एकसाथ जुधे तीन नेपाली चलचित्र

काठमाडौं । यो साता कुनै खास चाडपर्व छैन । चाडपर्व नुहँदा चलचित्र राम्रो चल्दैनन् । तर, यो साताको लागि तीन वटा नेपाली चलचित्र एकसाथ रिलिज भएका छन् । विगत दुई महिना यताबाट हरेक साता एउटा मात्र चलचित्र रिलिज हुँदै आएका थिए । शुक्रवार (आज) तीन नेपाली चलचित्र ‘लालीबजार’, ‘मालती मंगले’ र ‘गुरु आमा’ रिलिज भएका हुन् ।

२५ वैशाखमा ‘मालती मंगले’मात्र रिलिज हुने तय दुई महिना अघि भएको थियो । तर यही मितिमा चलचित्र ‘गुरु आमा’ रिलिजको घोषणा हालै गरियो । यति बेला ‘लालीबजार’ पनि आएपछि एक साथ तीन चलचित्रहरू चलचित्र घरमा जुधेका हुन् । जसका कारण तीन वटै चलचित्रको सो संख्या पनि घटेको छ ।

बुधवार साँझ काठमाडौँमा प्रिमियर गरिएको चलचित्र ‘मालती मंगले’ १०० भन्दा बढी चलचित्र घरबाट रिलिज भएको छ । रामकृष्ण ढकालले निर्माण गरेको यो चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतको अभिनय रहेको छ । यो चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । यो पारिवारिक प्रेम कथामा आधारित छ ।

गत १८ वैशाखमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘लालीबजार’लाई पाटन उच्च अदालतले रोक लगाएपछि यो चलचित्र सो मितिमा रिलिज हुने सकेन । बुधवार अदालतबाट प्रदर्शनको लागि फुकुवाको फैसला भएपछि बाँकी दुई चलचित्र ‘मालती मंगले’ र ‘गुरु आमा’सँग ‘लालीबजार’ जुध्न आएको हो । चलचित्र ‘लालीबजार’ १३० भन्दा बढी चलचित्र घरबाट शुक्रवार रिलिज भएको छ । यम थापाले निर्देशन गरेको यो चलचित्रलाई प्रदीप भट्टराई, म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँले निर्माण गरेका हुन् ।

स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी, बिरबल चौधरीलगायतका कलाकारहरूको अभिनय रहेको यो चलचित्रको बिहीबार बेलुका काठमाडौँमा प्रिमियर गरिएको थियो । प्रिमियरमा यसले राम्रो प्रशंसा पायो ।

अर्को चलचित्र ‘गुरु आमा’ भने चार दर्जन चलचित्र घरमा रिलिज भएको छ । बाँकी दुई चलचित्रको तुलनामा यो चलचित्रले कम सोहरू पाएको छ । प्रेम सोनी सुनारले निर्देशन गरेको यो चलचित्रको त्यति चर्चा छैन । ‘गुरु आमा’मा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, ध्रुव कोइराला, उत्तम केसी, गिरी बहादुर पुनलगायतका कलाकारको अभिनय छ ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

epaper

ताजा समाचार

बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको जाँच