‘चन्द्रगढी महिला गोल्डकप’ उपाधि एपीएफलाई


इलाम । ‘चन्द्रगढी महिला गोल्डकप’ उपाधि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले हात पारेको छ । त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै सशस्त्रले उपाधि हात पारेको हो ।

झापा भद्रपुरमा सोमबार सम्पन्न खेलको ७२औं मिनेटमा कप्तान अनिता बस्नेतले डिबक्समा मिलाइदिएको पास अनमार्क रहेकी घिसिङले हेडमार्फत सुन्दर गोल गरिन् । सो गोल नै उपाधिका लागि निर्णायक बन्यो ।

खेलको अधिकांश समय बल ‘पोजिसन’ राखेको एपीएफले निर्धारित ९० मिनेटमा गोल गर्ने थुप्रै अवसर बनाए पनि थप ‘स्कोर’ भने निकाल्न सकेन । एपीएफका डिफेन्ससामु आर्मीका स्ट्राइकर चल्न नसक्दा उपविजेतामा सीमित छ ।

उपाधिसँगै एपीएफले नगद ११ लाख, मेडल, ट्रफी तथा प्रमाणपत्र पाएको छ । आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । सशस्त्रलाई उपाधि दिलाउन एकमात्र गोल रश्मिकुमारी घिसिङले गरेकी थिइन् । खेलको ‘प्लेयर अफ द म्याच’ विजेता टिम एपीएफकी सरु लिम्बु भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिम एपीएफकी रेनुका नगरकोटी भइन् । उनले नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार पाएकी छन् । ‘उत्कृष्ट गोलकिपर’ एपीएफकी अञ्जना राना मगर, डिफेन्डर गीता राना एपीएफ, मिडफिल्डर दिपा शाही आर्मी, उच्च गोलकर्ता रश्मिकुमारी घिसिङ एपीएफ, ‘राइजिङ प्लेयर’ शवनम राई आयोजक चन्द्रगढी युथ क्लब भए । उनीहरूले जनही नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।

गत ५ वैशाखदेखि सुरु प्रतियोगितामा त्रिभुवन आर्मी फुबटल क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस फुटबल क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको रानी लक्ष्मीबाई स्पोर्टस् एकेडेमी, सशस्त्र प्रहरीको एपीएफ क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टस् क्लबको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

२४ घण्टाभित्र गोल्छालाई उपस्थित गराउन सर्वोच्चको आदेश