दैलेख । ज्यालामजदुरी गरेर जीवनयापन गर्दै आइरहेका विपन्न परिवारलाई राहत वितरण गरिएको छ । लकडाउनको बेला ज्यालामजदुरी गरेर जीवनयापन गर्दै आएका विपन्न परिवारलाई छाक टार्न समस्या नहोस् भन्नको लागि विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको लकडाउनले ज्यालामजदुरी गरेर जीवन धान्दै आइरहेका ७५ वटा विपन्न परिवारलाई राहत वितरण गरिएको हो । अछाम जिल्लाको पञ्चदेवल विनाय नगरपालिका ४० घरधुरी र दैलेख ठाटीकाँध गाउँपालिका ३५ घरधुरीलाई राहत वितरण गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) पुर्व अध्यक्ष सिताकुमारी रानाले बताइन् । उनले भनिन्, ‘हामीले छाक टार्न समस्यामा परेका परिवारलाई लकडाउनको बेला गुजारा चलोस भनेर राहत वितरण गरेका हौं । कोभिड –१९ को संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको लकडाउनलाई राहतले सहयोग पुग्ने छ भने लकडाउनमा विपन्न परिवारले लकडाउनको पालना गरुन भन्ने नै हो ।’
राहत हस्तान्तरण अछाम पञ्चदेवल विनायक नगरपालिका ४० घरधुरी प्रतिपरिवार ३० केजी चामल, २ केजी चिनी, २ केजी दाल, २ केजी नुन, २ लिटर तेल र २०० ग्राम चियापत्ती सहयोग गरिएको थियो । सोसेकले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न स्वास्थ्य तथा सरसफाई सामग्री समेत सहयोग गरेको सेवा केन्द्रले जनाएको छ ।
‘लकडाउनमा काम नहुँदा के खाने भन्ने चिन्ता लागेको थियो । सिलाई कटाईबाट गुजारा चलाउने हामीलाई कहाँबाट पैसा ल्याएर चामल किन्ने भन्ने चिन्ता लागेको थियो । सेवा केन्द्र संस्थाले खाद्यान्न दिँदा हामीलाई त भगवान जस्तै आए जस्तो लागेको छ ।’ अछाम पञ्चदेवल विनायकका ८० बर्षीय गोरे दमाईले खुशी व्यक्त गरे । ‘तपाईहरुको जय होस्, अब त एक महिना सम्म खान पुग्यो भयो, चिन्ता हट्यो’, दमाईले भने ।
सामाजिक सेवा केन्द्र सोसेकले ४० घरधुरीलाई प्रतिपरिवार एक वटा ज्वरो नाप्ने थर्मोमिटर, मास्क, सेनिटाइजर, कपडा धुने साबुन, हात धुने साबुन, सेनेटरी प्याड, दात माझ्ने बु्रस,कोलगेट, विपन्न परिवारलाई सहयोग गरेको थियो । त्यसैगरी पञ्चदेवल विनायक नगरपालिका स्थित कुच्ची स्वास्थ्य चौकीलाई ५ सेट पीपीई, २ सय थान सर्जिकल ग्लोब्स, ९० थान पलास्टिक झोला, ५ वटा ज्वरो नाप्ने थर्मल गन, ६० वटा एननाइन्टी फाइभ मास्क, तीन लिटर ह्याण्ड सेनीटाइजर, १०० एमएलको ६० बोटल ह्याण्ड सेनीटाइजर हस्तान्तरण गरिएको छ । स्वास्थ्य चौकीलाई पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख अम्बिका चलाउने र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका पूर्वअध्यक्ष सिताकुमारी रानाले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कर्मचारी रमेश रावतले बताए । त्यसैगरी सोही संस्थाले दैलेखको ठाटीकाँध गाउँपालिका असिना पिडितलाई खाद्यान्न सहयोग गरेको छ ।
गाउँपालिका वडानं १ का विपन्न परिवारका ३५ घरधुरीलाई मंगलबार खाद्यान्न सहयोग वितरण गरिएको ठाटीकाँध गाउँपालिका १ का वडासचिव पदमबहादुर बमले जानकारी दिए । उनले भने, २०७५ चैत्र २२ र २४ ठाटीकाँध गाउँपालिकामा परेको असिनापानीले कृषकले लगाएको गुहँबाली नष्ट गरेको थियो । गाउँपालिका सहयोग गरेपनि लकडाउनले गर्दा विपन्न परिवारलाई छाक टार्न समस्या हुँदा वडाकार्यालयको अनुरोधमा सोसेकले उपलब्ध गराएको राहत वितरण गरिएको हो । ‘राहत वितरणमा प्रति परिवार २५ केजीको ३५ प्याक चामल, १ लिटर तेल, १ पोका नुन,१ किलो चिनी,१ किलो दाल,२ सय ग्राम चियापत्ती वितरण गरेका छौं’, बमले भने । २०७५ परेको असिना पानी ठाटीकाँध गाउँपालिका वडानं १, २ र ६ वडामा गहुँबाली नष्ट गरेको थियो । डेनमार्कको गैह्रसरकारी संस्था डीसीए नेपालको आर्थिक सहयोग र सोसेक नेपालको सहजीकरणमा ती परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।