काठमाडौं । दुई वर्ष अघि दसैँमा अभिनेता एवम् निर्देशक बिराज भट्टको चलचित्र ‘१२ गाउँ’ र दीपकराज गिरीको चलचित्र ‘छक्का पन्जा ५’बिच भिडन्त भएको थियो । त्यति बेला दुबै चलचित्र व्यवसायिक हिसावले सफल भएका थिए । यस पटक दसैँको फूलपातीमा पनि यी दुवै चलचित्रकर्मीबिच चलचित्र प्रदर्शनीमा भिडन्त हुने भएको छ । बिराज भट्टले बुधवारबाट नयाँ चलचित्र ‘१२ गाउँ २’ को निर्माण सुरु गरेका छन् । यो चलचित्रको बुधवार ललितपुरको च्यासलमा मुहूर्तसहित छायांकन सुरु गरिएको छ ।
बुधवार नै दीपकराज गिरीले पनि आफ्नो नयाँ चलचित्र ‘छ माया छपक्कै २’को काठमाडौँको गागलफेदीमा मुहूर्तसहित छायांकन सुरु गरेका छन् । यसरी एकै दिन रिलिज हुने यी दुई चलचित्रको छायांकन पनि एकै दिन सुरु भएको छ । यसलाई रमाइलो संयोगको रूपमा उनीहरूले हेरेका छन् ।
चलचित्र ‘१२ गाउँ’ को सफलतापछि निर्माण टिमले यति बेला सिक्वेलको रूपमा ‘१२ गाउँ’ निर्माण थालेको हो । यो चलचित्रलाई अभिनेता बिराज भट्टले निर्देशन गरिरहेको छन् । अघिल्लो चलचित्र ‘१२ गाउँ’को निर्देशन पनि बिराज भट्टले नै गरेका थिए । काठमाडौँबाट सुरु भएको यो चलचित्रको काठमाडौँपछि बाँकी छायांकन सिन्धुपाल्चोक र चितवन गरिने यसका निर्देशक बिराजले राजधानीलाई जानकारी गराए । यो चलचित्रलाई आफूले आगामी दसैँको अवसर पारेर फूलपातीमा रिलिज गर्ने पनि उनले जनाएका छन् ।
‘१२ गाउँ २’मा बिराज भट्टसँगै समीर भट्ट, अनुप विक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुसी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारहरूको अभिनय रहने छ ।
यो चलचित्रको डीओपीमा महेश पौडेल, कथा तथा पटकथा लेखकमा सन्तोष सरकार, नृत्य निर्देशनमा सियोन श्रेष्ठ, द्वन्द्व निर्देशकमा ईस्टनर सिल्वा र शंकर महर्जन छन् । यसमा युग भुसाल, देवेन्द्र बराल र डीपी खनालको संगीत रहने छ । चलचित्रको व्यवस्थापनमा भोला सुबेदी (आरजे प्रणव) र रमेश खड्का छन् । यो चलचित्रलाई काठमाडौँ उपत्यकामा काफिया फिल्म्स प्रालि र मोफसलमा कुबेर फिल्म्सले वितरण गर्दै छ ।
यता ७ वर्ष अघि निर्माण भएको चलचित्र ‘छ माया छपक्कै’को सिक्वेलको रूपमा अभिनेता दीपकराज गिरीले चलचित्र ‘छ माया छपक्कै २’ सुरु गरेका हुन् । उनका अनुसार रोहित अधिकारी फिल्म्स र आमा सरस्वती मूभिजको ब्यानरमा फिल्मको संयुक्त ब्यानरमा यो चलचित्र बन्न लागेको हो । आगामी दसैँको फूलपातीमा यो चलचित्र रिलिज गरिने दीपकले बताएका छन् ।
यो चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौलासहितको मुख्य भूमिका रहने छ । यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन् । निर्देशक लामाका अनुसार ‘छ माया छपक्कै २’ सामाजिक–राजनीतिक कथावस्तुमा आधारित रहेर निर्माण हुँदै छ । यो चलचित्रलाई दुई चरणमा छायांकन गर्ने निर्देशक लामाले जनाएका छन् । उनका अनुसार पहिलो चरणमा ३० दिनसम्म यसको छायांकन बुधवारबाट नियमित रूपमा गरिने छ । बाँककी दोस्रो चरणको छायांकन आगामी साउन वा भदौमा गर्ने पनि उनले बताएका छन् । यो चलचित्रका अर्का निर्माता रोहित अधिकारी हुन् ।
सम्बन्धित समाचार
शुक्रबारदेखि तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै
कर्णाली चलचित्र महोत्सव सम्पन्न
‘कलाकार सदस्यता’ नवीकरण विवाद झनै चर्कियो
एक मुठी बादलमा नारी स्वतन्त्रताको आवाज
चीनमा नेपाली चलचित्रको प्रदर्शनमा सरकारी चासो
सञ्जय दत्तले महिला आयोगसँग मागे माफी
चलचित्र काजी’को ‘वारि बर पारि पीपलु…’ रिलिज
फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न अस्विकार






