काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पहिलो खेलमा यूएईलाई पराजित गरेको छ । नेपाल बलिङमा चम्किँदा यूएई ३७ रनले पराजित भएको हो ।
जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटिएको थियो । यूएईका लागि हर्पितसिंह भाटिया सर्वाधिक ३९ रन बनाएका थिए । यस्तै, आर्यंश शर्मा १८, अदीब उसमानी १, मोहम्मद शाहदाद २, अक्षदीप नाथ ३०, कप्तान मोहम्मद वासिम ३४, खुजाइम तनविर १, अजय कुमार २ र निलांश केश्वानी १८ रनमा आउट भए । जुनेक सिद्दिकी ७ रनमा अविजित रहे ।
बलिङमा नेपालका करण केसीले सर्वाधिक ४, सोमपाल कामी र सन्दीप लामिछानेले २–२ तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४८ ओभर २ बलमा २०० रनमा समेटिएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक रन जोडेका थिए । उनले ९० बलमा ७५ रन बनाएका थिए ।
यस्तै, कुशल भुर्तेल २४, आसिफ शेख ७, भीम सार्की १०, कप्तान रोहित पौडेल २, बसिर अहमद २०, आरिफ शेख १५, सोमपाल कामी १५ र करण केसी २२ रनमा आउट भए । ललित राजवंशी शून्यमा अविजित रहे ।
नेपालले लिग टुमा ४ खेलपछि पहिलो जित निकालेको हो । यो १० महिनापछिको पहिलो जित समेत हो भने घरेलु मैदानमा दोस्रो जित हो ।






