उद्घाटन खेलमा आयोजक विजयी

मकवानपुर । उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले पृतनापति ट्रफी–२०८३ अन्तर्गतका विभिन्न खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएका छन् । उद्घाटनको पहिलो खेल फुटबलमा श्री गोरखबहादुर गण र श्री भैरव गणबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा श्री गोरखबहादुर गणले २–१ गोल अन्तरले श्री भैरव गणलाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

विक्रम संवत् २०६५ सालदेखि प्रधान सेनापति ट्रफी सञ्चालन हुँदै आएको सन्दर्भमा यस वर्ष पनि पृतनापति ट्रफी–२०८३ आयोजना गरिएको हो । श्री नं। ७ बाहिनी अड्डाअन्तर्गत श्री गोरखबहादुर गणमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन मध्य पृतना हेडक्वार्टरका पृतनापति उपरथी विष्णु कुमार खड्काले गर्नुभयो । उहाँले रेफ्रीलाई बल हस्तान्तरण गर्दै फुटबल खेलको औपचारिक शुभारम्भ गरेका थिए ।

त्यस्तै, मंगलबार दिउँसो ४ बजे श्री शेर गण र श्री नयाँ सबुज गणबीच खेल हुने गणपति प्रमुख सेनानी रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको चापलाई मध्यनजर गर्दै धादिङ, नुवाकोट र चितवन जिल्लामा समेत खेलहरू सञ्चालन गरिँदै आएको उनले बताए । उद्घाटनका दिन मार्चपाससँगै शेर गण, नयाँ सबुज गण र भैरव गणलगायतले झाँकी प्रदर्शन गरेका थिए ।

यस वर्षको पृतनापति ट्रफी–२०८३ वैशाख १४ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने तय भएको छ । प्रतियोगितामा सामूहिक र व्यक्तिगत दुवै विधाका खेलहरू समावेश गरिएका छन् । सामूहिकतर्फ भलिबल, फुटबल र बास्केटबल तथा व्यक्तिगततर्फ एथलेटिक्स, जुडो, तेक्वान्दो, बक्सिङ र स्विमिङ खेलहरू समावेश छन् ।

प्रतियोगितालाई विभिन्न युनिटमा विकेन्द्रीकृत गरी सञ्चालन गरिनेछ । जसअनुसार मध्य पृतना हेडक्वार्टरमा स्विमिङ र बक्सिङ, श्री नं। ६ बाहिनी अड्डा (नुवाकोट) मा बास्केटबल, श्री भैरवनाथ गण (धादिङ) मा भलिबल, श्री नं. ७ बाहिनी अड्डा (मकवानपुर) अन्तर्गत श्री गोरखबहादुर गणमा फुटबल र एथलेटिक्स तथा श्री नयाँ सबुज गण ९चितवन० मा तेक्वान्दो र जुडो प्रतियोगिता सञ्चालन हुनेछन् ।

विभिन्न स्थानमा खेलहरू सञ्चालन गर्दा सम्बन्धित क्षेत्रमा खेल पूर्वाधार तथा भौतिक संरचनाको विकास हुनुका साथै प्रदेश, जिल्ला र स्थानीय तहका खेलकुद निकायसँग समन्वय र सहकार्य बढ्ने विश्वास लिइएको महासेनानी सुशीलकुमार थापाले बताए । यसले नागरिक र सैनिकबीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै आर्थिक रूपमा पनि मितव्ययी हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिता समापनपछि प्रतिभाशाली खेलाडीलाई थप प्रशिक्षण दिई आगामी प्रधान सेनापति ट्रफीलाई अझ उत्कृष्ट बनाउने अपेक्षा गरिएको थापाले बताउनुभयो । देशलाई खेलकुद क्षेत्रमा सक्षम खेलाडी उत्पादन गर्ने मुख्य लक्ष्यका साथ मध्य पृतना हेडक्वार्टरअन्तर्गतका विभिन्न बाहिनी र गणबाट छनोट गरिएका उत्कृष्ट खेलाडीहरू प्रतियोगितामा सहभागी गराइनेछ ।

वैशाख २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता खेलाडीलाई प्रधान सेनापति ट्रफीका लागि क्लोज क्याम्पमा राखिने जनाइएको छ । प्रतियोगितामा ६ र ७ नम्बर बाहिनीका साथै शेर गण, भैरवबहादुर गण र नयाँ सबुज गणका खेलाडी सहभागी छन् । भलिबल, फुटबल, बास्केटबल र एथलेटिक्ससहित आठ विधामा प्रतिस्पर्धा हुनेछ ।

विभिन्न विधाका खेलहरू सम्बन्धित गण तथा बाहिनीमा सञ्चालन गरिनेछन् भने समापनका दिन सुपारेतार ब्यारेकको खेल मैदानमा फुटबलको फाइनल खेल हुने जनाइएको छ । ४७१ पदक रहेको प्रतियोगितामा १२५ महिला खेलाडीसहित करिब ५५० खेलाडी सहभागी हुनेछन् ।

मध्य पृतना हेटौंडाले यसअघि प्रधान सेनापति ट्रफी प्रतियोगितामा पाँच पटक उपाधि जित्न सफल भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

सात गुँडका १९५ अण्डा सङ्कलन