कीर्तिपुर । पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ । हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन् । यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।
रोग नियन्त्रणमा खटिएको पशुसेवा विभागको टोलीले दिएको जानकारीअनुसार प्रभावित १० जिल्लामा ७२ फार्मका लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा नष्ट गरिएका छन् । सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ले कुखुरासँगै १० लाख ९०० अण्डा र दुई लाख पाँच हजार किलो कुखुराको दाना पनि नष्ट गरेको पशुसेवा विभागका वरिष्ठ पशुचिकित्सक डा नवराज श्रेष्ठले जानकारी दिए ।
पीडित किसानलाई ४२ करोड राहत
सरकारले बर्डफ्लुका कारण कुखुरा तथा अन्य उत्पादन गुमाउन बाध्य किसानलाई करिब ४२ करोड राहत दिने भएको छ । वरिष्ठ पशुचिकित्सक डा श्रेष्ठका अनुसार रोग पुष्टि भई कुखुरा, अन्डा तथा दाना नष्ट गर्न बाध्य भएकाले ती किसानलाई उक्त राहत दिन लागिएको हो ।
बर्डफ्लु नियन्त्रण नियमावली २०७८ अनुसार यसरी पक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशत राहत दिने व्यवस्था गरिएको छ । यसबाहेक प्रभावित क्षेत्रको सम्पूर्ण पक्षीजन्य उत्पादन नष्ट भएको करिब दुई महिनापछि मात्रै व्यवसाय पुनःसुरु गर्न पाउने व्यवस्थाले किसानले थप क्षति व्यहोर्नुपर्ने हुन्छ ।
पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार द्रुत कार्य टोलीले तोकिएको ढाँचामा सङ्कलन गरेको क्षति विवरणका आधारमा किसानलाई दिनुपर्ने रकम निर्धारण गरिन्छ । विवरणमा टोली र किसानको हस्ताक्षर हुन्छ । लागत मूल्य जिल्लाअनुसार फरक पर्नसक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको जानकारी महानिर्देशक डा दाहालले बताए ।
केही महिनायता काठमाडौं उपत्यकासहित १० जिल्ला बर्डफ्लुबाट प्रभावित छन् । महानिर्देशक डा दाहालका अनुसार केही साताअघि झापा, मोरङ र सुनसरी जिल्लामा देखिएको बर्डफ्लु पछि महोत्तरी, बारा, चितवन हुँदै पछि पछिल्लो समय काठमाडौं उपत्यकामा देखिएको हो ।
वरिष्ठ पशुचिकित्सक डा श्रेष्ठले यसको उपचार नभएकाले र प्रभावित ठाउँका पक्षीलाई नष्ट गर्नु तथा रोग देखिनासाथ जतिसक्दो छिटो नियन्त्रण गरेर फैलन नदिनु रोकथामको एउटा मात्र उपाय हो । प्रभावित क्षेत्रका पक्षी, अण्डा र दाना नष्ट गर्नुको कुनै विकल्प नभएको उनको भनाइ छ ।
उक्त कार्यका लागि पशु चिकित्सक निरन्तर खटिएका छन् । पछिल्लो समय काठमाडौं उपत्यका बर्डफ्लुुको ‘हटस्पट’को रुपमा देखापरेको छ । चितवन तथा मुलकका अन्य भागमा उक्त रोग नियन्त्रणमा आइसकेको उनले बताए ।
सम्बन्धित समाचार
समयसीमाभित्रै महाधिवेशन हुन्छ : महामन्त्री घिमिरे
अझै पनि ऊर्जाको स्रोतमा दाउराको प्रयोग
‘मातृभूमिको माया विदेशमा रहनेलाई थाहा हुन्छ’
डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
प्रधानमन्त्री जनताप्रति उत्तरदायी र जिम्मेवारी नभएको कांग्रेसको निष्कर्ष
हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा
आश्रममा ‘मेरो आफ्नै संसार’ सार्वजनिक
थाइल्यान्डमा गिरफ्तार तुलसालाई मध्यराति काठमाडौं ल्याइयो






