नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?

ब्रेक्सिट जनमतसंग्रहको सफलतापछि धेरैले नाइजेल फराजको राजनीतिक भूमिका समाप्त भएको ठानेका थिए । वास्तवमा, सन् २०१६ मा बेलायतले युरोपेली संघ छोड्ने पक्षमा मतदान गरेपछि फराजले आफ्नो जीवनको सबैभन्दा ठूलो राजनीतिक लक्ष्य हासिल गरिसकेका थिए । यूकेआईपीको स्थापना नै बेलायतलाई युरोपेली संघबाट बाहिर निकाल्ने उद्देश्यले भएको थियो र त्यो उद्देश्य पूरा भएपछि पार्टीको भविष्य’bout प्रश्न उठ्न थालेका थिए । स्वयं फराजले पनि नेतृत्वबाट राजीनामा दिएर केही समय राजनीतिबाट टाढा रहने संकेत गरेका थिए । तर, बेलायती राजनीतिमा उनको प्रभाव समाप्त भएको थिएन ।

ब्रेक्सिट कार्यान्वयन प्रक्रिया अपेक्षाभन्दा लामो र जटिल बन्दै गएपछि उनी फेरि राजनीतिक केन्द्रमा फर्किए । थेरेसा मे नेतृत्वको सरकारले संसद्बाट ब्रेक्सिट सम्झौता पारित गराउन संघर्ष गरिरहेका बेला फराजले आफूलाई जनमतसंग्रहको नतिजाको ‘रक्षक’का रूपमा प्रस्तुत गरे । उनले स्थापना गरेको ब्रेक्सिट पार्टीले सन् २०१९ को युरोपेली संसद् निर्वाचनमा उल्लेखनीय सफलता हासिल ग¥यो र फेरि एकपटक बेलायती राजनीतिमा आफ्नो प्रभाव कायम रहेको प्रमाणित ग¥यो । त्यसपछि ब्रेक्सिट पार्टीलाई पुनर्गठन गरेर रिफर्म यूके बनाइयो, जसले आफूलाई केवल युरोपेली संघ विरोधी दलका रूपमा होइन, पुरानो राजनीतिक व्यवस्थाको विकल्पका रूपमा समेत प्रस्तुत गर्न थाल्यो ।

पछिल्ला केही वर्ष बेलायतको राजनीति तीव्ररूपमा परिवर्तन हुँदै गएको छ । एक समय दुई ठूला दल, लेबर र कन्जरभेटिभकेन्द्रितराजनीतिक संरचनामा अहिले मतदाताको व्यवहार परिवर्तन भएको देखिन्छ । कन्जरभेटिभ पार्टीले लामो समय सत्ता सम्हाल्दा थुप्रै विवाद, आर्थिक अस्थिरता, नेतृत्व संकट र नीतिगत असफलता सामना गर्नुप¥यो । ब्रेक्सिटपछि अर्थतन्त्रले अपेक्षित गति लिन सकेन, सार्वजनिक सेवामाथि दबाब बढ्दै गयो, स्वास्थ्य सेवा प्रणालीमा समस्या देखिन थाल्यो र आप्रवासन नियन्त्रणसम्बन्धी बाचा पनि पूर्णरूपमा कार्यान्वयन हुन सकेनन् ।

अर्कोतर्फ, लेबर पार्टीले सत्तामा फर्किएपछि जनतामा ठूलो आशा जगाए पनि तत्काल परिवर्तन ल्याउन कठिनाइ भोगिरहेको छ । यही परिस्थितिमा फराजले आफूलाई परम्परागत राजनीतिक दलबाट निराश भएका मतदाताको प्रतिनिधिका रूपमा स्थापित गर्ने प्रयास गरेका छन् । उनी बारम्बार वेस्टमिन्स्टरको राजनीतिक वर्गले आमनागरिकको भावना नबुझेको, देशको वास्तविक समस्यालाई बेवास्ता गरेको र जनतासँगको सम्बन्ध गुमाएको तर्क प्रस्तुत गर्छन् । यही सन्देशले विशेषगरी श्रमिक वर्ग, साना व्यवसायी, ग्रामीण क्षेत्रका मतदाता र स्थापित राजनीतिक दलप्रति असन्तुष्ट समूहहरूमा प्रभाव पारिरहेको देखिन्छ ।

फराजको राजनीतिक सफलताको सबैभन्दा ठूलो आधार भनेको आप्रवासनको मुद्दा हो । उनको सम्पूर्ण राजनीतिक जीवन हेर्दा आप्रवासन र सीमा नियन्त्रणजस्ता विषय सधैं केन्द्रमा देखिन्छन् । उनी लामो समयदेखि बेलायतले आफ्नो सीमामाथि पूर्ण नियन्त्रण राख्नुपर्ने, अवैध आप्रवासनलाई रोक्नुपर्ने र राष्ट्रिय पहिचानको संरक्षण गर्नुपर्ने तर्क गर्दै आएका छन् ।

पछिल्ला वर्ष इंग्लिस च्यानल पार गरेर साना डुंगामार्फत बेलायत प्रवेश गर्ने शरणार्थी र आप्रवासी संख्या बढ्दै जाँदा यो विषय राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुगेको छ । फराजले यसलाई सरकारको असफलताको प्रतीकका रूपमा प्रस्तुत गरेका छन् । उनका समर्थकका अनुसार मुख्यधारका दलले वर्षौंसम्म यो विषयमा जनताको चिन्तालाई बेवास्ता गरे, जसका कारण रिफर्म यूकेजस्ता दलहरूको लोकप्रियता बढेको हो । तर आलोचक भने फराजमाथि सामाजिक तनाव र विभाजनलाई राजनीतिक फाइदाका लागि प्रयोग गरेको आरोप लगाउँछन् । उनीहरूका अनुसार आप्रवासनसम्बन्धी उनका कतिपय अभिव्यक्तिहरूले बहुसांस्कृतिक समाजमा अविश्वास बढाउन सक्छन् । यही कारण फराज बेलायती राजनीतिका सबैभन्दा प्रभावशालीमात्र होइन, सबैभन्दा विवादास्पद व्यक्तित्वमध्ये पनि एक बनेका छन् ।

नाइजेल फराजको अर्को विशेषता आधुनिक सञ्चार प्रविधि प्रभावकारी प्रयोग हो । परम्परागत राजनीतिज्ञ टेलिभिजन अन्तर्वार्ता, समाचारपत्र र पार्टी संरचनामा निर्भर रहँदा फराजले सामाजिक सञ्जाललाई आफ्नो प्रमुख राजनीतिक हतियार बनाएका छन् । युट्युब, फेसबुक, एक्स तथा वैकल्पिक अनलाइन प्लेटफर्ममा उनका भिडियो, भाषण र अन्तर्वार्ता नियमितरूपमा लाखौं मानिससम्म पुगिरहेका छन् । उनी प्रत्यक्ष प्रसारणमार्फत समर्थकसँग संवाद गर्छन् र आफूलाई ‘मुख्यधारका सञ्चारमाध्यमले उचित व्यवहार नगरेको’ दाबी गर्दै वैकल्पिक सञ्चारमाध्यमको प्रयोगलाई प्राथमिकता दिन्छन् । यो रणनीतिले विशेषगरी युवा पुरुष मतदाता, राजनीतिक व्यवस्थाप्रति असन्तुष्ट समूह र परम्परागत सञ्चारमाध्यमप्रति अविश्वास राख्ने समुदायमा उनको प्रभाव विस्तार गर्न मद्दत गरेको छ । अमेरिकी राजनीतिमा डोनाल्ड ट्रम्पले प्रयोग गरेको शैलीसँग यसको समानता देखिने भएकाले धेरै विश्लेषक फराजलाई बेलायती राजनीतिको ‘पपुलिस्ट’ आन्दोलनको प्रमुख अनुहारका रूपमा वर्णन गर्छन् ।

यद्यपि, लोकप्रियता र प्रधानमन्त्री बन्ने सम्भावना एउटै कुरा होइन । बेलायतको निर्वाचन प्रणालीले साना दलका लागि अतिरिक्त चुनौती उत्पन्न गर्छ । ‘फस्र्ट पास्ट द पोस्ट’ प्रणालीअन्तर्गत राष्ट्रियरूपमा ठूलो मत प्राप्त गर्दा पनि त्यसलाई संसदीय सिटमा रूपान्तरण गर्न कठिन हुन सक्छ । रिफर्म यूकेको सबैभन्दा ठूलो चुनौती यही हो । यदि पार्टीको समर्थन देशभरि समानरूपमा फैलिएको छ भने उसले लाखौं मत पाए पनि सीमित सिट जित्न सक्छ । तर, यदि केही विशेष क्षेत्रमा समर्थनकेन्द्रित भयो भने परिणाम नाटकीयरूपमा फरक हुन सक्छ । हालका स्थानीय निर्वाचन, उपनिर्वाचन र मत सर्वेक्षणले रिफर्म यूकेको समर्थन विरोधको मतमै सीमित नरहेको संकेत दिएका छन् । पार्टीले स्थानीय तहमा संगठन विस्तार गरिरहेको छ र दीर्घकालीन राजनीतिक शक्ति बन्ने प्रयास गरिरहेको छ । यही कारण केही
विश्लेषकले अब रिफर्म यूकेलाई दबाब समूह वा विरोधको आवाजका रूपमा मात्रै हेर्न छोडेका छन् ।

फराजको भविष्य धेरै हदसम्म कन्जरभेटिभ पार्टीसँग पनि जोडिएको छ । यदि कन्जरभेटिभ पार्टीले आफ्नो आधारभूत मतदाता पुनः एकीकृत गर्न सफल भयो भने रिफर्म यूकेको विस्तार सीमित हुन सक्छ । तर, यदि दक्षिणपन्थी मत लगातार विभाजित हुँदै गयो भने बेलायतको राजनीतिक नक्सामा ऐतिहासिक परिवर्तन आउन सक्छ । कतिपय राजनीतिक टिप्पणीकारले भविष्यमा कन्जरभेटिभ र रिफर्म यूकेबीच कुनै न कुनै प्रकारको सहकार्य, गठबन्धन वा पुनर्संरचनाको सम्भावना पनि अस्वीकार गर्दैनन् । अहिले त्यो सम्भावना टाढाको विषयजस्तो देखिए पनि बेलायती राजनीतिमा विगतमा असम्भव ठानिएका धेरै घटना सम्भव भएका उदाहरण छन् । एक समय ब्रेक्सिटलाई पनि धेरैले राजनीतिक नारामात्र ठानेका थिए ।

त्यसैले आजको सबैभन्दा रोचक प्रश्न ‘फराज प्रधानमन्त्री बन्छन् कि बन्दैनन् ?’ भन्नेमात्र होइन । अझ महत्वपूर्ण प्रश्न ‘उनी बेलायतको राजनीतिक बहसलाई कति लामो समयसम्म आफ्नो वरिपरि केन्द्रित राख्न सक्छन् ?’ भन्ने हो । इतिहास हेर्दा केही राजनीतिज्ञ पदभन्दा प्रभावका कारण स्मरणीय बनेका छन् । इनोक पावेलले प्रधानमन्त्री नबने पनि आप्रवासन’bout राष्ट्रिय बहसको दिशा बदले । टोनी बेनले सत्ता सम्हाल्न नसके पनि लेबर पार्टीको वैचारिक चरित्रमा गहिरो प्रभाव छोडे । एलेक्स स्याल्मन्डले स्वतन्त्र स्कटल्यान्डको बहसलाई मुख्यधारमा ल्याए । नाइजेल फराज पनि सम्भवतः त्यही परम्पराका राजनीतिज्ञ हुन्, जसको प्रभाव चुनावी परिणामभन्दा धेरै टाढासम्म फैलिएको छ । उनी ‘प्रधानमन्त्री बन्न सक्छन् वा सक्दैनन् ?’ त्यो भविष्यले निर्धारण गर्नेछ । तर, एउटा कुरा के स्पष्ट छ भने बेलायतको राजनीति, आप्रवासन बहस, राष्ट्रिय पहिचानसम्बन्धी विमर्श र परम्परागत राजनीतिक दलप्रतिको जनधारणा परिवर्तन गर्न उनले खेलेको भूमिका आगामी धेरै वर्षसम्म अध्ययन र बहसको विषय बनिरहनेछ ।

फराजको राजनीतिक यात्रालाई अझ गहिरोरूपमा हेर्ने हो भने उनको सफलता कुनै एक मुद्दा वा कुनै एक चुनावी अभियानको परिणाममात्र होइन । वास्तवमा उनले बेलायतमा लामो समयदेखि जमेर बसेको एउटा राजनीतिक असन्तुष्टिलाई अभिव्यक्ति दिएका छन् । सन् १९९० को दशकदेखि नै बेलायतमा विश्वव्यापीकरण, युरोपेली एकीकरण, आप्रवासन, उद्योग पतन र क्षेत्रीय असमानताका विषयमा बहस चल्दै आएका थिए । लन्डन र दक्षिणपूर्वी इंग्ल्यान्डले आर्थिकरूपमा उल्लेखनीय प्रगति गरिरहँदा देशका अन्य धेरै भागले आफूलाई पछाडि परेको महसुस गरिरहेका थिए । औद्योगिक सहरमा रोजगारीका अवसर घटिरहेका थिए, स्थानीय पहिचान कमजोर बन्दै गएको अनुभव धेरै समुदायमा थियो र राजनीतिक निर्णय जनताभन्दा टाढा बसेका व्यक्तिले गरिरहेका छन् भन्ने भावना बलियो बन्दै गएको थियो । फराज यही मनोविज्ञान बुझ्न सफल भए । उनको राजनीतिक शक्ति कुनै जटिल वैचारिक दस्तावेजमा होइन, बरु सरल र भावनात्मक सन्देशमा आधारित छ ।

‘देशको नियन्त्रण फिर्ता ल्याऔं’, ‘सीमा सुरक्षित गरौं’, ‘राजनीतिक वर्गलाई चुनौती दिऔं’जस्ता नाराले जटिल राजनीतिक बहसभन्दा धेरै प्रभाव पार्छन् । यही कारण धेरै विश्लेषक फराजलाई ‘आधुनिक पपुलिस्ट राजनीतिका सबैभन्दा सफल रणनीतिकार’मध्ये एक ठान्छन् । उनी प्रायः आफूलाई व्यवस्थाविरुद्धको उम्मेदवारका रूपमा प्रस्तुत गर्छन्, जबकि वास्तविकतामा उनी तीन दशकभन्दा बढी समयदेखि राष्ट्रिय राजनीतिमा सक्रिय छन् । तर, उनका समर्थकका लागि यो विरोधाभास होइन, ’cause उनीहरू फराजलाई राजनीतिक व्यवस्थाको हिस्सा होइन, त्यस व्यवस्थाको आलोचकका रूपमा हेर्छन् ।

बेलायतको बदलिँदो जनसांख्यिक संरचनाले पनि फराजको राजनीतिलाई असर गरेको छ । पछिल्ला दुई दशकमा बेलायत झन् विविधतापूर्ण समाज बनेको छ । ठूलो मात्रामा भएको आप्रवासनले अर्थतन्त्रलाई फाइदा पु¥याएको तर्क एकातिर छ भने अर्कोतर्फ सामाजिक सेवा, आवास, विद्यालय र स्वास्थ्य सेवामाथि दबाब बढेको अनुभूति पनि धेरै समुदायमा छ । फराजले यही विषयलाई निरन्तर उठाइरहेका छन् ।
उनका समर्थक भन्छन्, ‘उनले अरू नेताले बोल्न नचाहेका विषय उठाएका छन् ।’ आलोचक भने उनी ‘जटिल सामाजिक र आर्थिक समस्याको अत्यन्त सरल समाधान प्रस्तुत गर्छन्’ भन्ने आरोप लगाउँछन् । तर, राजनीतिमा सधैं तथ्यांकले मात्र काम गर्दैन, जनताको अनुभूति र धारणा पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । फराजले यही मनोविज्ञान राम्रोसँग प्रयोग गरेका छन् ।

यसबीच बेलायतको अर्थतन्त्र पनि संक्रमणको चरणमा छ । ब्रेक्सिटपछि व्यापारिक सम्बन्ध पुनर्संरचना गर्नुपर्ने अवस्था आयो । ऊर्जा संकट, मुद्रास्फीति, बढ्दो जीवनयापन खर्च र सार्वजनिक सेवामा देखिएका समस्याले मतदातालाई निराश बनाएको छ । यस्ता परिस्थितिमा परम्परागत दल सत्तामा भए उनीहरूलाई दोष लाग्ने सम्भावना बढी हुन्छ । रिफर्म यूकेले यही असन्तुष्टिलाई आफ्नो राजनीतिक अवसरका रूपमा हेरेको छ । पार्टीले कर कटौती, सरकारी खर्चमा सुधार, नियमन घटाउने, ऊर्जा क्षेत्रमा नयाँ नीति ल्याउने तथा प्रशासनिक संरचनामा परिवर्तनजस्ता प्रस्ताव अगाडि सारेको छ । यद्यपि, कतिपय अर्थशास्त्री ती योजनाको व्यवहारिकता र वित्तीय स्रोत’bout प्रश्न उठाउने गर्छन् ।

फराजको व्यक्तित्व पनि उनको सफलताको महत्वपूर्ण पक्ष हो । बेलायती राजनीतिमा धेरै नेता अत्यन्त सावधानीपूर्वक बोल्ने गर्छन् । उनीहरू कुनै विवाद उत्पन्न नहोस् भनेर शब्द चयनमा सतर्क हुन्छन् । फराज भने फरक शैलीका राजनीतिज्ञ हुन् । उनी कहिलेकाहीँ विवादित हुने जोखिम उठाएर पनि आफ्ना विचार स्पष्टरूपमा राख्छन् । समर्थकका लागि यो इमानदारीको प्रतीक हो भने आलोचकका लागि गैरजिम्मेवार अभिव्यक्ति । तर, दुवै पक्ष एउटा कुरामा सहमत छज्, उनी बेवास्ता गर्न नसकिने राजनीतिज्ञ हुन् । उनको प्रभाव चुनावी राजनीतिमै सीमित छैन ।
बेलायतका प्रमुख दल पनि धेरै अवस्थामा फराजले उठाएका मुद्दालाई आफ्नो एजेन्डामा समावेश गर्न बाध्य भएका छन् । कन्जरभेटिभ पार्टीले आप्रवासनसम्बन्धी नीति कडा बनाउनुमा, ब्रेक्सिट’bout कठोर धारणा लिनुमा र राष्ट्रिय सार्वभौमिकताको विषयलाई प्राथमिकता दिनुमा फराजको अप्रत्यक्ष प्रभाव देखिन्छ ।

त्यस्तै, लेबर पार्टीले समेत ‘श्रमिक वर्गका मतदाता किन परम्परागत राजनीतिको विकल्प खोजिरहेका छन् ?’ भन्ने प्रश्नलाई गम्भीररूपमा लिन थालेको छ । यस अर्थमा फराजको प्रभाव उनले जितेका निर्वाचन क्षेत्रको संख्याभन्दा धेरै ठूलो छ । रिफर्म यूकेको अर्को चुनौती दीर्घकालीन पार्टी संरचना निर्माण गर्नु हो ।

बेलायतमा लोकप्रिय नेता भएरमात्र पर्याप्त हुँदैन । स्थानीय संगठन, अनुभवी उम्मेदवार, आर्थिक स्रोत, नीति निर्माण क्षमता र प्रशासनिक विश्वसनीयता पनि आवश्यक पर्छ । विगतमा धेरै साना दल लोकप्रियताको लहरमा माथि उठे तर संस्थागत संरचना कमजोर हुँदा विस्तारै हराए । रिफर्म यूकेले अहिले यही परीक्षा सामना गरिरहेको छ । यदि पार्टीले स्थानीय तहदेखि राष्ट्रिय तहसम्म बलियो संरचना बनाउन सक्यो भने आगामी दशकमा बेलायतको राजनीतिक शक्ति सन्तुलन परिवर्तन हुन सक्छ । यदि त्यसो हुन सकेन भने यसको लोकप्रियता पनि अस्थायी साबित हुन सक्छ ।
(लेखकको यो निजी विचार हो)

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

लेटाङमा १२ वर्षीया छोरी करणी गरेको अभियोगमा बुबा पक्राउ