इटहरीमा श्रृङ्खलाबद्व आगलागीका घटना, नगरसँग छैन दमकल

घटना १ : १३ चैत २०८१ मा इटहरीको मुख्य चोकमै रहेको सेन्टर प्लाजामा आगलागी भयो । इटहरीका व्यावसायी राजेश श्रेष्ठले सञ्चालनमा ल्याएको उक्त प्लाजामा आगलागी भएको साढे पाँच घण्टापछि मात्रै नियन्त्रणमा आयो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयवासीको निरन्तर प्रयासले मात्रै आगो नियन्त्रणमा आयो ।

घटना २ : २२ पुस २०८२ मा इटहरीकै आइत’bout क्षेत्रस्थित गुद्रीमा आगलागी भयो । स्थानीय सेवारो फ्रेस हाउसबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले आसपासका पसलहरूमा तीव्र रूपमा फैलिँदै पाँच वटा पसलमा क्षति पु¥याएको थियो । आगो फैलिँदा सेवारो फ्रेस हाउस र खड्का फ्रेस हाउस पूर्णरूपमा जलेर नष्ट भयो भने तीन वटा पसलमा आंशिक क्षति भयो ।

घटना ३ : ११ चैत २०८२ (बुधवार) इटहरी चोकमै रहेको दामोदर बिडारीले सञ्चालन गरेको न्यू पूर्वाञ्चल आइसक्रिम पार्लर एन्ड कफी सपमा आगलागी भयो । ‘किचनमा प्रयोग हुने चिम्नी वेल्डिङ (मर्मत)गर्ने क्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालले भने, ‘आगोको झिल्कोले केक बनाउन प्रयोग हुने झिरझिरे र कार्टुनमा भेटेपछि थप आगो फैलिएको थियो ।’

Screenshot

बिहान भएको आगलागी नियन्त्रणमा लिन प्रहरीसहित नेपाली सेना र सशस्त्र प्रहरीसमेत खटिएको थियो । खासगरी आगलागीबाट केक बनाउने सामग्रीसहित अन्य मेसिन र तयारी सामान नष्ट भएको हमालले जानकारी दिए । डीएसपी हमालको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल १ नं. वाहिनीका एसपी किसन कर्माचार्य, नेपाली सेनाका राजन भुजुसहितको टोलीले आगो नियन्त्रणमा लिएको हो ।

बिहान १० बजे लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा ११ः५० बजेतिर नियन्त्रणमा आएको डीएसपी हमालको भनाइ छ । ‘इटहरीमा दमकल नहुँदा आगलागी तत्कालै नियन्त्रणमा लिन समस्या हुने गरेको छ,’ उनले भने । बुधवार भएको आगलागी नियन्त्रणका लागि सुनसरीको धरान, रामधुनी, इनरुवा, दुहबी, मोरङको सुन्दरहरैँचा, लेटाङबाट बारुणयन्त्र झिकाइएको थियो । आगलागीबाट ३५ लाख बराबरको क्षति भएको सञ्चालकले दाबी गरेका छन् ।

माथि उल्लेखित घटना एक वर्ष अवधिभर इटहरीमा भएका हुन् । उल्लेखित तीन वटै घटना इटहरी उपमहानगरपालिका–६ मा पर्छन् ।

कोशी प्रदेशको व्यस्त र केन्द्रविन्दुको सहर इटहरीमा बर्सेनि आगलागीका घटना दोहोरिरहेका छन् । विशेषगरी इटहरी उपमहानगरपालिकाको दमकल जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा आगजनी गरिएपछि पूर्ण रूपमा जलेर नष्ट भएका छन् । जसकारण सामान्य आगलागी पनि तत्काल नियन्त्रणमा लिन नसक्दा ठूला घटना हुने गरेका छन् ।

आगलागी न्यूनीकरणका लागि दमकल व्यवस्थापन अनिवार्य
नागरिक समाज इटहरीका पूर्व अध्यक्ष राजु केसीले शहरीकरण तीव्र बन्दै गएको अवस्थामा आगलागीका घटनाहरू पनि बढ्दै गइरहेकाले विशेषगरी इटहरीजस्ता तीव्र विकास भइरहेका सहरहरूमा दमकलको अभावले जोखिम झनै बढाएको बताए ।

‘दमकलजस्तो अत्यावश्यक आपतकालीन सेवा कुनै पनि हालतमा अवरुद्ध हुनु हुँदैन,’ केसीले राजधानीसँग भने, ‘स्थानीय तहसँग पर्याप्त स्रोतसाधन छैन भने पनि जुनसुकै माध्यमबाट वा छिमेकी पालिकासँग समन्वय गरी भाडामा लिएर भए पनि दमकलको तत्काल व्यवस्था गर्नु आवश्यक छ ।’

खासगरी इटहरीमा अग्ला भवनहरूको नक्सा पास गर्दा संरचना मात्र होइन, आगलागी नियन्त्रणका आवश्यक पूर्वाधारहरू पनि अनिवार्य रूपमा सुनिश्चित गर्नुपर्ने उनले जोड दिए । ‘अग्ला भवनहरू निर्माण गर्ने अनुमति दिइन्छ भने त्यसमा आगो निभाउने उपकरण, आपतकालीन निकास र सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिनु जरुरी हुन्छ,’ उनले थपे ।

आगलागीका घटनाहरू दोहोरिनुमा जनचेतनाको कमी पनि एक प्रमुख कारण रहेको उनको बुझाइ छ । जसका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच सहकार्य गर्दै जनचेतना अभिवृद्धि गर्नुपर्ने उनले बताए । समयमै सचेतना, पूर्वतयारी र प्रभावकारी दमकल व्यवस्थापन गर्न सकिएमा ठूला क्षति हुनबाट जोगिन सकिने उनको सुझाव छ ।

‘दमकल खरिदको प्रक्रिया अगाडि बढिसकेको छ’ : नगर प्रवक्ता
इटहरी उपमहानगरपालिकाका प्रवक्ता एवम् इटहरी ६ का वडाध्यक्ष दिवस पोखरेलले दमकल खरिदको प्रक्रिया अगाडि बढिसकेकेको जानकारी दिए । यसअघि नगरमा दुई वटा दमकल रहेपनि जेनजी आन्दोलनमा आगजनी गरिएपछि दुवै दमकल काम लाग्ने अवस्थामा छैनन् । अहिले भने एउटा दमकल खरिद प्रक्रिया अगाडि बढिसकेको उनको भनाइ छ ।

‘यसअघि नै दमकल खरिद प्रक्रिया अगाडि बढिसकेको छ,’ पोखरेलले भने ।

इटहरीमा यसअघि भएका आगलागीका घटनामा अधिकांश विद्युत्कै कारण रहेको उनले बताए । ‘उपकरण चलिरहेको अवस्थामा र कहिलेकाहीँ लाइन आउनेजाने भएको अवस्थामा पनि आगलागी भएको छ । होटलको किचनबाट पनि आगलागी भएको छ । आगोजस्तो संवेदनशील कुरामा सबैजना सचेत र गम्भीर हुनुपर्छ,’ उनले भने, ‘कुनैबेला चैत, वैशाखको हुरीमा आगो कतै बालेको अवस्थामा आगलागी हुन्थ्यो भने अहिले विद्युत्का कारण आगलागी भएको छ ।’

उनले विद्युत्का तार कमसल र पुरानो रहेको अवस्थामा साथै इलेक्ट्रिक सामान प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

अभिनेत्री काजल कर्णले दिइन चलचित्र कलाकार संघमा उजुरी