कानुनभन्दा माथि छन् महानगर प्रहरी

काठमाडौं । काठमाडौं महानगर प्रहरीको गैरकानुनी कार्यका कारण दैनिक मजदुरी गरेर गुजारा चलाउने एक नेपालीले आवेगमा आत्मदाहको प्रयास गरेका छन् ।

सुरक्षाका नाममा गैरकानुनी कारबाहीपछि आत्मदाह प्रयास

राइड शेयरिङ गर्दै जीविका चलाइरहेका २५ वर्षीय युवाले बिहीबार महानगरपालिकाका नगर प्रहरीको गैरकानुनी ज्यादतीका कारण त्रिपुरेश्वरको राहदानी विभागअघि आत्मदाह प्रयास गरेका हुन् ।

नगर प्रहरीको ज्यादतीका कारण शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका गणेश नेपालीको शरीरका ६० प्रतिशत भाग जलेको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् । उनको काठमाडौंको वीर अस्पतालको सघन कक्षमा उपचार जारी छ ।

मुगुको सोरु गाउँपालिका घर भएका नेपालीले पठाओ बुक गरेका यात्रुलाई रिसिभ गर्न आइपुगेको केही मिनेट कुर्दैमा महानगर प्रहरीले ह्वील लक लगाइदिएपछि आक्रोशित भएर आफ्नै बाइकको पेट्रोल झिकी आत्मदाह प्रयास गरेका थिए ।

सडक र सडक पेटीमा पार्किङ गरेर राखिएका सवारीलाई ह्वील लक गरिरहेको महानगर प्रहरीलाई भने कुनै पनि कानुनले ह्वील लक गर्ने अनुमति दिँदैन ।

महानगर प्रहरीलाई नियमन गर्न ‘काठमाडौं महानगर नगर प्रहरी सेवालाई व्यवस्थापन गर्न बनेको महानगर प्रहरी ऐन २०८०’ र नगर प्रहरीसम्बन्धी विनियमावली छ । तर ती दुवै कानुनले नगर प्रहरीलाई सवारी साधनमा ह्वील लक लगाएर कारबाही गर्ने अधिकार दिएको छैन ।

नगर प्रहरीले भने कानुनअनुसार कर्तव्य पालना गर्दा बिहीबार दुःखद् दुर्घटना भएको बताएको छ । काठमाडौं महानगर प्रहरी बलका नगर प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद जोशीले कानुनअनुसार नै ह्वील लक लगाइएको दाबी गरे ।

उनले महानगरको आर्थिक ऐनअनुसार प्रहरीले ह्वील लक गरेको बताए । तर महानगरको यो ऐनमा नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन र पार्किङ व्यवस्थापनका क्रममा सवारीसाधनमा ह्वील लक लगाउने अधिकार कतै दिइएको छैन ।

महानगर प्रहरी ऐन र विनियमावलीमा उल्लेख भएको नगर प्रहरीको काम कर्तव्य र अधिकारमा नगर प्रहरीलाई पार्किङ व्यवस्थापनको अधिकार दिइए पनि सवारी साधनमा ह्वील लक लगाएर कारबाही गर्नेसम्मको अधिकार दिइएको छैन ।

महानगर प्रहरीका एसपी जोशीले महानगरको आर्थिक ऐनको अनुसूची १६ अनुसार ह्वील लक गरिएको दाबी राजधानीसँग गरे । तर सो अनुसूचीमा अनधिकृत क्षेत्रमा पार्किङ गर्ने मोटरसाइकललाई एक हजार रुपैयाँ जरिमाना गर्ने व्यवस्था मात्र छ । उनले दाबी गरेअनुसार ह्वील लक गर्ने अधिकार सो अनुसूचीमा समेत छैन ।

निम्न वर्गलाई आत्महत्या रोज्न बाध्य पारिँदै छ
बागमती किनारको सुकुमवासी बस्तीमा डोजर लगाइएपछि विस्थापित भएको परिवारकी एक ३५ वर्षे महिलाले बिहीबार धोवीखोलाको रातोपुल क्षेत्रबाट खोलामा हाम फालेर आत्महत्या गरेकी छन् ।

सप्तरी घर भएकी ४५ वर्षीया लालमाया चौधरीले मकै पोल्ने ठेला नगर प्रहरीले खोसेपछि एक सातादेखि झोक्राउने र एकोहोरो हुने भएकी छन् । उनलाई अब काठमाडौं बस्नै मन नलागेको र घर जाने ठाउँ नभएको बताइरहेकी छन् ।

आत्मदाह प्रयास गरेका नेपाली र आत्महत्या गरेकी महिला तथा नगर प्रहरीको ज्यादतीले निराश भएकी चौधरी जस्ता निम्न वर्गकाहरु राज्यको ज्यादती र अगाडिको भविष्य नदेखेर आत्महत्याको बाटो रोजेको मनोचिकित्सकहरू बताउँछन् । सरकारले पछिल्ला दिनमा चालेका कदमप्रति चरम निराशा प्रकट गर्ने श्रमिक वर्गमा पछिल्लो समय चरम निराशा र मानसिक बिमार रहेको मनोचिकित्सकहरू बताउँछन् ।

सरकारले माथिल्लो वर्गका व्यवसायीलाई धमाधम अनेक प्रकारका छुट घोषणा गरिरहेको तर मध्यम वर्ग तथा श्रमिकमाथि कुनै पनि कोणबाट छुट, सहुलियत वा सहजपना नभएको भन्दै आक्रोश पोख्ने गरेका छन् ।

आत्मदाह प्रयास गरेका मुगु स्थायी घर भएका गणेश नेपाली मात्र नभई नगर प्रहरीले ठेला खोसेका, तरकारी तथा फलफूल र साना कपडा पसलका सामान फ्ँयाँकेर पीडित भएकाहरूमा मानसिक समस्या बढेको पाइएको हो । गरिखाने वर्गले पछिल्लो राजनीतिक परिवर्तनलाई आफ्नो युगको कालजयी परिवर्तन मानेको तर सोचेजस्तो परिवर्तन नभएपछि निराशा व्यक्त गर्ने गरेको समाजशास्त्रीहरु बताउँछन् ।

काठमाडौंका नगर प्रहरी ‘कानुनमाथि’
काठमाडौं महानगरपालिकाका नगर प्रहरीले आफूहरू कानुनमाथिको जस्तो व्यवहार गर्ने गरेको चाबहिलमा मकै पोल्ने स्थानीय देवी खड्काले बताइन् । आफ्नो ८ हजार पर्ने ठेला खोसेर लगेको नगर प्रहरीले फिर्ता नदिएको बताउने खड्का अहिले बुढानीलकण्ठ नगरपालिकातिर सरेकी छिन् भने नगर प्रहरी चढ्ने स्वरूप र आकृतिका सवारी साधन देख्नासाथ झस्किन्छिन् ।

खड्काले भोगे र सम्झिएजस्तै काठमाडौं महानगरपालिकाका नगर प्रहरी कानुनमाथि भएजस्तै अभ्यास गरिरहेका छन् । ट्राफिक प्रहरीको अधिकार क्षेत्रमा पर्ने सवारी साधनलाई कारबाही गर्ने कानुनी अधिकारसमेत महानगर प्रहरीले अभ्यास गरिरहेका छन् भने भीड नियन्त्रणलगायतका नेपाल प्रहरीले गर्ने काममा पनि आफैं अग्रसर छन् । सशस्त्र प्रहरी र नेपाली सेनाले गर्ने बाहेक सबै सुरक्षा संयन्त्रका अधिकारमा गएको नगर प्रहरीका काम आलोचनाको घेरामा परेको छ ।

बिहीबार आत्मदाह प्रयास गर्ने युवाले ‘नयाँ सरकार भनेको यसकै लागि हो’, ‘जहिले पनि हामी गरिखानेलाई नै ज्यादती हुने’ जस्ता शब्दमार्फत वर्तमान सरकारमाथि आक्रोश पोखेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

epaper

ताजा समाचार

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा