सिर्जना हत्याकाण्डमा थप प्रतिवादी पक्राउ

पोखरा । पोखरामा गत साता धारिलो हतियार प्रयोग गरी कर्तव्य ज्यान मुद्दामा थप २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले मुख्य अभियुक्तको बयान तथा घटनाको सूक्ष्म अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न रहेको आरोपमा थप २ जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेहरु दुवै जना पर्वतका हुन् ।

कार्कीका अनुसार मुख्य अभियुक्त र मतियारलाई भगाउन सहयोग गरेको भन्ने बयानका आधारमा पर्वतको कुष्मा–११ स्थायी घर भई हाल पोखरा ५, जिरो किलोमिटर बस्ने २४ वर्षीय वसन्त केसी र फलेबास–९, भंगरा स्थायी घर भई हाल पोखरा–१६, लामाचौर बस्ने वर्ष २७ का नवराज पौडेल क्षत्रीलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई मतियार सहयोगी मतियारको रुपमा कारबाही अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जनाए । घटनामा सम्बन्धित अन्य मतियार, योजनाकार, सहयोगी भए–नभएको’bout पनि अनुसन्धान जारी रहेको उनले बताए ।

गत २५ चैत राति करिब ७ बजे सभागृह चोकमा पसल बन्द गरी घरतर्फ जान भनी पैदल हिँडिरहेकी ४२ वर्षीय सिर्जना पौडेल केसीमाथि धारिलो हतियार खुँडा प्रहार भएको थियो ।

उक्त कर्तव्य ज्यान मुद्दामा कास्की प्रहरीले मुख्य अभियुक्तसहित अर्का एकजना मतियारलाई घटनाको २ दिनभित्रै पक्राउ गरी सार्वजनिक गरेको थियो । तीमध्ये मुख्य अभियुक्त मृतककै भान्जा नाताका पर्वतको कुश्मा–११, शिल्मी घर भई हाल पोखरा–६ मा डेरा गरी बस्दै आएका २७ वर्षीय सन्तोष भनिने शिशिर केसी हुन् । त्यस्तै, मतियाररुपमा पोखरा–१७, रातोपहिरा निवासी ३२ वर्षीय कुशल परियार पनि पक्राउ परेका छन् । केसीलाई रुपन्देही प्रहरीको सहयोगमा बुटवल–२, मनकामना टोलबाट र परियारलाई पोखराबाटै पक्राउ गरिएको थियो । सो घटना घट्नुमा पारिवारिक बेमेल तथा अंश सम्पत्ति मुख्य कारण रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको ग२५प ३०४४ नम्बरको स्कुटर तथा धारिलो हतियार खुँडा प्रहरीले बरामद गरिसकेको छ ।

पति गुमाएपछि ४ वर्षीया छोरीका साथ एकल जीवन बाँच्दै आएकी पोखरा ५, मालेपाटन घर भई हाल पोखराको सेदी बस्दै आएकी सिर्जनालाई स्कुटर चढी आएका २ जना युवाले एक्कासि धारिलो हतियार खुँडा प्रहार गरी भागेका थिए । टाउकोमा गम्भीर चोट लागेको उनलाई नजिकैको अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

माइजू मार्नका लागि एक महिनादेखि योजना बुनिरहेको बताउने शिशिरले उक्त दिन परियारलाई ‘एउटा काम छ, पैसा दिन्छु’ भनी स्कुटर चलाउन लगाएर बोरामा खुँडा बोकेर आएको खुलेको छ । अलि–अलि रात पर्दै गरको र पसल सटरहरु पनि बन्दै हुँदै गरेको मौका छोपी उनीहरुले हतियार प्रहार गरी भाग्न सफल थिए ।

मासु व्यवसाय गर्दै आएका खसी कृष्णे भनेर चिनिने कृष्ण क्षेत्रीले जेठी श्रीमतीको विष सेवन गरेर मृत्युपछि सिर्जनासँग ९ वर्षअघि दोस्रो विवाह गरेका थिए । खसी कृष्णको २ पनि वर्षअघि मृत्यु भएको थियो । उनका जेठी श्रीमतीतर्फ एक छोरा र एक छोरी छन् । छोरा भने लागु औषध मुद्दामा कास्की कारागारमा सजाय भोगिरहेको खुलेको कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले बताए । पतिको निधनपछि परिवारका सदस्यहरुबीच अंश सम्पत्तिमा किचलो उत्पन्न भएको थियो । सिर्जनाले कास्की जिल्ला अदालतमा बकसपत्रसम्बन्धी मुद्दा दायर गरेकामा अदालतले उनको पक्षमा फैसला गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 311 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा केन्द्रीय समिति बैठक सोमबार