केप भार्डे, जसले विश्व चकित बनायो

काठमाडौं । अमेरीकी राज्य जर्जियाको राजधानी टलान्टाको विशाल रंगशालामा सोमबार राति खेलिएको त्यो खेल ९० मिनेटको फुटबलमात्रै थिएन । त्यो एउटा यस्तो कथा थियो, जसले शक्ति, इतिहास, अपेक्षा र सम्भावनाबीचको सीमा पुनर्लेखन ग¥यो । ६७ हजार दर्शक अट्ने रंगशालामा जब खेल सुरु भयो, वातावरणमा स्पष्ट अनुमान थियो, ‘युरोपेली च्याम्पियन स्पेनले बल आफ्नो नियन्त्रणमा राख्ने छ, लगातार दबाब दिनेछ र सहजै जित निकाल्नेछ ।’ तर, खेल अघि बढ्दै जाँदा यो अनुमान बिस्तारै कमजोर हुँदै गयो र अन्त्यमा ०–० को स्कोरले सबै पूर्वधारणा नै उल्ट्याइदियो ।

यो नतिजा केप भार्डेजस्तो सानो अफ्रिकी राष्ट्र, जो पहिलोपटक विश्वकप खेलिरहेको छ । जनसंख्या र भौगोलिक आकारका हिसाबले संसारकै सानो राष्ट्रमध्ये पर्ने यो टोलीले विश्व फुटबलको शक्तिशाली मानिने स्पेनलाई रोक्दै इतिहास रचेको छ । यो खेलले बराबरीसँगै ‘फुटबलमा नाम होइन, प्रदर्शन निर्णायक हुन्छ’ भन्ने साबित ग¥यो ।

खेल सुरुवातदेखि नै स्पेनले आफ्नो परिचित शैलीमा बल नियन्त्रणमा राख्यो । छोटा पास, निरन्तर मूभमेन्ट र ‘पोजिसनल प्ले’मार्फत उसले केप भार्डेको रक्षात्मक लाइन तोड्ने प्रयास ग¥यो । केप भार्डेको रणनीति स्पष्ट थियो, ‘स्पेस बन्द गर्ने, पासिङ लेन काट्ने र स्पेनलाई बाहिरी क्षेत्रमै सीमित गर्ने ।’ उसले मैदान साँघुरो बनाएर स्पेनको आक्रमणलाई बीचको खतरनाक क्षेत्रसम्म पुग्नै दिएन । प्रत्येक डिफेन्डर आफ्नो भूमिकामा पूर्णकेन्द्रित थिए र प्रत्येक चुनौती समयमै रोक्न सफल भए ।

यस योजनाको केन्द्रमा थिए– ४० वर्र्षीय गोलरक्षक भोजिन्हा । उमेरले उनी ‘करियर’को अन्त्यतर्फ हुनुपर्ने हो, तर यो खेलमा उनी अनुभव र संयमको जीवित उदाहरण बनेका छन् । स्पेनको लगातार शट उनले सहजरूपमा सम्हाले । जोखिमपूर्ण ‘डाइभ’ गर्दै बल टाढासम्म फाले त कहिले शरीरलाई ढाल बनाएर गोल रोक्ने काम गरे । प्रत्येक ‘सेभ’सँगै केप भार्डेको आत्मविश्वास अझ बलियो हुँदै गयो र स्पेनको निराशा क्रमशः बढ्दै गयो । भोजिन्हा गोलरक्षकमात्र थिएनन्, उनले टोलीलाई मानसिकरूपमा पनि जीवित राखिरहे ।

स्पेनतर्फ भने फरक दृश्य थियो । उनीहरू मैदानमा बल त राखिरहेका थिए, तर त्यसलाई प्रभावकारी आक्रमणमा बदल्न सकिरहेका थिएनन् । त्यसको एउटा प्रमुख कारण थियो– प्रमुख आक्रमणकारीको अनुपस्थिति । लामिन यमल, निको विलियम्स र डानी ओल्मो चोटका कारण टोलीमा थिएनन्, जसले स्पेनको विंग आक्रमण र सिर्जनात्मक खेलमा खालीपन छोडेको थियो । विंगबाट आउने तीव्रता र अन्तिम पासको धार कमजोर हुँदा स्पेनको खेल ढिलो र अनुमानयोग्य बन्दै गयो । पेनाल्टी एरियाआसपास उनीहरूले केही अवसर त बनाए, तर अन्तिम क्षणमा ‘शट’ ब्लक भए या गलत दिशामा गए ।

खेल मध्यभागतिर पुग्दा स्पेनले अझै पनि दबाब कायम राख्ने प्रयास गरिरह्यो । उनीहरूले लगातार पासिङमार्फत केप भार्डेको डिफेन्सलाई तान्ने प्रयास गरे, तर त्यो डिफेन्स अनुशासनमा बाँधियो । केप भार्डेका खेलाडी एकअर्कासँग निरन्तर संवादमा थिए, कहिले लाइन माथि सार्थे त कहिले तुरुन्तै पछाडि फर्किन्थे । उनीहरूको संरचना कहिल्यै भत्किएन । यही स्थिरताले स्पेनलाई झनै असहज बनायो ।

जति समय बित्दै गयो, खेलको स्वरूप अझ स्पष्ट हुँदै गयो । स्पेनले बल नियन्त्रणमा राखे पनि खेल नियन्त्रण केप भार्डेको पक्षमा सर्दै गयो । प्रत्येक सफल ट्याकल, प्रत्येक क्लियरन्स र प्रत्येक सेभपछि मैदानमा एउटा नयाँ ऊर्जा पैदा भयो । केप भार्डेका खेलाडीका लागि यो रक्षात्मक खेलसँगै अस्तित्व प्रमाणित गर्ने अवसर पनि थियो । अन्तिम मिनेटमा स्पेनले सबै शक्ति आक्रमणमा लगायो । लामो क्रस, डिफेन्स तोड्ने पास र सेटपिसमार्फत उनीहरूले अन्तिम प्रयास गरे, तर केप भार्डेको रक्षात्मक पर्खाल भत्किएन । भोजिन्हाको अन्तिम केही सेभले खेललाई पूर्णरूपमा स्पेनको हातबाट टाढा राखे । जब रेफ्रीले अन्तिम सिट्टी बजाए, स्पेनका खेलाडी स्तब्ध देखिन्थे । उनीहरूले हार त बेहोरेका थिएनन्, तर जित नपाउनु नै उनीहरूका लागि ठूलो असफलताजस्तै थियो । उनीहरूको अपेक्षा, प्रतिष्ठा र बलियो ‘स्क्वाड’बीचको अन्तर ०–० ले उजागर गरिदियो ।

अर्कोतर्फ, केप भार्डेका लागि त्यो क्षण ऐतिहासिक थियो । उनीहरू मैदानमा थकित देखिए पनि दंग थिए ।

यो खेलले फेरि एकपटक फुटबलको वा स्तविक सौन्दर्य देखायो, जहाँ नाम, इतिहास र प्रतिष्ठाभन्दा पनि नब्बे मिनेटको मेहनत निर्णायक हुन्छ । केप भार्डेको यस प्रदर्शनले ‘ठूलो सपना देख्न कुनै सीमा हुँदैन र मैदानमा सबै कुरा सम्भव छ’ भन्ने साना राष्ट्रका लागि प्रेरणादायी सन्देशसमेत बनेको छ ।

‘भाइरल’ भोजिन्हा
स्पेनविरुद्धको खेलपछि विश्व चर्चामा आएका केप भर्डे का ४० वर्षीय गोलरक्षक भोजिन्हाको कथा मैदानभित्रै सीमित छैन । उनको जीवनशैली, सोच र लामो यात्रासँग जोडिएको छ । उनी आधुनिक फुटबलका ती दुर्लभ खेलाडीमध्ये पर्छन्, जसले चमक–दमकभन्दा बढी शान्त, सरल र अनुशासित जीवन रोजेका छन् ।

धेरैजसो स्टार खेलाडीको जस्तो लगातार मिडिया उपस्थिति वा ठूलो प्रचार उनको जीवनमा देखिँदैन । उनी लामो समयदेखि ‘लो–प्रोफाइल’ रहेर खेलमा केन्द्रित रहँदै आएका छन् । भोजिन्हाको व्यक्तिगत जीवन’bout सार्वजनिकरूपमा धेरै विस्तृत विवरण उपलब्ध छैनन् । त्यसो त, उनी आफैं पनि आफ्नो परिवार र निजी कुरा बाहिर ल्याउन रुचाउँदैनन् । उनी प्रायः फुटबललाई मात्र आफ्नो प्राथमिकता बनाउने स्वभावका रूपमा चिनिन्छन् । नजिकका स्रोतका अनुसार उनी साधारण जीवनशैली मन पराउँछन् ।

अत्यधिक विलासिता होइन, नियमित अभ्यास, फिटनेस र मानसिक सन्तुलनमा बढी ध्यान दिने स्वभावका छन्, भोजिन्हा । फुटबल ‘करियर’को लामो यात्रामा उनले विभिन्न देश र क्लबमा खेल्दै अनुभव बटुलेका छन् । यही यात्राले उनलाई प्राविधिकरूपमा मात्रै होइन, मानसिकरूपमा समेत परिपक्व बनाएको छ । ४० वर्षको उमेरमा पनि मैदानमा उनी जुन आत्मविश्वास र शान्त स्वभावका साथ उभिन्छन्, ‘त्यो कुनै एक–दुई वर्षको मेहनतको परिणाम होइन’ भन्ने प्रस्ट हुन्छ । दशकौंको संघर्ष, असफलता र पुनरागमन उनीसँग जोडिएको छ ।

स्पेनविरुद्धको खेलमा देखिएको भोजिन्हाको प्रदर्शन पनि यही जीवनदर्शनको प्रतिबिम्ब हो । ठूलो भीड, बलियो प्रतिद्वन्द्वी र उच्च दबाबबीच पनि उनी विचलित देखिएनन् । कुनै हतारो छैन, कुनै आक्रोश छैन । खेल पढ्ने, सही निर्णय लिने र टिमलाई स्थिर राख्ने उनको क्षमता प्रशंसायोग्य छ । यस्तो शान्त स्वभाव प्रायः त्यस्ता खेलाडीमा देखिन्छ, जसले व्यक्तिगत जीवनमा पनि सन्तुलन कायम गर्न सिकेका हुन्छन् ।

उमेर बढ्दै जाँदासमेत उनले आफ्नो दिनचर्या अझ अनुशासित बनाउँदै गएका छन् । अभ्यास, आराम, पोषण र मानसिक तयारीलाई बराबरी महत्व दिने दृष्टिकोणले नै उनलाई यो उमेरमा पनि शीर्षस्तरमा टिकाइरहेको छ । उनी युवापुस्ताका लागि ‘प्रेरणा’भन्दा पनि ‘स्थायित्वको उदाहरण’ लाग्छन् । ‘कसरी लामो समयसम्म शीर्षस्तरमा टिक्न सकिन्छ ?’ भन्ने उनी जीवित प्रमाण बनेका छन् ।

भोजिन्हाको जीवनको सबैभन्दा रोचक पक्ष भनेको प्रसिद्धिबाट टाढा रहँदा पनि मैदानमा भने उनी पूर्णरूपमा केन्द्रित र प्रभावशाली देखिनु हो । धेरै खेलाडीका लागि प्रसिद्धि दबाब बन्छ, तर उनका लागि फुटबल नै सबैभन्दा ठूलो प्राथमिकता हो ।

स्पेनविरुद्धको खेल एकरातको नतिजामात्रै होइन, दशकौंदेखि निर्माण हुँदै आएको स्थिर, अनुशासित र समर्पित जीवनको परिणाम हो । भोजिन्हा फुटबलमा सोच, अनुशासन र मानसिक शक्तिको उदाहरण बनेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)

epaper

ताजा समाचार

फ्रान्सको जीतमा एम्बाप्पेको २ गोल