काठमाडौं । उच्च अदालत पाटनले गत १५ वैशाखमा नेपाली चलचित्र ‘लालीबजार’को प्रदर्शनीमा लगाएको रोकलाई बुधवार फुकुवा गरेको छ । यो सँगै यस अघि रोक्का भएको चलचित्र ‘लालीबजार’लाई अब चलचित्र घरमा व्यावसायिक रूपमा प्रदर्शनको बाटो खुलेको छ । अब यो चलचित्रलाई २५ वैशाखबाट चलचित्र घरमा रिलिज गरिने यसका निर्देशक यम थापाले बताएका छन् ।
वादी समुदायकी एक युवती रोशनी नेपाली वादीले १४ वैशाखमा चलचित्र ‘लालीबजार’को प्रदर्शन रोक्नको लागि माग गर्दै सच्च अदालत पाटनमा रिट हालेकी थिइन् । सो रिटमाथि उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासमा बुधवार बहस भयो । सो बहसको अन्तिममा न्यायाधीशद्वय तिवारी र आचार्यको इजलासले १५ बैशाखको सोही अदालतको अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको निर्णय ग¥यो । यो निर्णयले एक साता अघिबाट प्रदर्शनी रोक्का गरिएको चलचित्र ‘लालीबजार’ माथिको बन्देज हटेको छ । अदालतले सेन्सर बोर्डकै निर्णयलाई मान्यता दिएको छ ।
अदालतमा बुधबार चलचित्र ‘लालीबजार’को निर्माण टिमका पक्षबाट बरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, अधिवक्ताहरू सिताराम घले, वासुदेव रिजाल, राष्ट्र विमोचन तिमल्सेना, अशांकनबहादुर मल्ल, प्रितम घिमिरेले बहस गरेका थिए । सेन्सर पास भइरहेको चलचित्र ‘लालीबजार’ रिलिजको पक्षमा चलचित्र विकास बोर्डबाट अधिवक्ता चित्रबहादुर कुताल विष्टले पनि बहस गरेका थिए । उच्च अदालत पाटनले मंगलबार मगाएको चलचित्र सेन्सर बोर्डको सक्कल प्रतिलाई आधार मानेर न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले ‘लालीबजार’ माथिको बन्देजलाई फुकुवा गरेको हो ।
न्यायाधिसद्धयको आदेशमा लेखिएको छ, ‘प्रस्तुत रिट निवेदनमा माग गरेको विषयवस्तुमा अन्तिम सुनुवाइ हुँदा विचार हुन सक्ने अवस्था देखिएकाले हाल यस अदालतबाट वैशाख १५ मा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था देखिएन,’
चलचित्र ‘लालीबजार’को रिलिज १८ वैशाखमा राखिएको थियो । १८ वैशाखमा चलचित्र घरमा ‘लालीबजार’ आउँछ भनेर चलचित्र रिलिजको लागि प्रचार प्रसारमा मात्र ४० लाख रुपैयाँ खर्च गरिएको यसका निर्देशक प्रदीप भट्टराईले राजधानीलाई बताए । उच्च अदालत पाटनबाट आफ्नो चलचित्रलाई रिलिजको लागि १५ वैशाखबाटै रोक लगाउँछ सो प्रचारको खर्च ४० लाख रुपैयाँ आफूलाई पूर्ण घाटा भएको पनि उनले बताएका छन् । सेन्सर बोर्डबाट युनिभर्सल प्रमाणपत्र पाएको यो चलचित्रमा भएका केही अंश हटाउन तथा म्युुट गर्न सेन्सर बोर्डले दिएको निर्देशनलाई आफूहरूले पालन गरिसकेको र सोही निर्देशन अनुसार सेन्सर गरेर १८ वैशाखमा रिलिजको तयारी गर्दा चलचित्र रोकिएको पनि भट्टराईले स्पष्ट पारे । अब यो चलचित्रलाई २५ वैशाख शुक्रबारबाटै चलचित्र घरमा ल्याउने पनि उनले बताएका छन् ।
सम्बन्धित समाचार
कर्णाली चलचित्र महोत्सव सम्पन्न
अभिनेता रणवीर सिंहले अदालतमै माफी मागेपछि टुंगिँदै मुद्दा
गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार
चीनमा नेपाली चलचित्रको प्रदर्शनमा सरकारी चासो
पलेँटीमा गुन्जिए पवन र रमेश
चीनमा नेपाली चलचित्रको प्रदर्शनमा सरकारी चासो
इतिहासमा चर्केको बहस:‘अगाडि बढ्न पछाडि फर्किनुपर्छ’
मनाइयो विजय मल्ल शताब्दी





