बाँके । सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती गर्न थालेका छन् । अकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता अब हटेको छ । विगतमा बर्खे धान स्याहारेपछि सिँचाइको अभावमा खेत बाँझै राख्दै आएका किसानले अहिले धान स्याहारेपछि आलु वा तोरी खेती लगाउने र त्यस लगत्तै वसन्ते मकै खेती गरी वर्षमा तीन बाली खेती गर्न थालेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।
“सिँचाइको व्यवस्था भएसँगै तीन बाली खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ, आलु र वसन्ते मकैबाट किसानले नगद कमाई रहनुभएको छ”, उनले भने, “बर्खे धान स्याहारिसकेपछि गहुँ खेती गर्ने किसान दुई बालीमा सीमित हुनुहुन्छ भने गहुँ खेतीको सट्टा तोरी वा आलु खेती गर्ने किसानले मकै खेतीसमेत गर्न भ्याउनुभएको छ ।”
गहुँ खेतीको तुलनामा तोरी खेती वा आलु खेती छिटो तयार हुने भएकाले त्यस लगत्तै मकै खेती समेत गर्न सकिने भएकाले तीन बाली खेती गर्न कृषि ज्ञान केन्द्रले समेत प्रोत्साहन गर्दै आएको अधिकृत पाठकले जानकारी दिए । बाँके जिल्लामा सिञ्चित क्षेत्र लक्षित बाली सघनता वृद्धि कार्यक्रमअन्तर्गत तीन बाली खेती गर्ने किसानलाई वसन्ते मकै खेतीमा ज्ञान केन्द्रले बीउ तथा प्राविधिक सहयोग गरेर प्रोत्साहन गर्दै आएको उनको भनाइ छ ।
बाँकेमा बर्खे धान ३३ हजार ७८० हेक्टर, गहुँ खेती २० हजार ८९५ हेक्टर, वसन्ते मकै तीन हजार ५००, आलु तीन हजार २५०, तोरी छ हजार ५३०, हिउँदे मकै १३५ हेक्टर क्षेत्रमा खेती हुँदै आएको छ । सिक्टा सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि खेती गर्न किसानलाई सहज हुँदै आएको छ । सिक्टा सिँचाइको पानी नपुगेको क्षेत्रमा कृषि ज्ञान केन्द्रले सिँचाइका लागि ५० प्रतिशत अनुदानमा सहकारी र कृषक समूहलाई बोरिङ वितरण गरेको पाठकले बताए ।
किसानलाई सिँचाइको अभाव हुन नदिन खेती गर्ने समयमा सिक्टाले नहरमा पानी छोड्दै आएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए ।
उनका अनुसार राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएकामा आव २०८२/८३ को चैत मसान्तसम्म आइपुग्दा २४ हजार हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पुर्याएर किसानको अनुहारमा खुसी छर्ने प्रयास गरेको छ ।
सिँचाइको नियमित सुविधा हुन सके बाँकेमा किसानले तीन बाली खेती गरेर राम्रो उत्पादन लिन सक्ने र त्यसले आर्थिक रूपमा समृद्धिको लागि सहयोग पुग्ने अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताए।
सम्बन्धित समाचार
सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो
तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
सवारी दुर्घटनामा घाइते प्रहरी निरीक्षक लामाको मृत्यु
चौथो गोरखा–जितगढी पदयात्रा आइपुग्यो पाल्पा
गुल्मीमा साढे तीन वर्षमा तीन सयबढी बेपत्ता






