गोरखा । क्यान्सर काउन्सिल नेपाल र धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरको आयोजनामा र एभरेष्ट बैंक लिमिटेड साथै आरुघाट गाउँपालिकाको सहकार्यमा गोरखा जिल्ला आरुघाट गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालय, मान्बुमा दुई दिने एकीकृत निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरिएको छ।
उक्त शिविरमा आरुघाट गाउँपालिकाका वडा नं. १, २ र ३ का ६ सयभन्दा बढी स्थानीय बासिन्दाले स्वास्थ्य परीक्षण गराएका थिए। दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा ११० जनाको मुटुको इको परीक्षण र २५० जनाको भिडियो एक्स–रे गरिएको थियो । साथै, युरिन परीक्षण, मिर्गौला परीक्षणलगायतका सेवा निःशुल्क रूपमा प्रदान गरिनुका साथै परीक्षणका आधारमा आवश्यक औषधीसमेत निःशुल्क वितरण गरिएको थियो।
मुटु रोग विशेषज्ञ डा. सचिन लामिछानेका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूमा मुटु तथा मिर्गौलासम्बन्धी समस्या देखिने गरेको छ। उहाँले शिविरमा परीक्षणका लागि आएका धेरै व्यक्तिहरूमा उच्च रक्तचापका कारण मुटु तथा मिर्गौलाको समस्या देखिएको बताए ।
त्यस्तै, रेडियोलोजिस्ट विज्ञ डा. जी एलिनले ग्रामीण क्षेत्रमा पुगेर स्वास्थ्य परीक्षण सेवा प्रदान गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । शिविरमा सहभागी डा. गौरव पन्त, डा. लोचन श्रेष्ठ, विवेक डंगोल र ब्रिजेश यादव लगायतका स्वास्थ्यकर्मीहरूले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरमा सहभागी भई सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुटुरोग विशेषज्ञ डा. सचिन लामिछानेका अनुसार मुटुरोग पहिचानका लागि ग्रामीण स्तरबाटै अभियानका रूपमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ। उनले ग्रामीण क्षेत्रमा समयमै स्वास्थ्य परीक्षण नहुँदा मुटु तथा मिर्गौलासम्बन्धी समस्या ढिलो पहिचान हुने गरेको बताए ।
त्यस्तै, शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यक्रम संयोजक डा. गौरव पन्तले क्यान्सर काउन्सिल नेपालले यस स्वास्थ्य शिविर सञ्चालन गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा पनि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्दै यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्न तयार रहेको बताए ।











