रौतहट । रौतहट जिल्लाका विभिन्न स्थानीय तहका महिलाहरू व्यावसायिक कृषि, पशुपालन र साना उद्यममार्फत आत्मनिर्भर बन्दै गएका छन् । ग्रामीण विकास केन्द्र नेपालद्वारा सञ्चालन गरिएको लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक–आर्थिक सशक्तिकरण परियोजनाले उनीहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको देखिएको छ ।
चन्द्रपुर नगरपालिका–७ बनबहुअरीकी दुखनी थरुनीले करिब पाँच कठ्ठा जमिनमा लौका, करेला, घिरौला लगायतका तरकारी खेती गर्दै दैनिक १५ सयदेखि २ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएकी छन् । उत्पादन भएको तरकारी बारीबाटै बिक्री गर्नुका साथै स्थानीय हाटबजारमा समेत बिक्री गर्ने गरेकी उनले यसले आफ्नो परिवार आर्थिक रूपमा सबल बन्दै गएको बताइन् ।

त्यस्तै, सोही वडाकी दिलकुमारी काफ्ले बाख्रापालन व्यवसायमा संलग्न रहँदै आर्थिक रूपमा आत्मनिर्भर बनेकी छन् भने सुनिता माझीले किराना पसल सञ्चालन गरी जीविकोपार्जन गर्दै आएकी छन् ।
यसैगरी, राजपुर नगरपालिका–९ की मीना देवीले व्यावसायिक तरकारी खेतीमार्फत घरखर्चदेखि छोराछोरीको शिक्षासम्म सहज भएको बताएकी छन् । सोही वडाकी गुलसन खातुन र जरिमा खातुनले टेलर व्यवसाय सञ्चालन गरी स्वरोजगार बनेका छन् । उनीहरूले घरखर्च सञ्चालनसँगै बालबालिकाको शिक्षामा सहयोग पुगेको बताएका छन् ।
परियोजनाका अनुसार चन्द्रपुर र राजपुर नगरपालिकाका १२ वडामा सञ्चालन भइरहेको कार्यक्रममार्फत करिब एक हजारभन्दा बढी महिलाहरू स्वरोजगारमा संलग्न भएका छन् । प्रत्येक लाभग्राहीलाई करिब ६५ हजार रुपैयाँको व्यवसायिक सहयोग प्रदान गरिएको ग्रामीण विकास केन्द्र नेपालले जनाएको छ ।

परियोजना इश्लामिक रिलिफ क्यानाडाको आर्थिक सहयोग र इश्लामिक रिलिफ नेपालको व्यवस्थापकीय सहयोगमा सञ्चालन भइरहेको हो । कार्यक्रम संयोजक धर्मेन्द्र साहका अनुसार महिलाहरूलाई व्यावसायिक सीप, वित्तीय साक्षरता, नेतृत्व विकास तथा सामाजिक सचेतनाका विभिन्न तालिम प्रदान गरिँदै आएको छ ।
त्यसैगरी, समुदायमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सामुदायिक सिकाइ तथा संरक्षण केन्द्रहरू पनि सञ्चालनमा छन् । चन्द्रपुरमा १० र राजपुरमा १४ वटा केन्द्रमार्फत विद्यालय बाहिर रहेका किशोरीहरूलाई जीवन उपयोगी सीप, नेतृत्व विकास र सामाजिक सचेतना कार्यक्रम सञ्चालन भइरहेको बताइएको छ ।
परियोजनाबाट हालसम्म करिब २ हजार ४०० बालबालिकाले रुपान्तरण कोर्स पूरा गरिसकेका छन् । साथै, पुरुषहरूलाई समेत समावेश गरी लैङ्गिक समानता तथा महिला अधिकारसम्बन्धी प्रशिक्षण दिइँदै आएको जनाइएको छ ।
सम्बन्धित समाचार
टिपरको ठक्करबाट एक जनाको मृत्यु
मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान
धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
सुकुुमवासी परिवारका विद्यार्थीलाई संस्कृत शिक्षाका लागि भर्ना हुन आग्रह
पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’
स्थानीयद्वारा मौलापुर नगरपालिका घेराउ
मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त
पूरा हुँदै कृष्णबहादुरको सपना






