काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि’ आफूलाई रिहाइ गरेको बताएका छन् ।
उनले आफ्नो रिहाइका लागि आवाज उठाउनेहरुमाथि आभार पनि प्रकट गरेका छन् । साथै रिहाईका लागि परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री ओलीले प्रहरी नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
उनले आफ्नो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । साथै घाइतेहरुको उपचार खर्च राज्यले बेहोर्नु पर्ने माग पनि गरेका छन् । यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी पनि उनले गराएका छन् ।
उनले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अझै अस्पतालमै रहेर उपचार गराउने जानकारी पनि गराएका छन् ।
चैत १४ गते बिहान सबेरै भक्तपुरको गुन्डुस्थित निवासबाट पक्राउ परेका उनलाई काठमाडौं प्रहरी परिसर हु्ँदै शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका ओलीको शिक्षण अस्पतालमा स्वास्थ्य जाँच गर्दा ‘मल्टिपल समस्या’ देखिएपछि चिकित्सकले शिक्षण अस्पतालमै भर्ना गरेका थिए ।
र्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको सोमबारको संयुक्त इजलासले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई बन्दी प्रत्यक्षीकरण मुद्दामा सशर्त थुनामुक्तको आदेश दिएको थियो । पछिल्लो पटक थप गरिएको पाँच दिनभित्र ओली–लेखकमाथि मुद्दा अभियोजन नभए उनीहरूलाई हिरासतमुक्त गर्न सर्वोच्चले परमादेश दिएको थियो ।
ओली र लेखकलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको भोलिपल्ट चैत १४ गते बिहान झिसमिसेमै उनीहरुकै निवासबाट पक्राउ गरिएको थियो । पक्राउपछि तीन पटक गरी १२ दिन म्याद थप गरिएको थियो ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको र अर्बौं रुपैयाँको क्षति भएको हुँदा त्यसको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक हुनुपर्ने आरोप उनीहरुमाथि छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले तयार पारेको प्रतिवेदनमा उनीहरुलाई १०–१० वर्षसम्मको सजाय हुन सक्नेगरी कारबाहीको सिफारिस गरिएकाले त्यसैका आधारमा आधारमा ओली र लेखकलाई पक्राउ गरिएको थियो । पक्राउपछि ओली एक दिन पनि प्रहरी कार्यालयको हिरासतमा बसेनन् । उपचारका नाममा उनलाई शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । लेखकलाई भने प्रहरीको महाराजगन्जस्थित २ नम्बर गणमा राखिएको थियो ।
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।
मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु। साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु।
यस्तो छ ओलीको स्टाटस
प्रहरी नियन्त्रणमा रहँदा मप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु।
मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु।
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता–कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु।









