काठमाडौं । नेपाल गणित समाजले आफ्नो ४२ औं वार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सबमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाले आधारभुत विषयलाई पाठ्यक्रमबाट हटाउन नहुने बताएका छन् । उनले आधारभुत विषयलाई हटाउनुभन्दा पनि व्यवस्थित गरेर लैजानुपर्ने बताएका हुन् ।
उनले भने, ‘गणित आधारभुत विषय हो । यो विषयलाई पाठ्यक्रमबाट हटाउने होईन । बरु व्यवस्थित गरेर लैजानुपर्छ ।’ उनले विश्वविद्यालयका शिक्षकलाई अनुसन्धानमा खटाउने गरी योजना अघि सारेको बताए । बढि भन्दा बढि अनुसन्धानमा संलग्न गराउन विश्वविद्यालय लाग्ने उनको भनाई छ ।
नेपाल गणित समाजका केन्द्रिय सभापति प्रा.डा.चेतराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवनविश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा.रामप्रसाद खतीवडा, काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्सका डिन प्रा डा कन्हैया झा, गणित केन्द्रिय विभागका प्रमुख प्रा. डा. टंकनाथ धमला, निक सिमोन्स ईन्स्टिच्युट नेपालका कार्यकारी निर्देशक डा. अनिल श्रेष्ठ, एसोसिएशन अफ नेपालीज म्याथ्मेटिसियन्स इन अमेरिकाका सभापति डा केशव पोखरेलले गणित विधाका महत्व माथी प्रकाश पारेका थिए ।
कार्यक्रममा समाजका पूर्वसभापति लगायत नेचुरल साइन्स विधाका धेरै बैज्ञानिकहरूको उपस्थिति रहेको थियो । बैज्ञानिक सत्रमा अमेरिकाबाट डा. देबेन्द्र बन्जाडेले कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो सत्रको अध्यक्षता प्रा.डा घनश्याम भट्टले गर्नु भएको थियो । समाजका वार्षिक गतिविधिमाथि समाजका उपसभापति प्रा डा दिलवहादुर गुरुङले प्रकाश पारेका थिए । कार्यक्रमको सन्चालन समाजका सचिव डा. दिनेश पन्थीले गरेका थिए ।
कार्यक्रममा नेपाल गणित समाजको बार्षिक समाचार पत्रिकाको बिमोचन गरिएको थियो । यस्तै, गत वर्ष सेवा निबृत्त हुनुभएका प्राध्यापकलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा गत वर्ष स्वदेश तथा विदेशबाट विद्यावारिधि प्राप्त गर्ने समाजका आजीवन सदस्यहरुलाई समेत वधाई तथा सम्मान गरिएको थियो । स्वदेश र बिदेशबाट गरि करीव २०० जनाको उपस्थिति रहेको थियो । प्रविधि संयोजन समाजका सहसचिव डा.जीवन काफ्लेले गरेका थिए ।






