अध्यागमन सुशासनका लागि ‘डिजिटल टाइम कार्ड’ लागू

काठमाडौं । अध्यागमन विभागले सेवा प्रवाहलाई थप पारदर्शी, उत्तरदायी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित ‘डिजिटल टाइम कार्ड’ प्रणाली लागू गरेको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत अध्यागमनसम्बन्धी सेवाका प्रक्रियालाई डिजिटल, ट्र्याकिङयोग्य र पारदर्शी बनाउने नीतिअनुसार यो प्रणाली कार्यान्वयनमा ल्याइएको बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागले जानकारी दिएको छ ।

अध्यागमन विभागअन्तर्गत सञ्चालनमा रहेको नेपालीपोर्ट सफ्टवेयरकै अतिरिक्त सुविधाको रुपमा ‘डिजिटल टाइम कार्ड’ प्रणाली सञ्चालन गरिएको जनाउँदै महानिर्देशक रामचन्द्र तिवारीले आवेदन दर्तादेखि सेवा सम्पन्न हुने चरणसम्मको सम्पूर्ण प्रक्रिया डिजिटल रूपमा अभिलेखीकरण हुने जानकारी दिए ।

सूचना प्रणाली लागू भएपछि सेवाग्राहीले आफ्नो आवेदन कुन चरणमा पुगेको छ, काम सम्पन्न हुन कति समय बाँकी छ भन्ने जानकारी मोबाइल वा अनलाइनमार्फत सहजै प्राप्त गर्न सक्ने विभागले जनाएको छ । विभागले डिजिटल टाइम कार्डमार्फत नै अनलाइन तथा नगदरहित भुक्तानी प्रणालीसमेत उपलब्ध गराउने जनाएको छ । सेवाग्राहीले भौचर जारी भएपछि सोही प्रणालीमार्फत कार्ड, बैंक वा अन्य डिजिटल माध्यमबाट शुल्क भुक्तानी गर्न सक्ने विभागले जनाएको छ ।

डिजिटल टाइम कार्ड प्रणालीमा आवेदनको प्रत्येक चरणको समय अभिलेख रहने व्यवस्था गरिएको विभागले जनाएको छ । यस प्रक्रियामार्फत सेवाग्राहीले आवेदन दर्ता, सनाखत, भौचर जारी, भुक्तानी जाँच, भिसा प्रिन्ट तथा सेवा वितरणसम्मका सबै चरण रियल टाइममा अपडेट हुन पाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

विभागका अनुसार विद्युतीय यात्रा अनुमति, ट्रेकिङ परमिट तथा संस्थागत आवेदनबाहेक अन्य आवेदनमा सेवाग्राही विभागमा उपस्थित भई सनाखत तथा कागजात पेस गरेपछि मात्रै डिजिटल टाइम कार्ड सक्रिय हुने व्यवस्था गरिएको छ । यस्तै, भौचर जारी भएपछि भुक्तानी गर्न लाग्ने समय भने सेवाग्राहीमा निर्भर हुने भएकाले सो अवधि प्रणालीको समय गणनामा समावेश नगरिने जनाइएको छ ।

विभागले विभिन्न प्राविधिक प्रणालीहरूबीच समन्वय गरी सेवा सञ्चालन गरिने जनाएको छ । ‘रेभेन्यु म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम’, ‘नेपालीपोर्ट’, बैंकिङ प्रणालीलगायतमा प्राविधिक समस्या आएमा सेवा प्रवाहमा असर पर्न सक्ने विभागको भनाइ छ ।

सेवाग्राहीले यो प्रणाली प्रयोग गर्न विभागले विभिन्न माध्यम उपलब्ध गराएको छ । विभागका शाखाहरूमा राखिएका क्यूआर कोड स्क्यान गरी आवेदन ट्र्याक गर्न सकिनेछ भने विभागको वेबसाइटमार्फत पनि आवेदनको अवस्था हेर्न सकिने व्यवस्था गरिएको छ । विभागले सार्वजनिक गरेको लिंकमार्फत सेवाग्राहीले आवेदनको प्रगति, बाँकी समय तथा आवश्यक सूचना प्राप्त गर्न सक्नेछन् ।

विभागले डिजिटल टाइम कार्ड प्रणालीले विदेशी नागरिकलाई समेत सहज सेवा दिने दाबी गरेको छ । भौचर जारी भएपछि विदेशी नागरिकले सोही डिजिटल प्रणालीमार्फत शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ भने विदेशमै बसेर ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ प्राप्त गर्न सकिने सुविधा पनि विस्तार गरिएको विभागले जनाएको छ ।

अध्यागमन विभागले यो प्रणालीलाई सुशासन, पारदर्शिता र डिजिटल सेवा विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ । विभागका अनुसार अब सेवा प्रवाहको गति, कर्मचारीको कार्यक्षमता र सेवाग्राही सन्तुष्टिको स्तरलाई तथ्यांकका आधारमा मूल्यांकन गर्न सकिने महानिर्देशक तिवारीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 4 times, 1 visits today)

epaper

ताजा समाचार

सहकारी संस्थाहरूको दर्ता आनाकानी