धनकुटा । धनकुटा नगरपालिका–३ र ६ को सिमाना कागते क्षेत्रबाट करिब १३ फिट लामो विषालु राजगोमन (किङ कोब्रा) सर्प उद्धार गरिएको छ। दुर्लभ रूपमा पहाडी क्षेत्रमा देखिने यो सर्पको उद्धारले स्थानीयमा त्राससँगै चासो समेत बढाएको छ ।
शनिबार धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाका सर्प उद्धारकर्मी प्रदीप श्रेष्ठले उक्त सर्प सुरक्षित रूपमा नियन्त्रणमा लिएका हुन्। समुद्री सतहबाट करिब एक हजार तीन सय मिटर उचाइमा रहेको कागतेस्थित बोधप्रसाद वाग्लेको गोठमा यो सर्प तीन दिनदेखि बसिरहेको अवस्थामा फेला परेको थियो। स्थानीयवासीले खबर गरेपछि पुगेका श्रेष्ठले जोखिमपूर्ण परिस्थितिमा सर्पलाई नियन्त्रणमा लिएका थिए।
उद्धार गरिएको राजगोमनलाई डिभिजन वन कार्यालय धनकुटासँग समन्वय गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थान (वन क्षेत्र) मा छोड्ने तयारी भइरहेको धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए। उद्धारकर्मी श्रेष्ठका अनुसार राजगोमन अत्यन्तै विषालु सर्प हो, जसको टोकाइले गम्भीर अवस्था निम्त्याउन सक्छ र तत्कालै ज्यानसमेत जान सक्ने जोखिम हुन्छ। “यो सर्प सामान्य अवस्थामा आफैं आक्रमण गर्दैन, तर चलाएमा वा खतरा महसुस गरेमा आक्रामक बन्न सक्छ,” उनले बताए।
विगत ९ वर्षदेखि सर्प उद्धारमा सक्रिय श्रेष्ठले पछिल्लो दुई वर्षमा धनकुटाको महालक्ष्मी, पाख्रीबासलगायत क्षेत्रबाट पाँच वटा राजगोमन सर्प नियन्त्रणमा लिएर जंगलमा सुरक्षित रूपमा छोडिसकेको जानकारी दिए। उनका अनुसार जलवायु परिवर्तनका कारण पहाडी तथा चिसो क्षेत्रमा समेत यस्ता विषालु सर्पहरू देखिन थालेका छन्, जसले मानव बस्तीमा जोखिम बढाउन सक्ने संकेत गरेको छ ।
सम्बन्धित समाचार
जिसस खोटाङद्वारा १९ जना सम्मानित
पाँचथरमा डिबी गुरुङको संयोजकमा ९ सदस्य नेसनल प्याब्सन जिल्ला कार्यसमिति गठन
इनरुवामा २१० फिट अग्लो राष्ट्रिय झण्डा हेर्न र टिकटक बनाउन भीड
ग्रीन सिटीमा सम्पन्न महापुराणमा २१ लाखभन्दा बढी आम्दानी
संस्कृति, प्रकृति र आत्मगौरवको संगम बन्दै आठपहरिया होमस्टे
कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति
भिजिट भिसामा ओमान जाने नेपालीहरू ठगीको जोखिममा






