महोत्तरीका १६ कामदार भारतमा बन्धक

तस्वीर : गोरखापत्र

महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका १६ जना नेपाली कामदार भारतको हरियाना राज्यस्थित एक कुखुरा फार्ममा बन्धक अवस्थामा रहेको जानकारी सार्वजनिक भएको छ। बन्धकमा पर्नेहरूमा १० पुरुष र ६ महिला रहेका छन्।

इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाका अनुसार बर्दिवास नगरपालिका–१४ स्थित मुसहर बस्तीका ती कामदारहरू हरियाना राज्यको जिन जिल्लाअन्तर्गत झाझर थाना क्षेत्रको हेलन गाउँमा रहेको कुखुरा फार्ममा बन्धक बनाइएका हुन्।

बन्धकमा परेकामध्ये १७ वर्षीय मुकेश सदा, १६ वर्षीय किसन सदा, १३ वर्षीय आशिक सदा, २१ वर्षीय अमृत सदा र उहाँकी पत्नी २० वर्षीया किरण सदा, ३५ वर्षीय झरी सदा र उहाँकी पत्नी ३४ वर्षीया लालमुनी सदा, छोरीहरू १६ वर्षीया काजल सदा र १३ वर्षीया साजन सदा तथा छोरा ९ वर्षीय शङ्कर सदा रहेका छन्।

त्यसैगरी ३८ वर्षीय विसुनदेव सदा, उहाँकी पत्नी ३५ वर्षीया महावती सदा, छोरा १० वर्षीय अमृत सदा, ४० वर्षीय मोहन सदा र उहाँकी पत्नी ३५ वर्षीया बेचो सदा पनि बन्धकमा परेको सूचीमा रहेका छन्।

स्थानीय बासिन्दा वीरेन्द्र सदा, कारिचरण सदा, अशोक सदा, अमरलाल सदा र मनोहर सदाले आफ्ना आफन्तहरू बन्धकमा परेको भन्दै उनीहरूको उद्धारका लागि सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरेका छन्। उनीहरूले भारतस्थित नेपाली दूतावास, नयाँ दिल्लीसँग समन्वय गरी उद्धारको व्यवस्था मिलाइदिन निवेदनसमेत दिएका छन्।

प्रहरीका अनुसार बर्दिवास नगरपालिका–३ गौरीडाँडाका दिलीप परियारले आकर्षक तलब, सेवा–सुविधा तथा हल्का कामको प्रलोभन देखाएर ती कामदारहरूलाई गत चैत १३ गते रोजगारीका लागि भारत लगेका थिए।

बन्धकमा परेकामध्ये किरण सदाले साहुको निगरानीबाट लुकेर फोनमार्फत आफूहरूलाई डरधम्की र मानसिक यातना दिइएको, ज्याला नदिइएको तथा जबर्जस्ती बन्धक बनाएर राखिएको जानकारी गराएकी छन्।

घटना’bout जानकारी प्राप्त भएपछि प्रहरी प्रशासनले सम्बन्धित निकाय तथा भारतस्थित नेपाली दूतावाससँग समन्वय गरी उद्धारका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

epaper

ताजा समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सह-सचिव थपलिया