सिन्धुपाल्चोक । यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षको भए । उनको माछा मार्ने पुर्ख्यौली पेसा अहिले सङ्कटमा परेको छ । पछिल्लो समय अव्यवस्थित क्रसर उद्योग, विषादी, विस्फोटक पदार्थको प्रयोग बढेसँगै नदीमा पर्याप्त मात्रामा माछा पाइनै छाडेपछि उनको पेसा सङ्कटमा परेको हो ।
भिमटारकै पदमबहादुर माझीले आठ वर्षको उमेरदेखि माछा मार्दै आएका हुन् । त्यति बेला जता जाल हान्यो उतै माछा पर्ने गरेको अझै बिर्सिएको छैन । तर हिजोआज दिनभर जाल घिसार्दा पनि आधा पाउ माछा नभेटिने उनको अनुभव छ ।
इन्द्रावती नदीमा माछा मारेरै जीविका चलाइरहेका नवराज माझीले माछा पाइन छाडेपनि नदी धाउन छाडेको छैन । तर विस्तारै नदी धाउने काम उपलब्धीमूलक हुन छाडेको छ ।
दोलालघाटदेखि मेलम्चीसम्म २४ भन्दा बढी क्रसर उद्योग सञ्चालनमा छन् । क्रसरले दैनिक गिट्टी, बालुवा उत्खनन गर्दा खोलाको धार नै परिवर्तन भइरहेको छ । पहिले खोलामा लेउ, झ्याउ हुन्थ्यो, माछाले त्यही खाएर बाँच्थ्यो । अब क्रसरले ती ठाउँ नै मासिदिएकाले माछा पाउन छाडेको अनुभव माझी समुदायलाई छ । वातावरण विभागले विगतमा गरेको एक अध्ययनले पनि मध्यम तथा साना खोलामा माछाको प्रजनन दरमा ३० प्रतिशतले कमी आएको देखाएको छ ।
माछा मारेर जीविका चलाउने भिमटारका चार परिवार गाउँ छाडेर गइसकेका छन् । चौबीसै घण्टा चल्ने क्रसरको आवाजले माझी समुदायको जिन्दगी नै इन्द्रावतीको पानीझैँ धमिलो बनाइरहेको छ । पहिले उनीहरूले बनाएका डुङ्गा, खोगा, ढडिया अहिले थन्किएको स्थानीय साइली माझी बताउँछन् ।
यसले उनीहरुको जीविका मात्र होइन परम्परागत पेसा, नदी संस्कृति र माझी समुदायको पुर्ख्यौली पेसा नै सङ्कटमा परेको हो । सङ्घीय र स्थानीय सरकारले विकास र आन्तरिक आम्दानीका नाममा वातावरणीय सन्तुलनलाई बिर्सिएको माझी समुदायको गुनासो छ ।
सम्बन्धित समाचार
विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा
मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु
पर्यटकको रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
विद्युतीय सवारीसाधन रूपान्तरणमा सरकारी सहयोगमा जोड
बस्तीमा डोजर चले प्रतिकार गर्ने सुकुम्बासी संघको चेतावनी
पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह
पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु






