भीमनारायण गोल्डकपः उपाधिका लागि आयोजक र बेलबारी भिड्दै

धनकुटा । शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १८ औं संस्करण अन्तरगत शनिबार फाइनल खेल हुँदैछ । शनिबार हुने फाइनल खेलमा उपाधिका लागि आयोजक शहीद भमिनारायण स्मृति प्रतिष्ठान र बेलबारी फुटबल क्लब मोरङ फाइनलमा भिड्दै छन् । खेल दिउसो ३ बजे पछि धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा हुनेछ ।

आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले बिहीबार भएको पहिलो सेमिफाइनलमा सिराहाको सलहेश फुटबल क्लबलाई १–० को गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने बेलबारी फुटबल क्लब मोरङले शुक्रबार भएको दोस्रो सेमिफाइनलमा झापाको बिर्तामोड युनाइटेड क्लबलाई ३–० गोलको अन्तरले पराजित गर्दै आयोजकसँगको फाइनल भेट पक्का गरेको हो ।

बिर्तामोड पछिल्लो समय हरेकजसो प्रतियोगितामा उपाधि कब्जा गर्दै आएको टीम भएकाले यो प्रतियोगिताको उपाधि दाबेदार मानिएको टिम थियो तर, बिर्तामोड बेलबारीसँग सेमिफाइनलमै पराजित भएको हो ।

गत आइतबारदेखि जारी प्रतियोगितामा विभिन्न ८ टीमको सहभागिता रहेको आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैया तथा ट्रफि र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन् ।

यस्तै हरेक खेलमा प्लेयर अफ द म्याच हुनेले नगद ६ हजार रुपैयाँ र प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा विधागत तर्फ उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

२०५५ सालमा स्थापित गोल्डकप २०६३ सालपछि नियमित हुँदै आएको छ । विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई २०३५ सालमा तत्कालीन सरकारले गोलीहानी हत्या गरेको थियो । सरकारले श्रेष्ठलाई २०७४ सालमा शहीद घोषणा गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड बजेट