको अर्को विशेषता भनेको युवा र महिलाको सशक्त प्रतिनिधित्वप्रतिको स्पष्ट धारणा हो । सीमान्तकृत समुदायका आवाजहरू सधैँ पछाडि पारिँदै आएको यथार्थलाई उनले नजिकबाट बुझेकी छन् ।
चार वर्षको कृषि क्षेत्रको अनुभवले उनलाई किसानका समस्या कागजमा होइन, खेतमै बुझ्ने अवसर दियो । किसानका लागि प्रविधि, बजार पहुँच र आम्दानी वृद्धिलाई उनले मुख्य एजेन्डाका रूपमा अघि सारेकी छन् । कृषिमूल्य शृंखला सुधार, स्थानीय उत्पादनको बजारीकरण र रोजगारी सिर्जनामा उनी सक्रिय रहँदै आएकी छन् ।
उनको शैक्षिक पृष्ठभूमि व्यवस्थापन संकाय हो । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातक (बीबीएस) अध्ययनले उनलाई व्यवस्थापन, योजना र आर्थिक अनुशासनको आधार प्रदान गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी ज्ञवालीले राजनीतिमा नयाँ अनुहार, नयाँ सोच र जबाफदेही नेतृत्वको आवश्यकता रहेको सन्देश मतदातामाझ पु¥याइन् । परम्परागत दलहरूबीचको प्रतिस्पर्धामा उनले विश्वासको राजनीति र कार्यक्षमताको बहस अघि सारिन् ।
कैलाली–१ को मतादेश
कैलाली–१ बाट निर्वाचित कोमल ज्ञवालीले अनुभवी र स्थापित राजनीतिक प्रतिस्पर्धीलाई पराजित गर्दै संसद् प्रवेश गर्दै छिन् । यो नतिजाले सुदूरपश्चिमका मतदाताले लिंग, जात वा क्षेत्रभन्दा पनि नेतृत्वको दृष्टि, इमानदारी र क्षमता खोजिरहेको स्पष्ट सन्देश दिएको छ ।
उनको जितलाई धेरैले ‘परिवर्तनको मतादेश’का रूपमा व्याख्या गरेका छन् । किनकि यस क्षेत्रबाट निर्वाचित अधिकांश सांसदहरू पुरुष रहँदै आएका थिए र महिला उम्मेदवारलाई ‘कमजोर’ ठान्ने मानसिकता बलियो थियो ।
सुदूरपश्चिमबाट प्रतिनिधिसभामा पुग्ने एक्ली महिला सांसद हुनु गौरवसँगै ठूलो जिम्मेवारी पनि हो । कोमल ज्ञवालीमाथि केवल आङ्खनो निर्वाचन क्षेत्रको मात्र होइन, सम्पूर्ण प्रदेशका महिलाको प्रतिनिधित्व गर्ने नैतिक दायित्व थपिएको छ । महिला अधिकार, स्वास्थ्य, शिक्षा, रोजगारी, हिंसा र समान सहभागिताका मुद्दामा उनको भूमिका अझ सूक्ष्म रूपमा हेरिनेछ ।
राजनीतिक विश्लेषकहरूका अनुसार संसदमा उनको उपस्थिति सुदूरपश्चिमका महिलाहरूका लागि प्रेरणाको स्रोत बनेको छ । गाउँ–समाजमा अझै पनि राजनीति ‘पुरुषको क्षेत्र’ भन्ने धारणा तोड्न यो उपलब्धिले मनोवैज्ञानिक प्रभाव पारेको छ ।
सुदूरपश्चिमका मतदाताले अब पुरानै अनुहारलाई मात्र होइन, नयाँ सोच र नयाँ नेतृत्वलाई पनि अवसर दिन थालेका छन् भने दलहरूलाई अब टिकट वितरणमा लैंगिक समावेशितालाई औपचारिकता होइन, वास्तविक प्रतिबद्धताका रूपमा लिन दबाब सिर्जना भएको छ ।
यद्यपि उनको यात्रामा चुनौतीहरू कम छैनन् । पार्टीभित्रको आन्तरिक राजनीति, संसदीय अभ्यासमा अनुभवको कमी र सुदूरपश्चिमका जटिल विकास समस्या उनका लागि ठूला परीक्षा बन्नेछन् ।






