धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी । १९ वटा वडा र २६१ दशमलव ७५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यो उपमहानगरपालिकाको जनसंख्या २०७८ को जनगणनाअनुसार एक लाख ९८ हजार ७९२ रहेको छ । प्रदेशको राजधानी तथा प्रमुख व्यापारिक शहर रहेको यो उपमहानगरपालिकाले विकास निर्माणलगायत सुदूरपश्चिमकै प्रतिनिधित्व गर्छ ।
यो उपमहानगरपालिकामा २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका सुन्दर सुदूरपश्चिम अभियानका अभियन्ता गोपाल हमाल विजयी भएपछि भने यहाँ सामाजिक र जनकल्याणकारी कार्यमा धेरै काम भएका छन् ।
निःशुल्क रगत प्रदान
धनगढी उपमहानगरपालिकाले आफ्ना नागरिकलाई बिरामी भएको अवस्थामा निःशुल्क रगत प्रदान गर्दै आएको छ । उपमहानगरले बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउँदै आएको हो ।
आर्थिक वर्ष २०८१÷८२ मा ४६० जना बिरामी तथा चालु आर्थिक वर्षको फागुनसम्म २१३ जना बिरामीसहित कुल ६७३ जनालाई निःशुल्क रगत तथा रगतजन्य पदार्थ उपलब्ध गराएको उपमहानगरको तथ्यांक रहेको छ । उपमहानगरले आर्थिक वर्ष २०८१÷८२ मा एक हजार ५३० पिन्ट तथा चालु आर्थिक वर्षको फागुनसम्म थप ५८२ पिन्टसहित नागरिकलाई कुल दुई हजार १२२ पिन्ट रगत तथा रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराएको जनाएको छ ।
गत आर्थिक वर्षमा सरकारी तथा निजी अस्पतालमा उपचार गरेका बिरामीलाई रगत उपलब्ध गराएकोमा यो वर्षबाट सरकारी अस्पतालमा प्रदेश सरकारले रगत उपलब्ध गराउने नीति लिएकाले निजी अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराइरहेको नगर प्रमुख गोपाल हमालले बताए । उनले बिरामीलाई जतिसुकै रगत आवश्यक परे पनि निःशुल्क उपलब्ध गराइरहेको बताए ।
उनले भने, ‘गत आर्थिक वर्षमा एक जना बिरामीलाई ३३ पिन्ट रगत उपलब्ध गराइएको छ, जसका कारण बिरामीको करिब ३८ हजार बचत भएको छ । उपमहानगरपालिकाले जीवन रक्षा गर्न आवश्यक रगत उपलब्ध गराए बापत नेपाल रेडक्रस धनगढी शाखालाई २४ लाख ४० हजार तीन सय रुपैयाँ भुक्तानी गरेको छ ।’
नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुगोस् भनेर निःशुल्क रगत उपलब्ध गराउन थालिएको नगर प्रमुख हमालले बताए ।
अपांगता भएका धमाधम सहायक सामग्री वितरण अपांगता भएका नागरिकको जीवनयापन सहज बनाउने उद्देश्यले चार वर्षको अवधिमा यो उपमहानगरले ४९४ जना अपांगता भएका नागरिकलाई २० प्रकारका ५३८ सहायक सामग्री वितरण गरेको जनाएको छ ।
आइतबार उपमहानगरपाकिाले पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । आर्थिक वर्ष २०७९/८० मा १८९ जनालाई २०५ सामग्री, २०८०÷८१ मा १९६ जनालाई २१७ सामग्री, २०८१÷८२ मा १०९ जनालाई ११६ सामग्री र चालु आर्थिक वर्ष २०८२/८३ मा २५७ जनालाई स्क्रिनिंग गरी ३१८ सामग्री वितरण गरिएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।
क्लस्टरअनुसार फूलबारी क्षेत्रमा १२८ जनाले १३९ सामग्री, उर्मा क्लस्टरमा ११८ जनाले १२५ सामग्री, जुगेडा क्लस्टरमा ९० जनाले ९५ सामग्री, बेला क्लस्टरमा ६२ जनाले ६६ सामग्री र धनगढी क्लस्टरमा ९६ जनालाई ११३ सामग्री प्रदान गरेको उनले बताए ।
यस अवधिमा १४६ व्हिलचेयर, ४५ ट्राइसाइकल, २० वाकर, १६ कृत्रिम हातखुट्टा, १०१ वाकिङ स्टिक, ५८ क्रचेज र एक सिपी चेयर वितरण गरिएको उपमहानगरले जनाएको छ । हालसम्म ६५ लाख १६ हजार ४ सय रुपैयाँ बराबरको सामग्री वितरण भइसकेको छ भने चालु आर्थिक वर्षका लागि १८ लाख रुपैयाँ बराबरको सामग्री खरिद प्रक्रिया अगाडि बढाइएको छ । स्थानीय सरकारले नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै अपांगता भएका व्यक्तिलाई सम्मानपूर्वक जीवनयापनमा सहयोग पु¥याउन यस्तो अभियान सञ्चालन गरिएको नगर प्रमुख गोपाल हमालले बताए ।
उनले धनगढीका १९ वटै वडामा रहेका अपांगता भएका नागरिकलाई खोज्दै हरेक वर्ष सहायक सामग्री वितरण गर्दै आएको उल्लेख गरे ।
र्थिक वर्ष २०७९ सालदेखि उपमहानगरपालिकाले अपांगता नागरिकको जीवन सहज बनाउने उद्देश्यले खोजी खोजी निःशुल्करुपमा सहायक सामग्री वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । उपमहानगरले अपांगताको प्रकृतिअनुसार ह्विलचेयर, वाकर, कृत्रिम हातखुट्टा, बैशाखी, सेतो छडी, सिपी चेयर, क्रचेज, ट्राइसाइकल र कमोड चेयरलगायतका सामग्री उपलब्ध गराउँदै आएको छ ।
सम्मानपूर्ण जीवनयापन र सेवामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित यो कार्यक्रम अघि बढाइएको जनाइएको छ । स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार, सहायक सामग्री आवश्यक पर्ने व्यक्तिको पहिचान गर्न हरेक वर्ष पालिकालाई पाँच क्लस्टरमा विभाजन गरी स्क्रिनिंग शिविर सञ्चालन गरिन्छ । त्यसपछि सम्बन्धित व्यक्तिको घरदैलोमै पुगेर सामग्री वितरण गर्ने गरिएको छ ।
‘कागजरहित धनगढी’ बन्दै
उपमहानगरले ‘कागजरहित धनगढी’को अवधारणा अघि सारेको छ । प्रशासनिक कामकारबाहीलाई सरल र छिटो तथा जनतालाई सहज सेवा दिने उद्देश्यले ‘कागजरहित धनगढी’ को अवधारणा अघि सारिएको उपमहानगरले जनाएको छ । नगर प्रमुख हमालले यस अवधारणाले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउनेमा आफू विश्वस्त रहेको बताए ।
नगर प्रमुख हमालले डिजिटल प्रणाली लागू भएमा घरै बसी बसी सेवा लिन सकिने बताए । कागजरहित सेवाअन्तर्गत जन्मदर्ता, नागरिकतालगायत विभिन्न सिफारिसहरू, दर्ता तथा नवीकरणजस्ता सेवाहरूलाई क्रमशः अनलाइनमार्फत उपलब्ध गराउने तयारी भइरहेको धनगढी उपमहानगरपालिकाका सञ्चार तथा सूचना प्रविधि शाखा प्रमुख अनुप भट्टले बताए ।
स्थानीय सरकारका विभिन्न सेवा प्रणाली, सूचनाहरूलाई एउटै प्लेटफर्ममा एकीकृत गरी नागरिकलाई छिटो, पारदर्शी र सहज सेवा प्रदान गर्ने सूचना प्रविधि प्रणाली (यूडीजीपी) आफूहरूले विकास गरिरहेको उनले बताए ।
पहिलो चरणको काम आगामी असार पहिलो साता सक्ने तयारी रहेको भट्टको भनाइ छ । पहिलो चरणअन्तर्गत नागरिक इ–केवाइसी,मोड्युल, सिफारिस मोड्युल र फाइल ट्रयाकिङ मोड्युलको विकास गरिने उनले बताए ।
पहिलो चरणको विकासको काम सकेलगत्तै युडिजीपी प्रणाली लागू गरिने उनले बताए । युडिजीपी प्रणाली लागू भएपछि धेरै सेवाहरू अनलाइनबाट प्रवाह हुने भएकोले कम साक्षरता भएका नागरिकहरूका लागि सहायता डेस्क स्थापना गरिने उनले बताए ।
पहिलो चरण सम्पन्नपछि ६ महिनाभित्र सम्पन्न गर्ने गरी दोस्रो चरणको प्रणाली विकासको काम सुरु गरिनेछ । दोस्रो चरण अन्तर्गत इ–सिग्नेचर मोड्युल, डिजिटल अभिलेख व्यवस्थापन प्रणाली, नागरिक गुनासो तथा सुझाव व्यवस्थापन मोड्युल, कार्यालय विवरण, सार्वजनिक सूचना मोड्युल लगायतको विकास गरी लागू गरिनेछ ।
यस प्रणालीले पेपर बोकेर कोठा–कोठा धाउन नपर्ने र डिजिटल माध्यमबाट कागज रहित र नागरिक केन्द्रित सेवा प्रदान गर्नेगरी आफूहरूले प्रणाली विकास गर्न लागेको उनले बताए ।
सम्बन्धित समाचार
भारी वर्षा र हुरीको सम्भावना
धनगढी उपमहानगरले निजी विद्यालयलाई भन्यो: ‘अनुमतिबिना पाठ्यपुस्तक परिवर्तन नगर्नु’
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै
धनगढीले राख्यो ८१९ सामुदायिक चौपायालाई गौशालामा
जनकपुर स्वच्छता अभियान सञ्चालन गरिने
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते
अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण






