बैंकिङ कसुर अभियोगमा सरोज पक्राउ

खोटाङ । बैंकिङ कसुर गरेको आरोपमा फरार रहेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा निवासी २७ वर्षीय सरोज राईलाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको मन्थलीमा दर्ता भएको किटानी जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले सरोजलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार, मुद्दा दर्ता भएपछि लुकिछिपी बसेका सरोजलाई डिकुवास्थित दाम्लीबाट बुधबार पक्राउ गरिएको थियो । पक्राउ परेका सरोजलाई जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको प्रहरीले जनाएको छ ।

किटानी जाहेरी अनुसार सरोजसहित तीन जनाले मिलेमतोमा वित्तीय संस्थामा बचतकर्ताले जम्मा गरेको ७२ लाख ३७ हजार ३३५ ठगी गरेका छन् । उनीहरूले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४ साँगामा सञ्चालित सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालयको रकम सङ्गठित रूपमा हिनामिना गरेको आरोप लागेको छ ।

वित्तीय संस्थाकी प्रमुख कार्यकारी अधिकृत बेलुमाया मगरको तर्फबाट सरोजसहित तीन व्यक्तिविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको थियो । सरोज पक्राउ परे पनि बाँकी दुई जना अझै फरार रहेका प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

epaper

ताजा समाचार

खाद्य सुरक्षावारे सकारात्मक संकेत