पर्सा महासंघ पनि आन्दोलित, सरकारी निर्णय फिर्ताको माग

वीरगञ्ज । संविधान, कानुन तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको भन्दै नेपाल सरकारको पछिल्लो निर्णयको विरोधमा पर्साका पत्रकार आन्दोलित भएका छन्।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको अगुवाइमा बिहीबार पत्रकारहरू गोलबन्द भई जिल्ला प्रशासन कार्यालय पुगेका थिए। उनीहरूले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सरकारी निर्णय तत्काल फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

सरकारले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेको भन्दै त्यसको विरोध गरिएको हो। महासंघ पर्सा शाखाका पूर्व उपाध्यक्ष युवराज खड्काका अनुसार केन्द्रको निर्देशनअनुसार देशभर दबाब सिर्जना गर्ने कार्यक्रम अन्तर्गत पर्सामा पनि आन्दोलन सुरु गरिएको हो।

महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले उक्त निर्णय संविधानको मर्मविपरीत भएको बताए । उनले निर्णय पूर्वाग्रही रहेको दाबी गर्दै त्यसलाई कार्यान्वयन नगर्न स्थानीय तथा प्रदेश सरकारलाई समेत सचेत गराइएको जानकारी दिए। महासंघले सरकारको निर्णय फिर्ता नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। केन्द्रले आवश्यकता परे मुद्दालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने संकेत समेत गरेको छ।

पत्रकारहरूले समाचार सामग्रीको अनुगमनका लागि प्रेस काउन्सिल नेपालजस्ता निकाय रहेको अवस्थामा सरकार स्वयंले सञ्चार माध्यमलाई नियन्त्रण गर्न खोज्नु उचित नभएको बताएका छन्। साथै, प्रेस काउन्सिललाई थप स्वायत्त बनाउँदै विज्ञापन प्रणाली पारदर्शी बनाउनुपर्ने माग समेत अघि सारिएको छ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराका अनुसार महासंघले विभिन्न चरणका संघर्षका कार्यक्रम अघि बढाइसकेको छ। केन्द्रीय लेखा समिति सदस्य केसी लामिछानेले पनि विज्ञापन वितरण प्रणाली पारदर्शी बनाउन प्रेस काउन्सिलमार्फत प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

दुर्गम संखुवासभाको सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण