निर्वाचन सकिएसँगै चलचित्र छायांकनको लर्को

काठमाडौं । सुरु भएको केही दिनमै चलचित्र ‘कार्की साइँला’ को छायांकन तीन साता अघि रोकिएको थियो । प्रतिनिधि सभाको निर्वाचनको कारण चलचित्रको छायांकन रोक्ने तयारी हुँदा हुँदै प्राविधिक (लाइट पर्सन) शम्भु भट्टराईको कमजोरीका कारण ढलेर छायांकनको क्रममै निधन भयो । यी दुबै कारणले चलचित्रको छायांकन रोकिएको थियो । आफ्नो चलचित्रको छायांकन पुन सुरु भएको यसका अभिनेता जितु नेपालले जनाएका छन् ।

यति बेला धनकुटाको सहिद भूमि गाउँपालिकामा पुनः छायांकन सुरु भएको यो चलचित्रलाई तीन साता भित्र छायांकन सक्ने लक्ष्य लिएको निर्देशक राजेन्द्र बस्नेतको कथन छ । चलचित्र ‘कार्की साइँला’मा जितु नेपालसँगै प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटालगायतका कलाकारहरूको अभिनय रहने छ ।

संसदीय निर्वाचनको कारण फागुन महिनाको पहिलो साताबाट नेपाली चलचित्रको छायांकन सम्बन्धी गतिविधि रोकिएको थियो । कतिपय कलाकार तथा निर्माण पक्ष निर्वाचनको प्रचार प्रसार तथा अन्य काममा जोडिएपछि करिब तीन साता नेपाली धेरै जसो नेपाली चलचित्रको छायांकन रोकिएको थियो भने केही नयाँ चलचित्रको छायांकन चुनाव पछिमात्र सुरु गर्ने भनिएको थियो । निर्वाचन सकिएको एक साता बितेसँगै यति बेला आधा दर्जन भन्दा बढी नेपाली चलचित्र छायांकनमा उत्रिएका छन् । केही नयाँ चलचित्रको छायांकन चैतको पहिलो साताबाट सुरु गरिने भएको छ ।

यस्तै छायांकन सुरु भएको केही दिनमै अभिनेत्री निशा अधिकार आफैँ उम्मेदवार बनेर निर्वाचनमा व्यस्त भएपछि चलचित्र ‘कस्तुरी’को छायांकन रोकिएको थियो । निर्वाचनमा पराजय भएपछि निर्वाचन खर्चसमेत आयोगलाई बुझाएर अभिनेत्री निशा अधिकारी छायांकनमा फर्किएकी छिन् । आफ्ना दाइ हरि उप्रेतीको चुनावी प्रचारमा जोडिएका अभिनेता निखिल उप्रेती पनि छायांकनमा फर्किएपछि अहिले ‘कस्तुरी’को छायांकन धमाधम भइरहेको छ । संसदीय निर्वाचनका कारण चलचित्रको छायांकन केही दिन रोकिएको थियो । निर्वाचन पछि छायांकन सुचारु गरेर अघि बढेको यसका निर्देशक ऋत बोहराले जानकारी गराएका छन् । यो चलचित्रमा निखिल उप्रेती, वर्षा सिवाकोटी, निशा अधिकारीलगायतको मुख्य भूमिका छ ।

फागुनको पहिलो साताबाट सुरु गर्ने भनिएको चलचित्र ‘मुक्तिपुर’को छायांकन पनि संसदीय निर्वाचनकै कारण पछि सारिएको थियो । निर्वाचन सकिएसँगै यो चलचित्रको पनि काठमाडौँबाटै छायांकन सुरु गरिएको छ । पाँच दिन अघिबाट यो चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको छायांकन ४० दिनमा सक्ने लक्ष्य रहेको यसका निर्देशक सुनिल पाण्डेले बताएका छन् । चलचित्रको छायांकन अहिले काठमाडौँमा भइरहेको छ । ‘मुक्तिपुर’मा नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती, आकृति बुढाथोकीलगायतको मुख्य भूमिका रहेको छ ।

शिवरात्रिको अवसर पारेर फागुनको पहिलो साता नै चलचित्र ‘माया भनेकै यस्तो होला’को घोषणा गरिएको थियो । अभिनेत्री रेखा थापाले आफ्नो निर्देशनमा यो चलचित्रको छायांकन १० फागूनबाट सुरु गर्ने भने पनि निर्माण पक्षको चाहना अनुसार निर्वाचनपछि यसको छायांकन सारिएको थियो । पाँच दिन अघिबाट यो चलचित्रको छायांकन थालिएको र अहिले शिवपुरीमा छायांकन भइरहेको उनले बताइन् । अभिनेत्री रेखा थापाको यो तेस्रो निर्देशन हो । पत्रकार ध्रुव लम्सालले लेखेको चलचित्र ‘माया भनेकै यस्तो होला’मा मदनकृष्ण, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाहलगायतको अभिनय छ । यो चलचित्रलाई ४५ दिनमा छायांकन सक्ने लक्ष्य आफ्नो रहेको निर्देशक रेखा थापाले राजधानीलाई बताइन् ।

चलचित्र ‘भटभटे’ को छायांकन पनि संसदीय निर्वाचनकै कारण तीन साता अघि रोकिएको थियो । यो चलचित्रको करिब ५० प्रतिशत छायांकन सम्पन्न गरेपछि निर्वाचनको कारण देखाउँदै यसको छायांकन रोकिएको निर्माण पक्षले जनाएको थियो । यो चलचित्रको पनि धनुषाबाट छायांकन सुरु गरिएका यसका निर्देशक लक्ष्मण पौड्यालले जानकारी गराएका छन् । नयनराज पाण्डेको कथामा आधारित यो चलचित्रमा अञ्जना बराइली, सविन कार्की लगायतको भूमिका रहेको छ । चैतको दोस्रो सातासम्म यसको छायांकन सक्ने लक्ष्य रहेको पनि निर्देशक पौड्यालले जनाएका छन् ।

यता निर्वाचनकै कारण छायांकन सुरु नगरिएका केही चलचित्रको भने चैतको पहिलो तथा दोस्रो साताबाट छायांकन थालिने भएको छ । निर्देशक अशोक शर्माले आफ्नो चलचित्र ‘डबल ट्रिपल’को छायांकन फागुनको पहिलो साताबाटै गर्ने भनेका थिए । आगामी दसैँमा रिलिज सहित उनले छायांकनको तयारी गरेका थिए । तर संसदीय निर्वाचनको कारण उनको यो छायांकन फागुनको पहिलो साता सुरु हुन सकेन । दयाहाङ राई, खगेन्द्र लामिछाने लगायतको मुख्य भूमिका रहेको यो चलचित्र अब चैतको पहिलो साता छायांकनमा जाने निर्देशक शर्माले जनाएका छन् ।
संसदीय निर्वाचनकै कारण चलचित्र ‘पारि बुटवल’को पनि छायांकन रोकिएको थियो । अब बाँकी छायांकन आफूले चैतको पहिलो साताबाट सुरु गर्ने यसका निर्देशक गणेशदेव पाण्डेले बताएका छन् । यो चलचित्रमा अनुप बराल, दीया मास्के लगायतको मुख्य भूमिका छ ।

यस्तै निर्देशक कृषा चौलागाईले फागुनमै सुरु गर्ने भनिएको चलचित्र ‘पारस’को छायांकन चैत १० पछिबाट सुरु गर्ने बताएकी छिन् । यो चलचित्रमा निखिल उप्रेती, सुशील श्रेष्ठ, निरुता सिंहलगायतको मुख्य भूमिका रहेको छ । निखिलले चलचित्र ‘कस्तुरी’को छायांकनबाट चैतको पहिलो सातादेखि समय दिने भएकाले चैतको दोस्रो साताबाट छायांकन सुुरु गर्ने लक्ष्य रहेको निर्देशक कृषाले जनाइन् ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको मध्यरात सकुशल उद्धार