एमाले प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । आइतबार मध्यराति पक्राउ परेकी नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । उनलाई काठमाडौंको धुम्बाराहीबाट निवासबाट पक्राउ गरिएको थियो ।

के हो मुद्दा ?

प्रधानमन्त्री बालेन्द्र शाहले यसअघि काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रश्न उठाएपछि उनको मुद्दा चर्चामा आएको थियो ।

प्रदेश सांसद शर्माविरुद्ध २०८१ सालमै जिल्ला प्रहरी परिसर, काठमाडौंमा बालबालिकाविरुद्धको कसुर मुद्दामा जाहेरी दर्ता भएको थियो । तर, अनुसन्धानमा प्रहरीले ढिलाइ गरेपछि काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख शाहले तत्कालीन प्रधानमन्त्री ओलीमाथि नै आक्रोश पोखेका थिए ।शर्मामाथि त्यसबेला ६ वर्षदेखि एक बालिकालाई घरेलु कामदारमा राखी दुव्र्यवहार गर्दै आएको भन्दै जाहेरी परेको थियो । हिंसा भोग्दै आएकी बालिकालाई काठमाडौं महानगरपालिकाले २०८१ साल जेठ १४ जेठ गते उद्धार गरी सामाजिक संस्थामा पठाएको थियो । प्रहरीमा काठमाडौं महानगरपालिकाले नै जाहेरी दिएको थियो ।

दाङकी एक निम्न आर्थिक अवस्था भएकी परिवारकी बालिकालाई पढाइदिने भन्दै घरमा राखेकोमा अत्यधिक काममा लगाउने गरेको गुनासोका आधारमा उनलाई महानगरले उद्धार गरेको थियो । जाहेरी दर्ता भएपछि त्यसविरुद्ध प्रदेश सांसद शर्मा उच्च अदालत गएकी थिइन् । सुरुमा अदालतले धरपकड नगर्न अन्तरिम आदेश दिएको थियो ।

तर २०८१ साल साउन २३ साउन गते दाबी नपुग्ने फैसला भएपछि अनुसन्धानका लागि बाटो खुलेको थियो । त्यसपछि पनि प्रहरीले अनुसन्धानमा चासो राखेन ।उद्धारपछि बालिकाका बुबा छोरी आफूलाई बुझाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले बालिकाको इच्छालाई नै केन्द्रमा राखी अभिभावकको समेत सहमतिमा उनलाई संस्थामै राख्न परमादेश दिएको थियो ।

काठमाडौं महानगरपालिकाले परिवारबाहिर आफन्त तथा अन्य व्यक्तिको घरमा बसेका बालबालिकामाथि अध्ययन गर्दा बाल श्रमशोषणको घटना पत्ता लागेको थियो । अरूको घरमा बसेर सामुदायिक विद्यालयमा पढ्ने २५५ जना विद्यार्थीलाई फर्म भर्न लगाएर अध्ययन गर्दा जसमध्ये २९ जनाले आफूले गम्भीर प्रकृतिको हिंसा भोग्दै आएको बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ नतिजामा सुधार : ३ वर्षमा ९ बाट ५० प्रतिशत नाघ्यो