काठमाडौं । भारतको गोवामा जारी ‘साफ महिला च्याम्पियनसिप’अन्तर्गत बुधबार (आज) हुने सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । अपराह्न ४ बजे गोवास्थित जुहारलाल नेहरू रंगशालामा हुने यो खेल नेपाली महिला फुटबल टोलीका लागि फाइनल प्रवेशको अवसरमात्र नभई पछिल्ला वर्ष भोग्नुपरेको निराशाजनक हारको बदला लिने महइभ्वपूर्ण अवसर पनि हो ।
आज नेपाल–बंगलादेश आमनेसामने हुँदै
समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले समूह ‘बी’को उपविजेता बनेको बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि, नेपाली महिला टोलीले समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै भुटानलाई १–० तथा श्रीलंकालाई २–० ले पराजित गरेको थियो । दुवै खेलमा नेपालले जित हात पारे पनि गोल गर्ने थुप्रै अवसर सदुपयोग गर्न नसक्दा टोलीको ‘फिनिसिङ’मा अझ सुधार आवश्यक देखिएको थियो । भुटानविरुद्ध नेपालले सीमित गोल गर्न सक्दा आक्रमण पंक्तिको प्रभावकारितामाथि प्रश्न उठेको थियो ।
यद्यपि, प्रशिक्षक र खेलाडी सेमिफाइनलसम्म आइपुग्दा टोलीको आत्मविश्वास उच्च रहेको बताइरहेका छन् । नेपाली टोलीले पछिल्ला केही वर्ष दक्षिण एसियाली महिला फुटबलमा निरन्तर प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आएको छ । तर, उपाधि जित्ने लक्ष्य भने अझै पूरा हुन सकेको छैन ।
‘नेपाल साफ महिला च्याम्पियनसिप’मा अहिलेसम्म ६ पटक उपविजेता बनेको इतिहास बोकेको टोली हो । तीमध्ये चारपटक नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो भने पछिल्ला दुई संस्करणमा बंगलादेशले नेपालको उपाधि सपना चकनाचुर बनायो । त्यसैले यसपटकको सेमिफाइनल नेपाली टोलीका लागि विशेष महइभ्वको खेल बनेको छ ।
पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशसँग पराजित नेपाल अब सो हारको बदला लिँदै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रने छ । नेपाली समर्थक पनि टोलीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिरहेका छन् । यस प्रतियोगितामा नेपालले आफ्नो मुख्य स्ट्राइकर तथा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी (साम्बा) को अनुपस्थितिको असर महसुस गरेको देखिएको छ । सावित्रा नेपाली महिला फुटबलकी सबैभन्दा अनुभवी र भरपर्दी गोलकर्ता मानिन्छिन् । उनको अभावमा नेपालले सिर्जना गरेका अवसर गोलमा परिणत गर्न संघर्ष गरिरहेको देखिएको छ ।
त्यस्तै, समूह चरणमा मिडफिल्डर प्रिति राईको अनुपस्थितिले पनि टोलीको खेल संयोजनमा केही समस्या देखिएको थियो । मिडफिल्ड क्षेत्रबाट आक्रमण निर्माण गर्ने क्रममा नेपालले अपेक्षित लय समात्न सकेको थिएन । तर, सेमिफाइनलमा प्रिति राई उपलब्ध हुने सम्भावना रहेकाले टोलीको सन्तुलन र रचनात्मक खेलमा सुधार आउने अपेक्षा गरिएको छ ।
बंगलादेश पनि दक्षिण एसियाली महिला फुटबलको उदाउँदो शक्तिका रूपमा स्थापित भइसकेको टोली हो । पछिल्ला वर्ष उसले निरन्तर राम्रो प्रदर्शन गर्दै आएको छ । समूह ‘बी’मा बंगलादेशले माल्दिभ्सलाई ४–२ ले पराजित गरे पनि अन्तिम खेलमा घरेलु टोली भारतसँग ३–० को हार बेहोरेको थियो । सोही नतिजापछि बंगलादेश समूह उपविजेता बन्दा भारत समूह विजेता बनेको थियो । बंगलादेशविरुद्ध नेपालको चुनौती सजिलो भने हुने छैन । पछिल्ला भेटमा बंगलादेशले नेपालमाथि मनोवैज्ञानिक दबाब कायम राखेको छ । तर, नेपाली टोलीले यसपटक नयाँ रणनीति, बलियो मनोबल र फाइनल पुग्ने दृढ संकल्पसाथ मैदान उत्रिने तयारी गरेको छ ।
प्रतियोगिताको अर्को सेमिफाइनलमा बुधबार (आज) साँझ घरेलु टोली भारतले भुटानसँग प्रतिस्पर्धा गर्ने छ । समूह ‘ए’को उपविजेता बनेको भुटानले यसपटक उल्लेखनीय प्रदर्शन गरेको छ । भुटानले श्रीलंकालाई ४–० ले हराएर आफ्नो क्षमता देखाएको थियो । यद्यपि, पाँचपटकको च्याम्पियन भारतलाई प्रतियोगिताको सबैभन्दा बलियो दाबेदार टोलीका रूपमा हेरिएको छ । भारतले समूह चरणमा माल्दिभ्सलाई ११–० को फराकिलोअन्तरले पराजित गर्नुका साथै बंगलादेशलाई पनि ३–० ले हराएको थियो । घरेलु मैदान, समर्थकको साथ र उत्कृष्ट लयका कारण भारत फाइनल पुग्ने प्रमुख दाबेदार मानिएको छ ।
अब सबैको ध्यान नेपाल र बंगलादेशबीच हुने सेमिफाइनल भिडन्तकेन्द्रित छ । नेपाली महिला फुटबल टोलीले इतिहास बदल्दै फाइनल यात्रा तय गर्छ वा बंगलादेशले फेरि एकपटक नेपालको चुनौती समाप्त पार्छ भन्ने प्रश्नको उत्तर बुधबार (आज) मैदानमै तय हुनेछ ।
सम्बन्धित समाचार
अभिक शाह र दानिसा पुरी बने जुनियर चेस च्याम्पियन
काभा महिला भलिबल : नेपाल सेमिफाइनलमा
टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो
डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
बेलबारी फुटबल क्लब भीमनारायण गोल्डकपको फाइनलमा
खेलकुद क्षेत्रमा ४ अर्ब ३ करोड बजेट
क्रिकेटर लामिछाने र ब्रिज कन्सल्टेन्सीबीच पाँच वर्षको सम्झौता
नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट






