बुङालुङ पार्कमा बहुसांस्कृतिक संग्राहलय

खोटाङ । प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा बहुसांस्कृतिक संग्राहलय निर्माण कार्य सुरु गरिएको छ । धार्मिक तथा पर्यटकीयस्थल बुङालुङ पार्कमा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको साझेदारीमा हलेसी तुवाचुङ नगरपालिकाले बहुसांस्कृतिक संग्राहलय निर्माणको काम सुरु गरेको हो ।

कोशी प्रदेश सरकार र नगरपालिकाको एक–एक करोड रुपैयाँ लगानीमा बहुसांस्कृतिक संग्राहलय भवन निर्माण सुरु गरिएको नगरप्रवक्ता एवम् वडा नम्बर– ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट गङ्गा–जमुना निर्माण सेवा ताप्लेजुङले ९० लाख तथा नगरपालिकाले विनियोजन गरेको बजेटबाट सुदेवी कन्ट्रक्सन एण्ड सप्लायर्सले ८० लाख ८१ हजारमा संग्राहलय भवन निर्माणको जिम्मा लिएको छ । गत फागुन २२ गते सम्झौता गरेर निर्माण सुरु गरिएको संग्राहलयको काम आगामी जेठ मसान्तभित्र सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीसँग गरिएको सम्झौतामा उल्लेख छ ।

प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट एउटा तथा नगरपालिकाले उपलब्ध गराएको बजेटबाट दुईवटा संग्राहलय भवन निर्माण हुने नगरपालिकाले जनाएको छ । बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित बुङालुङ पार्कमा बहुसांस्कृतिक संग्राहलय निर्माणको काम सुरु गरिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।

स्थानीय संस्कृति, इतिहास, परम्परा र विभिन्न समुदायको जीवनशैलीलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजना बनाइएको छ । बहुसांस्कृतिक संग्राहलय भवनले हलेसी क्षेत्रको सांस्कृतिक पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको उनले बताइन् । नगरपालिकाले यो परियोजनालाई आफ्नो गौरवको योजनाका रूपमा अघि बढाएको छ ।

निर्धारित समयमै निर्माण सम्पन्न गराएर सञ्चालनमा ल्याउन ठेकेदार कम्पनीलाई ताकेता गरिरहेको उनको भनाइ छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदल यात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्कमा बहुसांस्कृतिक संग्राहलयसमेत निर्माण सुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

प्राकृतिक रूपमै सजिसजाउ भएका ढुङ्गालाई थप सजाउने, ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुङ्गे गेट बनाउने, ढुङ्गे धारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउनेलगायतका काम भइरहेको छ ।

निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको बुङालुङ पार्क हलेसी भएर जाने नेपाल सरकारको १०० पर्यटकीय गन्तव्य मुन्दुम ट्रेल (पदमार्ग) को प्रवेशस्थलमा पर्दछ । बुङालुङ पार्कबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमश्रृङखला, छिमेकी जिल्लाहरू सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर र रामेछाप तथा तराईका विभिन्न फाँटहरू सजिलै अवलोकन गर्न सकिन्छ ।

चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर बुङालुङ पार्क बनाउनेगरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ । संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण सुरु गरिएको बुङालुङ पार्कमा दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप