पृथ्वीनारायण, रामचन्द्र र राष्ट्रभक्ति

पृथ्वीनारायण शाह, भीमसेन थापा, बलभद्र कुँवरलगायतका राष्ट्रभक्त सपूतलाई नसम्झने व्यक्ति नेपालमा विरलै होलान् । उनीहरूलाई सम्झनुको तात्पर्य राष्ट्रको अस्तित्व रक्षार्थ उनीहरूले पु¥याएको विशेष योगदानको स्मरण गर्नु हो । राष्ट्रको स्वतन्त्र अस्तित्व संकटमा पर्न लाग्दा दिलोज्यानले सहयोग गर्दै युद्धमै होमिएका अन्य स्मरणीय ऐतिहासिक सपूत रामचन्द्र प्रसार्इं र भक्ति थापा पनि हुन् । राष्ट्रको स्वतन्त्र अस्तित्व संकटमा पर्न लाग्दा यस्तै वीर सपूतको साहसी कार्यले हामीलाई निरन्तर अगाडि बढ्ने प्रेरणा प्रदान गर्दै आएको छ । कुनै पनि व्यक्तिको लोकप्रियता उसको मुखाकृति र स्वरूपमा होइन, उद्धार सम्पादित कार्यसँग आधारित हुने कुरा सर्वविदितै छ । हुन त आफूलाई अत्याधुनिक ठान्ने कतिपय राजनेताकै नजरबाट राजा पृथ्वीनारायण शाह नै अहिले लोप भइसकेको अनुभूति नभएको होइन ।

वास्तवमा व्यक्ति विशेषको योगदानलाई मूल्यांकन एवं विश्लेषण गर्ने र स्मरण गर्ने क्षमता सबैमा समान नहुने भएकैले एउटै विषयवस्तु कसैको लागि प्रिय बन्छ त कसैको लागि अप्रिय यसो हुनुको मुख्य कारण स्मरण शक्तिको ह्रास र दृष्टिदोष नै हो, यसलाई सामान्य ठान्नुपर्दछ । त्यसबखत नेपालले पृथ्वीनारायण शाहजस्तो दूरदर्शी नेतृत्व नपाएको भए सायद नेपाल र नेपालीको अस्तित्व रहनन्थ्यो÷रहँदैनथ्यो भन्न सकिन्न । नेपालको भूमागमा छरिएर रहेका अनेकौं टुक्रे राज्यलाई एकीकृत गर्दै, तत्काल विश्वलाई नै आफ्नो अधीनस्थ बनाउन लागिपर्दै आएको इस्टइन्डिया कम्पनीलाई घुँडा टेकाएर पृथ्वीनारायण शाहले नेपालको अस्तित्व रक्षा गरेको हुँदा नै अहिले हामी नेपाली हुन पाएका छौं । यो हामी सबैको लागि गौरवको विषय हो ।

पृथ्वीनारायण शाहको योगदानलाई कदर नगर्ने तर उनीद्वारा संरक्षित राज्यको सत्ता सञ्चालन गर्न लालायित बनिरहने प्रवृत्ति स्वच्छ राष्ट्रभक्ति हुन सक्दैन । राष्ट्रभक्तले इतिहासलाई बिर्संदैन न त आफू उभिएको धरातलीय पृष्ठभूमिलाई नै भुल्न सक्छ । यस्तै दोधारो नीति अवलम्बन गर्ने फितलो व्यक्ति विगतमा बराबर सत्तामा पुगेको कारण उनै वीर पुर्खाले आर्जेको मुलुकलाई यथावस्थामा जोगाइराख्न अहिले हामीसामु चुनौती देखापर्दै छन् । राष्ट्रिय अस्तित्व संकटमा पर्दा वीर पुर्खा उत्तिखेरै प्रतिकारमा उत्रन्थे तर अहिले हामी प्रतिकार त होइन, बोल्नसम्म नसक्ने अवस्थामा पुग्दै छौं । यो राष्ट्रियता छायामा परेको संकेत हो । ३४ जिल्लाको विभिन्न ७१ स्थानको हाम्रो भूभाग दशकौंदेखि छिमेकी मुलुकबाटै अतिक्रमित हुँदा हामी निरीह बनी टुलुटुलु हेर्दै आएका छौं । अतिक्रमणलाई बढावा दिएर मौन बसेर मुलुक खुम्च्याउँदै लाने वा अतिक्रमणकारीलाई आफ्नो क्षेत्रबाट हटाउने ? यो अहिलेको हाम्रो मुख्य चुनौती हो । यसर्थ, मौखिक र कागजी जवाफ मात्र होइन, कार्य रूपमै अविलम्ब हामी उत्रनुपर्दछ । यस मामलामा सरकारको मात्र मुख ताक्ने होइन, सम्पूर्ण राष्ट्रभक्त नेपाली नै स्वतःस्फूर्त रूपमा अग्रसर बन्नुपर्दछ ।

राष्ट्रिय अस्तित्व संकटमा पर्दा वीर पुर्खा प्रतिकारमा उत्रन्थे तर हामी बोल्न नसक्ने अवस्थामा पुग्दै छौं

पृथ्वीनारायण शाहलगायत माथि उल्लिखित पाँच राष्ट्रभक्त सपूत सबैको पृष्ठभूमि र दायित्व पनि समान छैन । पृथ्वीनारायण शाह त देशकै राजा र मुख्य प्रशासक नै भए । रामचन्द्र प्रसार्इंबाहेका अन्य व्यक्ति पनि त्यसबेलाका राष्ट्रकै नुनपानी खाँदै आएका राज्यका उच्च पदस्थ पदाधिकारी नै थिए । जसको काँधमा देशकै जिम्मेवारी थियो । तर, रामचन्द्र त्यस्ता व्यक्ति थिए, जसले न राष्ट्रको नुनपानी नै खाएका थिए, न उच्च पदस्थ सरकारी पदाधिकारी नै थिए । उनी त एक सामान्य राष्ट्रभक्त सचेत नागरिक मात्रै थिए । जसलाई राज्यको पदीय दायित्व वहन गर्नुपर्ने बाध्यता पनि थिएन । मुलुकलाई संकट पर्दा राज्यको नीति निर्देशनअनुसार चल्ने दायित्व सरकारी पदाधिकारीको हुन्छ भने राज्यको संरक्षण गर्ने र जनताको सेवामा समर्पित रहने उनीहरूको कर्तव्य नै हुन्छ । राष्ट्रभक्तिले अभिप्रेरित एक सचेत नागरिकले भने राष्ट्रहितको कार्यमा समर्पित रहनु आफ्नो कर्तव्य ठान्ने गर्दछ । आदर्श नागरिक राष्ट्रिय अस्तित्व रक्षार्थ स्वेच्छिक रूपमै जागरुक बन्ने भए पनि उसलाई सरकारी पदाधिकारीजस्तो बाध्यता भने हुँदैन । सचेत नागरिक र सरकारी पदाधिकारीको काम, कर्तव्य र दायित्वबीच पाइने मुख्य भिन्नता यही हो ।

छायामा पर्दै आएका ऐतिहासिक व्यक्तित्व रामचन्द्र प्रसार्इंको ’boutमा सबैलाई जानकारी नहुन सक्छ । रामचन्द्र को हुन्, उनले के योगदान पु¥याएका थिए भनी जानकारी लिन हामीले रामेछाप जिल्ला र सिन्धुलीगढीको नेपाल अंग्रेजबीच भएको १८२४ सालको युद्धतर्फ फर्कनुपर्ने हुन्छ । रामेछाप जिल्लाको मुगिटारमा १७७१ सालमा जन्मिएका रामचन्द्र प्रसार्इं नन्दमुनि प्रसाईंका नाति श्रीकृष्णका छोरा थिए । रामेछापको मुगिटार इलाका तत्कालीन समयमा कान्तिपुर राज्यअन्तर्गत पर्दथ्यो । रामचन्द्र कान्तिपुर राज्यको पूर्व भेगदेखि सिन्धुलीसम्म सुपरिचित थिए । उनको समाज सेवाको प्रसिद्धि सिन्धुलीदेखि कान्तिपुर दरबारसम्म मात्र होइन, गोरखा दरबारसम्म नै फैलिएको थियो । एकीकरण ताका गोरखाली भारदारहरूले त मुगिटार क्षेत्रका प्रभावशाली व्यक्ति रामचन्द्र प्रसार्इंलाई हात लिएमा कान्तिपुर कब्जा गर्न सहज हुन्छ भनेर पृथ्वीनारायण शाहलाई सल्लाहसमेत दिँदै आएका थिए ।

रामचन्द्रले पनि प्रारम्भदेखि नै कान्तिपुरका आफ्नै राजा जयप्रकाश मल्लको सहयोगी भई कार्य गर्दै आएका थिए । जब पृथ्वीनारायण शाहले १८०१ सालदेखि प्रारम्भ गरेको एकीकरण अभियान १८१९ सालमा संगठनात्मक सैन्य विस्तार गरी सशक्त बनाउँदै १८२२ सालमा उपत्यकाको कीर्तिपुर राज्य कब्जामा लिएपछि भने कान्तिपुरका राजा जयप्रकाश मल्ल भयभित बने । गोरखाली सैन्य शक्तिको तुलनामा आफ्नो सैन्य बल दुर्बल भएको कारण गोरखालीसँगको युद्धमा आफ्नो पराजय निश्चित छ भन्ने निर्णयमा जयप्रकाश मल्ल पुगे । यसले कान्तिपुर राज्यलाई जोगाइराख्ने उद्देश्यले गोरखालीको आक्रमणलाई विफल तुल्याउन अंग्रेज सेनालाई पठाई सहयोग पु¥याई दिन जयप्रकाश मल्लले इस्टइन्डिया कम्पनीसँग अनुरोध गरे ।

काठमाडौं उपत्यका प्रवेश गर्ने दाउमा रहेको अंग्रेजको निम्ति जयप्रकाश मल्लको सहयोगको अपेक्षा सुनमा सुगन्ध भयो । १८२४ सालको असोज महिनाभित्रै सिन्धुलीको बाटो हुँदै अंग्रेज फौज उपत्यका भित्रने कुरा मुगिटार निवासी रामचन्द्र प्रसाईंले थाहा पाए । अंग्रेज फौज सहयोगार्थ झिकाउने जयप्रकाशको कदम रामचन्द्रलाई उचित लागेन । सहयोगीकै रूपमा अंग्रेज भित्रिए न नेपाल रहन्छ, न हामी नेपाली भई बाँच्न नै पाउँछौं भन्ने दूरदर्शी दृष्टिकोण रामचन्द्रको थियो । यसर्थ, आफ्नै राजा जयप्रकाश मल्लकै सहयोगी भएर नेपाल र नेपालीको अस्तित्व मेटाउनुभन्दा गोरखाली राजा पृथ्वीनारायण शाहलाई साथ दिएरै भए पनि नेपालको अस्तित्व जोगाउनु उत्तम हो भन्ने निर्णयमा पुगेका रामचन्द्र प्रसार्इंले अंग्रेज फौज आउँदै छ, त्यसलाई सिन्धुली भन्ज्याङमै रोक्नुपर्दछ त्यसका लागि कस्तो सहयोग पु¥याउनुपर्दछ आफू तयार रहेको बेहोरा उल्लेख गरी १८२४ साल भदौ पहिलो सातामै कीर्तिपुर मुकाम गरी बसेका गोरखाका राजा पृथ्वीनारायण शाहलाई पत्रद्वारा जानकारी गराएका थिए ।

रामचन्द्र प्रसार्इंले जयप्रकाशको सहयोगार्थ असोज महिनाभित्रै अंग्रेज फौज उपत्यका आउँदै छ । यसलाई सिन्धुलीगढीमै रोक्नुपर्छ त्यसका लागि सहयोग गर्न आफू पनि तयार रहेको भनी पृथ्वीनारायण शाहलाई पत्रद्वारा जानकारी गराएका थिए । उनले पृथ्वीनारायण शाहको निर्देशनअनुसारै रामेछापदेखि सिन्धुलीसम्मको ठूलो संख्यामा झारा (स्वयंसेवक लडाकु दस्ता) बटुली गोरखाली फौजसँग मिसाई गोरखाको फौजी शक्ति थप मजबुत बनाउने कार्य गरे ।
युद्ध लड्ने सम्पूर्ण नेपाल पक्षका सैनिकको निम्ति आफ्नै निजी स्रोतबाटै रामचन्द्रले रसदपानीको अटुट व्यवस्था मिलाए । त्यसबखत पृथ्वीनारायण शाहलाई रकम अभाव भएको कारण तत्कालै नगद २ हजार रुपैयाँ प्रदान गरेर रामचन्द्रले सहयोग पु¥याए । उनले सिन्धुलीको ढुंग्रेवासदेखि भन्ज्याङसम्मको भौगोलिक अवस्थाअनुसारै कुशल युद्धकला अपनाउन गोरखाली सेनापति काशीराम कुँवर र सहायक वंशु गुरुङलाई सल्लाह दिँदै विभिन्न पाँच नाकामा फौज तैनाथ गराई युद्ध लड्ने सम्पूर्ण कार्ययोजना मिलाएका थिए ।

सीमास्तम्भ नै अतिक्रमित भूमि नेपालको हो भनी बोल्ने तथ्यगत प्रमाण हुन्

रामचन्द्र प्रसाईं आफैं एक सैन्य टोलीको नेतृत्व गर्दै युद्धमा सामेल भएका थिए । गैरसरकारी पदाधिकारीकै हैसियतले रामचन्द्र प्रसार्इंले पु¥याएको उक्त योगदान राष्ट्रको जिम्मेवार उच्च पदस्थ पदाधिकारीको भन्दा उच्च थियो । यही तैनाथीले क्याप्टेन किनलकको नेतृत्वमा आएको २४ सय संख्याको अंग्रेज फौज अन्ततः गोरखालीसँग हार खाई पलायन भयो । १५ असोज १८२४ मा भएको यो युद्धमा अंग्रेजतर्फका करिब १६ सय सैनिकलाई हताहत पारी ठूलो संख्याको हातहतियार समेत गोरखाली सेनाले कब्जामा लिए । पृथ्वीनारायण शाहले नै वदा मानेका रामचन्द्र प्रसार्इंको राष्ट्रभक्तिको प्रसिद्धि आमजनताकै लागि प्रेरणाको स्रोत बन्यो ।

हामीले राजा पृथ्वीनारायण शाहलाई एक कुशल दूरदर्शी प्रशासक र रामचन्द्र प्रसार्इंलाई आदर्श राष्ट्रभक्त नागरिकै रूपमा सधैं स्मरण गर्नुपर्दछ । साथै, राष्ट्रमा आइलाग्ने संकट मुलुकको कार्यकारी प्रमुखले एक्लै समाधान गर्न सक्दैन जनसहयोग अपरिहार्य हुन्छ भन्ने कुरा सरकार प्रमुखले बुझ्नुपर्दछ । यिनै वीर पुर्खाका सन्तति हामी अहिले मातृभूमिकै रक्षार्थ असक्षम देखिन लाग्दै छौं । वर्षौदेखि आफ्नै भूमिमा विदेशी सेना तैनाथ रहँदा, नेपाली दाजुभाइ र दिदीबहिनी नै पराई बन्नुपर्ने अवस्थामा पुग्दा तथा मुलुकको विभिन्न ३४ जिल्लाको ७१ स्थानको भूमि अतिक्रमित हुँदा अझै हामी मुकदर्शक बन्नु भनेको निरीहताको संकेत हो । वास्तवमा हामी निरीह छैनौं । लामो समयदेखिकै निरीह सत्ता सञ्चालकहरूको मातहतमा खुम्चिएर रहनुपर्दा राज्य सञ्चालकको निरीहताको छाया हामीमा परेको मात्र हो ।

राष्ट्रिय अस्तित्व संरक्षणको निम्ति भारत जति संवेदनशील छ, त्योभन्दा बढी नेपाल छ भन्ने कुरा इतिहासले प्रमाणित गर्दै आएको छ । यो हामीले बताइरहनुपर्दैन । आफ्नै भूमि अतिक्रमित भएर हामी अन्यायमा परेका छौं भन्ने मुख्य प्रमाण सन् १८१६ को सुगौली सन्धि, लगत्तै सन् १८१९ मा कुमाउ प्रदेशले सन्धिकै आधारमा जारी गरेको नयाँ नक्सा, सर्भे अफ इन्डियाले सन् १८२७ मा जारी गरेको कुमाउ गहडवालको अर्को नक्सा, भारतले नै जारी गरेको सन् १८३० को हिन्दुस्थानको पश्चिमी क्षेत्रको नयाँ नक्सा तथा सर्भे अफ इन्डियाले सन् १८९४ मा जारी गरेको कुमाउ गढवालको अर्को नक्सालगायत अतिक्रमित भूमिमा रहँदै आएको नेपाली मुखियालाई प्रधानमन्त्री चन्द्र शम्शेरले १९६० सालमा पठाएको पत्र, २०२४ सालसम्म सो क्षेत्रका नेपाली नागरिकले नेपाल सरकारलाई तिर्दै आएको मालपोतको लिखित, उक्त क्षेत्रका बासिन्दाको ऐतिहासिक पृष्ठभूमि, स्थानीय नागरिकको साथमा भएको अन्य सरकारी लिखत प्रमाण, सीमा क्षेत्रमा कायम गरिएको सीमास्तम्भहरू नै सो अतिक्रमित भूमि नेपालको हो भनी बोल्ने तथ्यगत प्रमाण हुन् । जसले भारतीय हेपाहा प्रवृत्ति र हुँकारलाई प्रभावहीन बनाउँछ ।

यिनै तथ्यगत प्रमाणकै आधारमा अतिक्रमित भूमि भारतको कब्जाबाट हटाई आफ्नो पूर्ववत् स्वामित्व कायमै राख्न हामी अग्रसर बन्नुपर्दछ । यदि कूटनीतिक संवादबाट समस्या नसुल्झिए समस्यालाई अन्तर्राष्ट्रियकरण गरी भारतलाई नंग्याएरै आफ्नो भूमि फिर्ता लिन हामी पछि पर्नुहुँदैन । यस कार्यका निम्ति सम्पूर्ण नेपाली एकजुट भएमा उक्त सबै ऐतिहासिक वीर पुर्खाको छटपटाइरहेको मृतात्मालाई हामीले मलम लगाएको र शान्ति प्रदान गरेको ठहरिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 484 times, 1 visits today)

epaper

ताजा समाचार

‘जुरासिक पार्क’का अभिनेता साम नीलको निधन