काठमाडौं । सरकारी ठेक्का प्रणालीमाथि गम्भीर प्रश्न उठाउने एउटा नयाँ प्रकरण हालै सार्वजनिक भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन बोलपत्र प्रणाली ‘इ-गभर्न्मेन्ट प्रोक्युर्मेन्ट’ (इ-जीपी) नै ह्याक गरेर ठूल-ठूला सरकारी ठेक्का कब्जा गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पहिलो चरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल र जीवनकुमार दास रहेका छन्।
प्राप्त विवरणअनुसार, केही समूहले प्रणालीमा अनधिकृत पहुँच पुर्याई अन्य कम्पनीहरूले पेश गरेका आर्थिक प्रस्तावहरू हेर्ने गरेका थिए ।
त्यसपछि बोलपत्र बन्द हुनुअघि अन्तिम समयमा सबैभन्दा कम रकम राखेर ठेक्का आफ्नो पक्षमा पार्ने गरिएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । कसरी चल्यो ‘सिस्टम ह्याक’ खेल ?
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार,
• बोलपत्र प्रणालीमा अनधिकृत प्रवेश
• प्रतिस्पर्धी कम्पनीहरूको बिड एमाउन्ट हेर्ने
• अन्तिम समयमा थोरै कम रकम राखेर जित्ने जस्ता गतिविधि भएको पाइएको छ ।
यसले निष्पक्ष प्रतिस्पर्धालाई पूर्ण रूपमा कमजोर बनाएको र सरकारी परियोजनाहरूमा मिलेमतोको आशंका बढाएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोको संयुक्त टोलीद्वारा करिब दुई महिनादेखि अनुसन्धान भइरहेको छ।
प्रारम्भिक रूपमा धेरै प्रमाण भेटिए पनि अन्तिम निष्कर्ष आउन अझ समय लाग्ने बताइएको छ । सरकारी बोलपत्र प्रणाली ह्याक गरी ठेक्का कब्जा गरिएको प्रकरणमा प्रहरीले एक सयभन्दा बढी ठेकेदार, केही उच्चस्तरीय सरकारी अधिकारी तथा संलग्न ह्याकर समूहमाथि अनुसन्धान केन्द्रित गरिएको स्रोतले जनाएको छ।
अनुसन्धानबाट प्राप्त संकेत
• ठेकेदार, कर्मचारी र ह्याकरबीच संगठित गिरोह
• प्रणालीमा अनधिकृत पहुँच पुर्याएर बिड डेटा लिक गर्ने
• अन्तिम समयमा रकम घटाएर ठेक्का कब्जा गर्ने रणनीति
यो एक–दुई जनाको काम नभई ठूलो सेटिङ नेटवर्क भएको आशंका गरिएको छ। अनुसन्धानका लागि केही निर्माण व्यवसायिलाई समातेको भए पनि ठूलो निर्माण कम्पनी ठेकेदार कोही पनि पक्राउ परेका छैनन् । अहिले पक्राउ परेका साना ठेकेदार र इन्जिनियरहरु मात्र भएको बताइएको छ ।
नेपालमा भरखरै प्रारम्भ भएको डिजिटल प्रणाली अभ्यासलाई कमजोर गराउने खेल विभिन्न निकायहरुको बारम्बार भइरहेको छ । मालपोल, राहदानी शाखा, यातायात व्यवस्था विभाग, कम्पनी रजिष्टारको कार्यालय एवं अध्यागमन कार्यालयका सिस्टमा समेत ह्याकर समुहको बेला बेलामा प्रहार भएको छ ।
सम्बन्धित समाचार
अब आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ राजकुमार अर्याल पक्राउ
आजदेखि एक लिटर पेट्रोलको २०२ रुपैयाँ
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
पचास प्रतिशत पनि सहकारीले बुझाउँदैनन् नियमित प्रतिवेदन
रेमिट्यान्स कम्पनीलाई राहतसँगै कडाइ पनि
अर्थतन्त्रमा सुधारको संकेत, चार प्रतिशतले आर्थिक वृद्धि
१२ दिनमा थपियो २ सय ७० मिलियन डलर वैदेशिक ऋण






