काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गरेको जनाएको छ । उक्त प्रणालीले उपत्यकासहित बागमती प्रदेश र मधेश प्रदेशका अधिकांश स्थानमा वर्षा हुन थालेको छ ।
विभागका अनुसार हाल कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा हुरीबतास र चट्याङसहित मध्यमसम्मको पानी परिरहेको छ । विभागका मौसमविद् सञ्जिव अधिकारीले पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेको बताए ।
विभागले हाल देशभर सक्रिय मौसम प्रणालीका कारण हुरीबतास, मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ । मौसमविद् अधिकारीका अनुसार सुदूरपश्चिमबाट सुरु भएको वर्षा प्रणाली लुम्बिनी हुँदै बागमती र मधेस प्रदेशसम्म फैलिसकेको छ । हुरीबतासको गति करिब ४० किलोमिटर प्रतिघण्टासम्म पुग्ने र केही स्थानमा करिब दुई घण्टासम्म यसको प्रभाव रहने छ ।
आज विशेष गरी भारी वर्षाको सम्भावना रहेको र साँझपछि वर्षा केही कम हुने अनुमान गरिएको छ । यद्यपि, साताभर नै वर्षा गराउने प्रणाली सक्रिय रहने विभागले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ । साथै, नेपालको दक्षिणी भू–भाग हुँदै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाले मौसममा प्रभाव पारिरहेको विभागले उल्लेख गरेको छ ।
विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ भने कोशी र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र र हिमाली भू–भागमा सामान्य बदली रहेको छ । देशका पहाडी र तराई क्षेत्रका केही स्थानमा आंशिक बदली देखिएको छ । सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
विभागले हुरीबतास, चट्याङ र सम्भावित भारी वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
सम्बन्धित समाचार
असिनाले ७४ सवारीसाधनमा क्षति
सम्झौदा म्याद सकिएको एक वर्षमा पनि बनेन पुल
तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
नेपाल वितरक महासंघको १४औं साधारण सभा धनगढीमा हुने
चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु
‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
पर्यटन प्रवद्र्धनका लागि धनगढीको टोली अपि हिमाल बेस क्याम्पतर्फ
अवरुद्ध बनेको तीन दिनपछि सञ्चालनमा आयो बीपी राजमार्ग






