काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी भित्र बढ्दो किचलोबीच संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
शनिबार राति अबेर सम्पन्न केन्द्रिय समिति बैठक मार्फत प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले मुलुकको निशान छापमा नयाँ नक्सा समावेश गर्नका लागि संसदमा दर्ता गराएको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
कांग्रेस नेता गोपालमान श्रेष्ठले काली नदी पूर्वको भूमि नेपालकै रहेको र सरकारले संविधान संशोधनका लागि संसदमा दर्ता गराएको संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए ।
‘बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको नक्सालाई निशानछापमा समावेश गर्न सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ,’ नेता श्रेष्ठले राजधानीसँग भने ।
नेता गगन थापाले बैठकले संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको जानकारी दिए ।
‘परिवर्तित नक्सालाई संविधानको अंग बनाउँने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन भयो,’ बैठकपछि नेता थापाले भने ।
कांग्रेसले गुन्जी लगायतका क्षेत्रमा राखिएका भारतीय सुरक्षाकर्मी लाई समेत कुटनीतिक पहल माध्यमबाट हटाउने गरी पहल गर्न सरकारलाई सुझाएको छ ।
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नयाँ नक्सा जारी गरेपछि निशान छाप परिवर्तन गर्नका लागि गत ९ जेठमा संसदमा संशोधन विधेय दर्ता गराएको थियो ।
प्रतिपक्षी दल कांग्रेसले यो निर्णयसँगै संविधान संशोधनका लागि सत्ता पक्षलाई समेत दबाब बढेको छ । सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संशोधन प्रस्ताव दर्ता गरेको छ ।
बैठकले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मधेसवादी दलहरुको माग बमोजिम संविधान संशोधन गर्न संसदमा दर्ता गराएको संशोधन प्रस्तावलाई समेत पुनः दर्ता गर्ने निर्णय गरेको छ ।
कांग्रेसले सो संशोधन केही समयपछि पुनः दर्ता गर्ने निर्णय गरेको हो तर कहिले गर्ने भन्ने टुंगो भएको छैन । सो पस्ताव पहिले संसदबाट अस्वीकृत भएको थियो ।
‘त्यसका लागि संसदीय दललाई निर्देशन दिइएको छ, दलले उपयुक्त समयमा संशोधन दर्ता गर्छ, एक नेताले भने ।
शनिबारको बैठकमा तराई मधेसका केन्द्रीय सदस्यहरुले मधेसको मुद्दालाई पनि सम्बोधन गर्नुपर्ने बताएका थिए । तराई मधेसका दलहरुले केही दिन अघि सभापति देउवालाई भेटेर निशान छाप परिर्माजनका लागि संविधान संशोधन गर्दा मधेसको मुद्दा पनि संशोधनका लागि पहल गर्न आग्रह गरेका थिए ।
कांग्रेसले केन्द्रिय समिति मार्फत रुकुममा भएको निर्मम, बर्बरतापूर्वक र सामूहिक हत्याको सत्य तथ्य छानविनका लागि सर्वदलीय छानविन समिति गठन गर्न समेत सरकारसँग माग गरेको छ ।
कांग्रेसले बैठक मार्फत घटना निन्दनीय र क्रुर रहेको भन्दै घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाहीको दायरामा ल्याउन समेत सरकारसँग माग गरेको हो ।






