प्रकाशचन्द्र नेपालले जिते खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि विजेता विचमा प्रकाशचन्द्र नेपाल, बायाँ दोश्रो भएका राहुल गुरुङ र दायाँतर्फ तेश्रो भएका थेण्डुप तामाङ ।

खोटाङ । खोटाङको दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापा दमकका प्रकाशचन्द्र नेपालले जितेका छन् । ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ अन्तर्गत आयोजित बुधबार भएको प्रतियोगितामा नेपालले फाइनलमा भारतको सिक्किम निवासी राहुल गुरुङलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

प्रतियोगितामा सिक्किमकै थेण्डुप तामाङ तेस्रो भएका छन् । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते संघ खोटाङको संयुक्त आयोजनामा दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न प्रतियोगितामा देशभरका ५१ खेलाडीले सहभागिता जनाएका थिए । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कोशी प्रदेश श्रेणीमा खोटाङको बराहपोखरी गाउँपालिकाका खिलराज राई प्रथम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका हरिभक्त राई द्वितीय भएका छन् । खोटाङ जिल्ला श्रेणीमा बमबहादुर राई प्रथम, ज्ञानबहादुर श्रेष्ठ द्वितीय र प्रभुराम राई तेस्रो भएका छन् ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए । जेठ ३ गतेदेखि सुरु भएको महोत्सव छ दिनसम्म सञ्चालन हुनेछ । जेठ ९ गते नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा साहित्यिक महोत्सव आयोजना हुने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

प्रकाशचन्द्र नेपालले जिते खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि