कपिलवस्तु । स्वास्थ्य सेवा अझै पनि ग्रामीण नेपालका लागि सहज पहुँचको विषय बनेको छैन । मुटु, मिर्गौला वा अन्य जटिल रोगको शंका लाग्दा अधिकांश नागरिकको पहिलो सोच हुन्छ ‘अब शहर जानै पर्छ ।’ दूरी, खर्च र समय—यी तीनवटै बाधाबीच धेरैले उपचार ढिलो गर्छन्, कतिपयले त रोगलाई नियतिका रूपमा स्वीकार्न बाध्य हुन्छन् ।
तर, कपिलवस्तुको बहादुरगञ्जस्थित शिवराज अस्पतालमा आयोजित दुई दिने निःशुल्क बहुविशेषज्ञ स्वास्थ्य शिविरले यही सोचलाई केही समयका लागि भए पनि उल्ट्याइदियो । यहाँ बिरामी शहर पुगेनन्, शहरका विशेषज्ञ चिकित्सकहरू नै गाउँ पुगे ।
कृष्णनगर नगरपालिकाको समन्वयमा सेभ द हार्ट, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (महाराजगञ्ज) को मिर्गौला रोग विभाग, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा प्रत्यारोपण केन्द्र तथा देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटको सहकार्यमा सञ्चालन गरिएको यस शिविरले दुई दिनमै ३ हजार ७ सय ८५ जना बिरामीलाई सेवा प्रदान ग¥यो ।
यो केवल संख्या होइन, यी प्रत्येक संख्या पछाडि एउटा कथा छ । कसैको वर्षौंदेखिको मुटु दुखाइ, कसैको मिर्गौला समस्याको चिन्ता, कसैको मानसिक स्वास्थ्यसँगको संघर्ष त कसैको जोर्नी दुखाइले थलिएको दैनिकी ।
शिविर स्थलमा बिहानैदेखि भीड देखिन्थ्यो । वृद्धहरू, महिला, युवा—सबैको एउटै उद्देश्य थियो, स्वास्थ्य जाँच गराउनु । कतिपयले पहिलोपटक ‘विशेषज्ञ चिकित्सक’ सँग प्रत्यक्ष भेट गरेका थिए । उनीहरूका आँखामा झल्किएको विश्वास र आशा आफैंमा यो कार्यक्रमको सफलता बोलिरहेको थियो ।
शिविरमा मुटुरोगसम्बन्धी १ हजार ६ सय ५ जना, मिर्गौला रोगसम्बन्धी ४ सय ८ जना, स्त्री तथा प्रसूति रोगसम्बन्धी ४ सय ६ जना, मानसिक स्वास्थ्यसम्बन्धी २ सय १६ जना, हाडजोर्नी तथा नसा रोगसम्बन्धी ८ सय ३० जना तथा नाक–कान–घाँटी (ईएनटी) सम्बन्धी ३ सय २० जनाले सेवा प्राप्त गरेको तथ्यांक प्राप्त भएको छ ।
यससँगै, ५ सय ९१ जनाको ईसीजी, ३ सय ८१ जनाको इको, ३ सय ६६ जनाको एक्स–रे, ७ सय ६३ जनाको प्रयोगशाला परीक्षण तथा ४ सय २३ जनाको अल्ट्रासाउण्ड सेवा प्रदान गरिएको थियो । ग्रामीण स्तरमै यति व्यापक परीक्षण सेवा उपलब्ध हुनु आफैंमा उल्लेखनीय उपलब्धी भएको बताइन्छ ।
यो शिविरमा कृष्णनगर मात्र होइन, विजयनगर गाउँपालिका, शिवराज नगरपालिका तथा महाराजगञ्ज नगरपालिकाका नागरिकसमेत सहभागी भएका थिए । टाढाबाट आएका बिरामीहरूका लागि यो सेवा केवल सुविधा मात्र होइन—आर्थिक राहत पनि थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विशेषज्ञ सेवा घरदैलोमै पु¥याउने उद्देश्य पूरा गरेको बताए । ‘आर्थिक रूपमा कमजोर र उपचारको पहुँचभन्दा बाहिर रहेका नागरिकलाई लक्षित गरी यस्तो शिविर सञ्चालन गरिएको हो,’ उनले भने, ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’
प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले हजारौं नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको उल्लेख गर्दै स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यले कार्यक्रम सफल भएको बताए । कार्यक्रमका सम्पर्क व्यक्ति डा. दुर्गेश चौधरीका अनुसार शिविरमा अपेक्षाभन्दा बढी सहभागिता देखिएको थियो । ‘हामीले सोचेभन्दा धेरै बिरामी आए । जटिल प्रकृतिका बिरामीहरूको पहिचान गरी थप उपचारका लागि रेफर व्यवस्थासमेत गरिएको छ,’ उनले भने । उनका अनुसार यस्ता शिविरहरूले तत्काल उपचार मात्र होइन, दीर्घकालीन रूपमा स्वास्थ्य सचेतना बढाउने र समयमै रोग पहिचान गर्न सहयोग पु¥याउने भूमिका खेल्छन् ।
आयोजकका अनुसार आर्थिक अभाव र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरले हजारौं नागरिकलाई प्रत्यक्ष राहत दिएको छ ।
तर, यस शिविरले केवल सेवा मात्र दिएको छैन— यसले एउटा महत्वपूर्ण सन्देश पनि दिएको छ । स्वास्थ्य सेवा यदि गाउँमै पुग्यो भने, नागरिकको जीवनस्तरमा कस्तो परिवर्तन आउन सक्छ भन्ने स्पष्ट देखिएको छ ।
गाउँमा विशेषज्ञ सेवा पुग्नु भनेको केवल उपचार उपलब्ध हुनु मात्र होइन, यो विश्वासको पुनस्र्थापना हो । जब नागरिकले आफ्नै नजिकै गुणस्तरीय सेवा पाउँछन्, उनीहरूमा स्वास्थ्यप्रति सचेतना बढ्छ, समयमै उपचार खोज्ने बानी विकास हुन्छ र दीर्घकालीन रूपमा समाज नै स्वस्थ बन्ने सम्भावना बढ्छ ।
सम्बन्धित समाचार
गर्मी बढेपछि कोहलपुरका विद्यालय तीन दिन बन्द
रि–टोटलिङपछि थप तीन जना विद्यार्थीको चार जीपीए
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह
रास्वपा लुम्बिनीको नयाँ कार्यसमिति चयन, सभापतिमा घिमिरे निर्वाचित





