होमस्टेमा विकृति !

भक्तपुर । स्थानीय प्रकृति र संस्कृतिको संरक्षण गर्दै आर्थिक आम्दानी गर्ने उद्देश्य राखेर नेपालभर होमस्टे (घरबास) सञ्चालित भएका छन् । होमस्टे (घरवास) महासंघ नेपालका अनुसार करिब ६ सय घरमा निजी तथा सामुदायिक रूपमा सञ्चालित होमस्टेहरू महांसघमा आबद्ध छन् । अन्य करिब ६ सय होमस्टेसमेत गरेर नेपालमा एक हजार २ सय होमस्टे सञ्चालित रहेका छन् ।

त्यसैगरी महासंघमा आबद्धतासहित नेपालका ७२ जिल्लामा एक हजार पाँच सय घरमा निजी तथा सामुदायिक होमस्टे रहेका छन् । तर, पछिल्लो समय शहर नजिकै रहेका होमस्टेहरूमा भने होटलको जस्तो विकृति देखिन थालेकोमा सरोकारवालाहरूले गुनासो गरेका छन् । होमस्टे महासंघ नेपाल तथा नेपाल पर्यटन बोर्ड, दिगो पर्यटन परियोजको सहयोगमा होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि पुरानो र समय सान्दर्भिक नभएकाले परिमार्जनसहित नयाँ बनाउने तयारी थालिएको छ ।

२०६७ सालमा निर्माण भएको होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि समयअनुसार नभएकाले परिवर्तन गर्न लागिएको महासंघका अध्यक्ष प्रेमशंकर मर्दनिया थारुले बताए । १५ वर्षअघि निर्माण भएको होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि पुरानो र समय सान्दर्भिक नभएको महसुस गरी नयाँ मस्यौदा निर्माणका लागि कार्यदल गत पुसमा गठन गरिएको अध्यक्ष थारुले बताए ।

नेपालमा होमस्टेको संस्थागत सुरुवात स्याङ्जाको सिरुवारीबाट भएको होमस्टेका अभियन्ताहरू बताउँछन् । करिब १५ हजार घरपरिवारलाई स्वरोजगार बनाएको होमस्टेमा पछिल्लो समय होटलको जस्तो विकृति भएको गुनासो छ ।

सामुदायिक वा निजी होमस्टेले एउटा घरमा पाँच वटासम्म मात्र कोठा राख्न पाउने व्यवस्था भएपनि अनुगमन नहुँदा एउटै घरका २५ वटा कोठामा समेत होमस्टे सञ्चालन गरिएको धरैको भनाइ छ । राज्यलाई कर नतिर्ने मनसाय भएका केही व्यक्तिले होटल चलाएको भएपनि बोर्डचाहिँ होमस्टेको राखेकाले प्रभावकारी अनुगमन हुनुपर्नेमा जोड दिए ।

ओभरअल डेभलपमेन्ट नेटवर्कका अध्यक्ष तथा होमस्टेका अभियन्ता राजकुमार लामिछानेले घरपरिवारसँग बसेर घरमै फलेका कुरा खाने संस्कृति जीवन्त हुनुपर्नेमा अहिले होटलको जस्तो परम्परा होमस्टेमा देखिन थालेको छ । ‘होमस्टे भन्ने बित्तिकै पहिरन, पहिचान, स्वागत, स्थानीय खाना, कलासंस्कृति, कोसेली र बिदाइ हुनुपर्ने हिजोआज होेटलको जस्तो कोठा बेच्ने परम्परा केहीमा देखिएको छ, त्यो विकृति हो,’ लामिछानेले भने ।

होमस्टे महासंघ नेपालका सल्लाहकार एवं मस्यौदा समितिका विज्ञ सदस्य डा. आलोक प्रसाईंले मस्यौदामा सामुदायिक होमस्टे स्थापना गर्न पाँच देखि ४५ वटाघरसम्म हुनुपर्ने व्यवस्था राखिएको जानकारी दिए ।

सुझाव र सल्लाहलाई समेटेर मस्यौदा पर्यटन मन्त्रालयमा पठाउने तयारी भइरहेको बताउँदै नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना प्रमुख धर्म दवाडीको भनाइ छ । मन्त्रालयले यसै साता छुट्टै कार्यदल बनाएर मस्यौदालाई अन्तिम रुप दिने जानकारी दिए ।

होमस्टे महासंघका कोषाध्यक्ष एवं कार्यविधि निर्माण कार्यदल सदस्य सुरज बास्तोलाले होमस्टेलाई व्यवस्थित र थप प्रभावकारी बनाउन कार्यविधि परिमार्जन गर्ने क्रममा मस्यौदा बनाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

बागमती प्रदेशका सांसद प्रेमभक्त महर्जनले १५ वर्षअगाडि बनेको होमस्टे सञ्चालन कार्यविधि परिमार्जन गर्नु अति आवश्यक भएको बताए । प्रभावकारी अनुगमन नहुँदा होमस्टेलाई हेर्ने दृष्टिकोण बदलिने भएकाले अनुगमन बढाएर थप प्रभावकारी बनाउने महर्जनको भनाइ छ ।

ग्रामीण पर्यटनको आधार रहेको होमस्टेले स्वरोजगार बनाउने र धर्म संस्कृति जोगाउने कार्य गरेकाले राज्यले उचित ध्यान दिन सकेको खण्डमा नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने अभियन्ताहरूको भनाइ छ । यसबाट लोप हुन लागेका नेपाली अन्नबाली, परम्परा, भेसभुसा, रैथाने परिकार, वनजंगल जीवजन्तु संरक्षणमा समेत सहयोग पुग्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

epaper

ताजा समाचार

राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती