बझाङ । एक समय थियो, बझाङको खोरीगाउँमा बेलुकीपख महिला हातमा निगालोको चिङ्री बोकेर बारीका कान्लातिर हरियोपरियो टिप्न निस्कन्थे । बेथ्या, लट्टे (मार्से), हरिम्ले, परिम्ले, लिउडो र सिस्नोजस्ता जंगली साग नै यहाँको भान्साको मुख्य तरकारी हुन्थे । धेरैजसो दिन रोटी पाक्थ्यो, तर तरकारी हुँदैनथ्यो । नुन र खुर्सानीसँग सुख्खा रोटी खानु स्थानीय बाध्यताजस्तै थियो ।
आज भने त्यही खोरी गाउँमा दृश्य फेरिएको छ । जहाँ कहिल्यै तरकारी नफल्ने बारीमा अहिले प्लास्टिकका टनेल हाउस ठडिएका छन् । घरघरमा गोलभेंडा, काउली, बन्दा, काँक्रा र सागसब्जी उत्पादन भइरहेको छ । एक समय बजारबाट तरकारी किनेर ल्याउने गाउँ अहिले तरकारी बेचेर आम्दानी गरिरहेको छ ।
स्थानीय कविता बोहराका अनुसार पहिले खाने गरिएको जंगली साग अहिले गाईभैंसीको घाँस बनेको छ । ‘पहिला बेलुकीपख सबै महिला साग टिप्न जान्थ्यौं,’ उनी भन्छिन्, ‘अहिलेचाहिँ टनेलभित्र पस्यो, मन लागेको तरकारी टिप्यो, पकायो र खायो । बजार धाउनुपर्ने अवस्था छैन ।’
खोरीगाउँका अधिकांश परिवारले कम्तीमा चारवटा टनेल हाउस निर्माण गरेका छन् । मौसमअनुसारमात्रै होइन, बेमौसमी तरकारी उत्पादनसमेत भइरहेको छ । गाउँका महिलाले आफ्नै करेसाबारीबाट तरकारी खाएरमात्रै होइन, बिक्री गरेरसमेत आम्दानी गरिरहेका छन् ।
केही वर्षअघिसम्म खोरीगाउँका महिलाको दैनिकी अर्कै थियो । गाउँमा रोजगारी नहुँदा उनीहरू चार घण्टासम्म पैदल हिँडेर मोरीबगर, भाँडे बजार वा झोता बजार पुग्थे । त्यहाँ भारी बोक्ने काम गरेर कमाएको पैसाले घरखर्च, छोराछोरीको पढाइ र दैनिक उपभोगका सामान जुटाउनुपर्थ्यो ।
‘अहिले भने परिस्थिति पूर्णरूपमा बदलिएको छ । पहिलाजस्तो खच्चडको भारी बोकेर टाउकोको छाला जाने गरी काम गर्नुपर्दैन,’ खोलापारी कृषक समूहकी सचिव रिता बुढा भन्छिन्, ‘अहिले पैसा घरमै आउँछ । एउटा टनेलबाट मात्रै न्यूनतम ४० हजार रुपैयाँ आम्दानी हुन्छ ।’ उनका अनुसार धेरै परिवारले वार्षिक डेढ लाख रुपैयाँभन्दा बढी कमाइरहेका छन् भने कतिपय सात–आठ लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् । महिलाले समूह बनाएर बचतसमेत सुरु गरेका छन् । समूहमा मासिक सय रुपैयाँ जम्मा गरिन्छ र आवश्यक पर्दा त्यही रकमबाट ऋण लिने व्यवस्था छ ।
तरकारी खेतीले खोरीगाउँमा आर्थिकमात्रै होइन, सामाजिक परिवर्तनसमेत ल्याएको छ । स्थानीयका अनुसार पहिले गाउँमा साँझपख झैझगडा र होहल्ला सामान्यजस्तै थिए । मदिरा सेवनपछि महिलामाथि हिंसा हुने घटनासमेत भइरहन्थे । तर, अहिले गाउँको वातावरण फेरिएको छ ।
महिलाले एकजुट भएर गाउँमा मदिरा निषेध गर्ने निर्णय गरेका छन् । अहिले मदिरा सेवन गरी होहल्ला गरे पाँच हजार रुपैयाँ र मदिरा बिक्री गरे आठ हजार रुपैयाँ जरिमाना गर्ने नियम बनाइएको छ ।
खोलापारी कृषक समूहका अध्यक्ष मकर बोहराका अनुसार महिला आर्थिकरूपमा आत्मनिर्भर बनेपछि गाउँमा हिंसाका घटना उल्लेख्यरूपमा घटेका छन् । छविसपाथिभेरा गाउँपालिका–७ का वडाध्यक्ष विजयबहादुर धामी पनि यही परिवर्तनलाई महत्वपूर्ण उपलब्धि मान्छन् ।
‘पहिला सानो काम गर्न पनि महिलाले घरमूलीको भर पर्नुपथ्र्यो,’ उनी भन्छन्, ‘अहिले महिला आफैं कमाउन थालेका छन् । आर्थिकरूपमा सक्षम भएपछि गाउँमा महिला हिंसा पनि घटेको छ ।’ उनका अनुसार ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले गाउँमा खानेपानी पु¥याएपछि र जलवायु परिवर्तन स्थानीय अनुकूलन (लक) परियोजनाले टनेल हाउस तथा तालिम दिएपछि गाउँको जीवनशैली नै बदलिएको हो ।
एक समय तरकारी नामै नसुनेजस्तो खोरीगाउँ अहिले तरकारी निर्यात गर्ने गाउँ बनेको छ । ‘पहिला भान्सामा नुन र खुर्सानीमात्रै हुन्थ्यो । लसुनप्याज पनि हुँदैनथ्यो,’ स्थानीय रोशनी बोहरा सम्झिन्छिन्, ‘अहिले बजारबाट व्यापारी बारीमै तरकारी लिन आउँछन् ।’ उनका अनुसार अहिले गाउँका महिलाले घरमै बसेर वार्षिक न्यूनतम डेढ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।
जलवायु परिवर्तन स्थानीय अनुकूलन (लक) परियोजनाकी टिम नेतृ डा। सान्नालिना राउतानेनले यो परिवर्तनले आफूलाई उत्साहित बनाएको बताइन् । ‘यो कार्यक्रमले महिलाको जीवनशैली नै परिवर्तन गरेको छ,’ उनले भनिन्, ‘यसले जलवायु परिवर्तनसँग जुध्न पनि सहयोग पुगेको छ ।’
त्यस्तै, छविसपाथिभेरा गाउँपालिका अध्यक्ष बसन्त चलाउनेका अनुसार गाउँपालिकाले कृषकले उत्पादन गरेका तरकारी बजारसम्म पु¥याउन निःशुल्क ढुवानी र बजारीकरणमा सहयोग गर्दै आएको छ ।
रोशनी बोहराको घरअगाडिको बारी पहिले गहुँ, जौं र मकै फल्ने खेत थियो । धेरै मेहनत गर्दा पनि वर्षमा मुस्किलले ५० किलो अन्न उत्पादन हुन्थ्यो । अहिले त्यही बारीमा टनेल हाउस बनेको छ । ‘पहिले ५० किलो अन्न हुन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले त्यही खेतबाट २ सय ५०–३ सय किलो अन्न किन्ने पैसा आउँछ । वर्षमा एक बाली हुन्थ्यो, अहिले दुई बाली हुन्छ ।’
खोरीगाउँको परिवर्तनले अवसर, तालिम र थोरै पूर्वाधार पाएपछि दुर्गम गाउँका महिलाले पनि आफ्नै गाउँमा बसेर आत्मनिर्भर बन्न सक्छन् भन्ने प्रमाणित गरेको छ । एक समय सुख्खा रोटी र जंगली सागमा गुजारा चलाउने गाउँ अहिले आत्मनिर्भरमात्रै होइन, तरकारी निर्यात गर्ने गाउँका रूपमा समेत चिनिन थालेको छ ।
सम्बन्धित समाचार
पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’
मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान
बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या
भर्ना शुल्कमा अनियमितता सम्बन्धमा स्थानीय सरकार र गृह मन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय
केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
सेवा सुविधाबापतको ४४ लाख सामाजिक क्षेत्रमा
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज






