तेस्रो इलाम गोल्ड कपको उपाधि मच्छिन्द्रलाई

इलाम । तेस्रो इलाम गोल्ड कपको उपाधि मच्छिन्द्र फुटबल क्लबले हात पारेको छ । न्युरोड टिम (एनआरटी) माथि २–० को जित निकाल्दै उपाधि उचालेको हो । मध्यान्तरपछिको सुरुवाती समयमा नै मच्छिन्द्रले खेल आफ्नो पक्षमा पार्न सफल भयो । ४७ मिनेटमा सौरव लिम्बुले उत्कृष्ट गोल गर्दे टिमलाई अग्रता दिलाए भने ५० मिनेटमा मिलन राईले गोल गर्दै बलियो बनाए ।

खेलको सुरुवातदेखि नै एनआरटीले केही अवसर सिर्जना गरेको थियो । पाँचौँ मिनेटमा शिशिर लेखीको प्रहार फ्रेममा पर्न सकेन त्यस लगत्तै विज्ञान खड्काको प्रयास पनि आकासिएको थियो । १९औँ मिनेटमा आदित्य शाक्यको क्रसमा शिशिरले गरेको प्रहार मच्छिन्द्रका गोलरक्षक प्रदीप बुढाथोकीले सहजै नियन्त्रणमा लिए ।

२२औँ मिनेटमा विवेक गुरुङको फ्रिकिक सीधै गोलरक्षकको हातमा पुगेको थियो । त्यसपछि पुन फ्रिकिकमा आशिष् गुरुङले प्रहार गरे पनि रिबाउन्डलाई सदुपयोग गर्न नसक्दा एनआरटी अग्रता लिन चुकेको थियो । ३२औँ मिनेटमा दिवाकर चौधरीको कर्नरमा रेवतीराम भण्डारीले प्रहार गरे पनि बल पोस्टबाहिर गयो ।

मच्छिन्द्रले पनि पहिलो हाफमा केही अवसर गुमाएको थियो । ११औँ मिनेटमा डिबक्सभित्रको घम्साघम्सीमा मिलनले फिनिसिङ गर्न सकेनन् भने २५औँ मिनेटमा उनको प्रहार आकासियो । ३७औँ मिनेटमा सौरव लिम्बुले मध्य भागबाट अघि बढ्दै प्रहार गरे पनि फ्रेममा राख्न सकेनन् । ४७औँ मिनेटमा सौरव लिम्बुले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि अर्थात् ५०औँ मिनेटमा मिलन राईले गोल थप्दै टोलीको अग्रता दोब्बर बनाए ।

६५औँ मिनेटमा मिलनले अर्को राम्रो अवसर गुमाए भने खेलभरि मच्छिन्द्रले आक्रमणलाई निरन्तरता दिएको थियो । एनआरटीले पनि केही प्रयास गरे पनि मच्छिन्द्रका गोलरक्षक प्रदीप बुढाथोकी बाधक बने । विजेता टिम मच्छिन्द्रले १० लाख र उपविजेता न्युरोडले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका मच्छिन्द्रका प्रदीप बुढाथोकी म्यान अफ द म्याच घोषित भए । उत्कृष्ट गोलरक्षकको उपाधि मच्छिन्द्रकै प्रदीप भण्डारीले जित्दा उत्कृष्ट डिफेन्डर एनआरटीका आशिष् गुरुङ घोषित भए । त्यस्तै, उत्कृष्ट मिडफिल्डर युवराज ढकाल र उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका प्रवेश कटुवाल बने ।

प्रतियोगितामा उदीयमान आयोजकतर्फ रेड हर्षका विवेक सुनार सम्मानित भए । सर्वाधिक गोलकर्ता मच्छिन्द्रका मिलन चाम्लिङ बने, जसले तीन गोल गरेका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द टुर्नामेन्ट) मच्छिन्द्रकै सनिश श्रेष्ठ घोषित भए ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली