काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व. रामहरीकृष्ण मानन्धरको स्मृतिमा तेस्रो राष्ट्रिय रापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस च्याम्पियनसिप वैशाख १६ देखि १८ गतेसम्म आयोजना हुने भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा क्षेत्रपाटी क्लबका अध्यक्ष गोपाल मालीले क्लबको वार्षिक उत्सवको अवसरमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता खेलाडीलाई कुल रु. ३ लाख नगद पुरस्कार प्रदान गरिने जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत रापिडतर्फ कुल रु. २ लाख पुरस्कार रहेको छ । पुरुष खुलातर्फ प्रथम हुनेले रु. ३५ हजार, द्वितीयले रु. २५ हजार र तृतीयले रु. १५ हजार प्राप्त गर्नेछन् । महिलातर्फ प्रथमलाई रु. १० हजार, द्वितीयलाई रु. ७ हजार र तृतीयलाई रु. ५ हजार प्रदान गरिनेछ । यस विधामा विभिन्न श्रेणीमा गरी २७ जना खेलाडीलाई पुरस्कृत गरिने जनाइएको छ ।
त्यसैगरी, ब्लिट्जतर्फ कुल रु. १ लाख पुरस्कार रहेको छ । यसअन्तर्गत प्रथमलाई रु. १५ हजार, द्वितीयलाई रु. १० हजार र तृतीयलाई रु. ८ हजार प्रदान गरिनेछ भने महिलातर्फ क्रमशः रु. ५ हजार, रु. ३ हजार र रु. २ हजार पुरस्कार दिइनेछ । विभिन्न विधामा गरी १७ जना खेलाडी पुरस्कृत हुनेछन् ।
प्रतियोगितामा शीर्ष १० खेलाडीका साथै ५५ वर्षभन्दा माथिका उत्कृष्ट दुई भेट्रान खेलाडी, १२, १४ र १६ वर्षमुनिका जुनियर खेलाडी (कुल ९ जना), उत्कृष्ट तीन नयाँ खेलाडी, १६ सयभन्दा कम रेटिङ भएका तीन तथा १८ सयभन्दा कम रेटिङ भएका तीन खेलाडीलाई पनि नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले प्रतियोगितामा देशभरबाट करिब २०० शीर्ष खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो । उहाँका अनुसार महासंघले प्रत्येक वर्ष ओपन नेशनल, वुमन नेशनल, नेशनल एमेच्योर, नेशनल भेट्रान, नेशनल टिम, स्कूल टिम, नेशनल युथ तथा नेशनल क्याडेट लगायतका प्रतियोगिता नियमित रूपमा आयोजना गर्दै आएको छ ।
प्रतियोगिताका प्रमुख निर्णायक फिडे आर्बिटर सोराज ताम्राकारका अनुसार स्वीस लिग प्रणालीअन्तर्गत रापिडतर्फ ९ चरण र ब्लिट्जतर्फ ११ चरणका खेल सञ्चालन गरिनेछन् । महासंघले दुवै विधाका पाँच खेल डिजिटल बोर्डमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।
विश्व बुद्धिचाल महासंघ र एशियन चेस फेडेरेशनको तत्त्वावधान, काठमाडौं बुद्धिचाल संघको सहकार्य तथा क्षेत्रपाटी क्लबको स्थानीय व्यवस्थापनमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
पत्रकार सम्मेलनमा महासंघका प्रवक्ता राजु ताम्राकार, सदस्य रमिला पोखरेल, काठमाडौं बुद्धिचाल संघका अध्यक्ष केशव श्रेष्ठ तथा क्षेत्रपाटी क्लबका उपाध्यक्ष महफुज उद्दिनलगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
प्रधानमन्त्री कपः आजको खेलमा गण्डकी प्रदेश विजयी
अन्तरपालिका पुरुष भलिवल प्रतियोगिताको उपाधि पाँचखपनले जित्यो
टाइब्रेकरमा चुक्यो एन पेनाङ, मच्छिन्द्र सेमिफाइनलमा
‘महिला फुटबल खेलाडीले चन्द्रनिगाहपुरको पहिचान बनाए’
डिफेन्डिङ च्याम्पियन एनआरटीको संघर्षपूर्ण जित
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
डिफेन्डिङ च्याम्पियन एनआरटी फाइनलमा
भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य






