पाल्पा । युनाइटेड मिशन अस्पताल पाल्पाको आईसोलेसनमा उपचार भइरहेका एक जना पुरुषको मृत्यु भएको छ । पुर्वखोला गाउँपालिका १ सिलुवा घर भई सोमबार उपचारका लागि अस्पताल ल्याइएका ४६ बर्षिय राम बहादुर दिसुवा मगरको मृत्यु भएको अस्पतालले जनाएको छ ।
१८ गते राती भारतको मुम्बाइबाट घर फर्किएका उनि गाउँपालिका वडा नं २ जल्पा शम्भु माविको क्वारेन्टनमा बसेका थिए । क्वारेन्टाइनमा उनलाई कोरोना संक्रमणसंग मिल्दोजुलो लक्षणहरु देखापरेपछि उपचारका लागि मिशन अस्पताल रिर्फर गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले बताए ।
बिरामी परेका दिसुवाको कोरोनाको शंकामा स्वाब परिक्षणको नमूना सोमबार संकलन गरेर सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोशालामा पठाए पनि उनको रिर्पोट आउन बाँकी रहेको मिशन अस्पतालका प्रशासकिय प्रमुख जिवन भट्टराईले बताए । उनले अन्य रोगको औषधी खाने गरेको खुले पनि के कारणले मृत्यु भयो भन्ने खुलेको छैन । मृत्युपश्चात पुन कोरोना परिक्षणका लागी दोस्रो पटक स्वाब संकलन गरिएको छ ।
हाल सम्म जिल्लामा ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । रैनादेवी छहरा गाउँपालिकामा २, निस्दी गाउँपालिकामा २ र माथागढी गाउँपालिकामा एक जनामा संक्रमण देखिएको हो । माथागढीको संक्रमितको कन्ट्रयाक ट्रेसिङ्ग शुरु भएको छ । क्वारेन्टाइनमा उनिसंगै बसेका २३ जनाको स्वाबको नमूना संकलन गरिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।






