काठमाडौं । लकडाउनका कारण दुग्ध उत्पादन क्षेत्रमा दैनिक १० करोड क्षति भइरहेको छ । दैनिक ३१ लाख लिटर उत्पादन हुने दूधले लकडाउनकै कारण बजार पाउन सकेको छैन । दैनिक उत्पादन हुँदै आएको दूधले करिब ३५ प्रतिशत मात्र बजार पाएको किसानको भनाइ छ । उत्पादन भएको ६५ प्रतिशत दूधले बजार पाउन सकेको छैन ।
सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न गरेको लकडाउन साढे दुई महिना भइसकेको छ । तर, अझै कतिसम्म लम्बिने भन्ने यकिन भएको छैन । अव्यवस्थित लकडाउनले कृषकले उत्पादन गरेको वस्तुलाई समेत सहज रूपमा बजारमा पु-याउन समस्या उत्पन्न भइरहेको छ ।
गत ११ चैतदेखि सरकारले लकडाउन सुरु गरेको हो । यसको अवधि जेठ मसान्तसम्म पु¥याइएको छ । यसले दुग्ध व्यवसायमा नराम्रो प्रभाव परेको नेपाल डेरी एसोसियसनका महासचिव प्रहाल्द दाहालले बताए । किसानले उत्पादन गरेको करिब १० करोड मूल्यबराबरको दूध दैनिक खेर गइरहेको उनले जानकारी दिए ।
महासचिव दाहालले भने, ‘किसानले उत्पादन गरेको दूधमध्ये ३५ प्रतिशतले मात्र बजार पाएको छ ।’ ६५ प्रतिशत खेर गइरहेको छ । कोरोना भाइरसको महामारीले उत्पन्न गरेको लकडाउनले खपत हुने पार्टी प्यालेस, स्कुल, होटल, रेस्टुरेन्ट, क्यान्टिन अनि सहरका मानिस गाउँ गएका कारण करिब ८० प्रतिशत बजार गुमेको उनको भनाइ छ ।
दाहालका अनुसार डेरी उद्योगमा ३० अर्बभन्दा बढी लगानी छ । ५ लाख कृषक परिवारको प्रत्यक्ष रोजगारी छ भने २० हजारभन्दा बढी मानिसले उद्योग क्षेत्रमा रोजगारी पाएका छन् । ५ करोडभन्दा बढी दैनिक सहरबाट रकम गाउँमा पुग्ने, ३१ लाख लिटर दूध प्रत्येक दिन बजारमा पुग्ने यो क्षेत्रको सिजन सुरु हुने समयमा यसरी अवरुद्ध हुँदा उत्पन्न हुने विकराल अवस्था आएको उनले बताए । उनले भने, ‘मुलुकको समग्र विकास र आर्थिक समृद्धिमा निजी क्षेत्र खासगरी दुग्ध क्षेत्रको अहं भूमिका छ । काठमाडौं उपत्यकामा मात्र दैनिक १ लाख लिटर दूध वितरण गर्ने दुग्ध विकास संस्थान (डीडीसी) लकडाउनमा दैनिक ७३ हजार लिटर बिक्री गर्दै छ ।
डीडीसी सरकारको पूर्ण स्वामित्वमा रहेको संस्थान हो । संस्थानका उपमहानिर्देशक राजेन्द्र अधिकारीले लकडाउनमा दुग्ध पदार्थ ढुवानीमा कुनै समस्या नरहेको बताए । उनले लकडाउनले उत्पादन नघटेको तर बजारीकरणमा समस्या रहेको बताए । उनले भने, ‘कोरोना भाइरससँग प्रतिरोधात्मक क्षमता बढाउन जति दूध र दुग्ध पदार्थ खपत हुनुपर्ने हो तर त्यस्तो हुन सकेको छैन । उपत्यकामा भएको जनसंख्याअनुसार दुग्ध जन्य वस्तुको खपत भएको अवस्था छैन ।’






