सुन्दरहरैंचा(मोरङ) । मोरङको सुन्दरहरैंचा नगरपालिकाको १७ औँ नगरसभा विभिन्न ६ वटा प्रस्ताव सर्वसम्मत पारित गर्दै सम्पन्न भएको छ। नगरप्रमुख केदारप्रसाद गुरागाईँको अध्यक्षतामा सुन्दरहरैंचा–४ स्थित गोदावरी रिसोर्टमा सम्पन्न नगरसभाले नीति, योजना तथा विधायनसँग सम्बन्धित महत्वपूर्ण प्रस्तावहरू पारित गरेको हो।
सभामा नगर उपप्रमुख अकली चौधरीले प्रस्तुत गर्नुभएका दुई वटा विधेयक, विधायन समितिका संयोजक तथा वडा नं. ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए। तीन वटा विधेयक र नगरप्रमुख गुरागाईँले पेश गरेका एक विशेष प्रस्ताव गरी कुल ६ वटा प्रस्ताव पारित भएका हुन्।
उपप्रमुख चौधरीले विधेयक प्रस्तुत गर्नुअघि चालु आर्थिक वर्षमा नगरपालिकाले सम्पन्न गरेका कार्यक्रम तथा विकास निर्माणका कार्यहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए । त्यसपछि उनले “सुन्दरहरैंचा नगरपालिकाको आर्थिक ऐन, २०८२ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८२” र “विनियोजन ऐन, २०८२ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८२” सभामा पेश भएको थियो।
त्यसैगरी, विधायन समितिका संयोजक न्यौपानेले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक, २०८२”, “जलस्रोत उपयोग तथा व्यवस्थापन सम्बन्धी विधेयक, २०८२” तथा “न्यायिक समितिको फैसला तथा मिलापत्र कार्यान्वयन ऐन, २०८१ लाई पहिलो पटक संशोधन गर्न बनेको विधेयक, २०८२” प्रस्तुत गरेका थिए।
नगरसभामा प्रस्तुत पाँच वटै विधेयकलाई सभाध्यक्ष गुरागाईँले निर्णयार्थ पेश गर्नुभएपछि ती सबै विधेयक सर्वसम्मत रूपमा पारित भएका थिए। सभाको शून्य समयमा दुई जना सदस्यले विभिन्न जिज्ञासा तथा धारणा राखेका थिए, जसको जवाफ सभाध्यक्ष गुरागाईँले दिएका थिए।
यसैगरी, छैटौँ तथा विशेष प्रस्तावका रूपमा नगरप्रमुख गुरागाईँले “जेनजी आन्दोलन”का क्रममा भएको क्षतिको अभिलेखीकरण राख्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव पनि सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। नगरसभाबाट पारित भएका प्रस्तावहरूले सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक, आर्थिक तथा कानुनी व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।






