१३० वर्षदेखि काठमाडौंवासीलाई पानी खुवाउँदैछ शिवपुरी जलाधार

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पानीका स्रोतको तीव्र विनाश हुँदा पनि नेपाली सेना र राष्ट्रिय निकुञ्जको सुरक्षाका कारण शिवपुरी जलाधार क्षेत्रले उपत्यकाको पानीस्रोत जोगाएको छ ।

काठमाडौं उपत्यकाका स्थानीयले पिउने पानीको रूपमा प्रयोग गरेका ढुंगेधारा र पोखरी लोप हुँदै गएसँगै मुहान सुक्ने क्रम पनि तीव्र भएको छ । उपत्यकाको भूमिगत जलसतह घट्दै जाने र मुहान सुक्दै जाने समस्या भएपछि पानीको मुहान र स्रोत संरक्षणप्रति चिन्ता बढ्दै गएको छ ।

उपत्यकामा भूमिगत जलसतहमा देखिएको असर ललितपुर र भक्तपुरमा भन्दा काठमाडौंको काँठ क्षेत्रमा कमी भएको भूगर्भविद्हरुले बताएका छन् । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र शिवपुरी जलाधार क्षेत्रको सुरक्षा नेपाली सेना र राष्ट्रिय निकुञ्ज कार्यालयले गरेकोले प्राकृतिक स्रोतको संरक्षण हुन सकेको संरक्षणकर्मीहरू बताउँछन् ।

काठमाडौंको पर्यापर्यटकीय क्षेत्र मानिने शिवपुरी–नागार्जुन क्षेत्रमा रहेका बागमती, नागमती, स्यालमती, विष्णुद्वार, मुहानपोखरी, मणिचुड, सिक्रेझरनालगायतका सयौं साना ठूला खोला नदी र जलाशयलाई नेपाली सेना र राष्ट्रिय निकुञ्ज कार्यालयको संयुक्त सुरक्षा टोलीले सुरक्षा दिइरहेको छ ।

चिसापानीदेखि ककनीसम्म फैलिएको शिवपुरी जलाधार क्षेत्र २०३४ सालमा स्थापना भएदेखि नेपाली सेनाले सुरक्षा जिम्मा लिएकाले जथाभाबी दोहन हुन नपाएकोले काठमाडौंवासीलाई राहत भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत बताउँछन् । जलाधार क्षेत्रको रूपमा १४४ वर्गकिलोमिटरबाट सुरु भएको शिवपुरी मुख्य रूपमा उपत्यकावासीको पानीकै लागि संरक्षण गरिएको बस्नेत बताउँछन् ।

नेपाली सेनाले २०३४ सालदेखि नै सुरक्षा गरेको यस क्षेत्रलाई २०५८ मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको र २०६५ देखि नागार्जुनको १५ किलोमिटर क्षेत्र थपिएर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज बनेको अभिलेखमा पाइन्छ ।

सरकारले राष्ट्रिय निकुञ्ज, संरक्षित जलाधार क्षेत्र र मध्यवर्ती क्षेत्रको रूपमा घोषणा गरेर सेनाबाट सुरक्षा दिने व्यवस्था नभएको भए उपत्यकामा पानीको हाहाकार भइसक्ने भूगर्भविद् तथा पानीविद्हरूको अनुसन्धानलाई उद्धृत गर्दै नेपाली सेनाका प्रवक्ता सहायक रथी बस्नेतले बताए ।

काठमाडौंको बुढानीलकण्ठ, तारकेश्वर, टोखा, गोकर्णेश्वरलगायतका क्षेत्रसहित १६७ वटा उपभोक्ता समिति र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पानी वितरण गर्ने गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी शिवलाल गैरेले बताए । शिवपुरी नागार्जुन क्षेत्रका जलस्रोतबाट दैनिक १० लाख घनलिटर पानी आपूर्ति हुने गरेको निकुञ्ज कार्यालयका प्रमुख विष्णुप्रसाद श्रेष्ठ बताउँछन् ।

खानेपानीको अभाव झेलिरहेका उपत्यकावासीले दैनिक उपभोग गर्ने पानीको ठूलो हिस्सा मानिने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रका जलाधार तथा मुहानहरू प्राण धान्ने पानी मुहानसँगै पर्यापर्यटकीय महत्वका चर्चित गन्तव्य भए पनि पछिल्ला वर्षमा संरक्षणका कार्यक्रमहरूमा प्राथमिकता नपरेको देखिन्छ ।

राष्ट्रिय निकुञ्जभित्र रहेका बाघद्वार, विष्णुद्वार, नागमती, श्यालमती, रुद्रमती, तुसारखोला, सुन्दरीजललगायतका मुहान र खोलाहरूले उपत्यकाको खानेपानी प्रणालीलाई निरन्तर पानी उपलब्ध गराउँदै आएपनि पछिल्ला दिनमा जलवायु परिवर्तनका असरका कारण पानीको कमी हुँदै गरेको जलस्रोतविद्हरू बताउँछन् ।

काठमाडौं उपत्यकाको प्रमुख जलस्रोतका रूपमा परिचित सुन्दरीजलबाट केयूकेएलले पानी वितरण गरिरहेको छ भने मेलम्ची खानेपानी आयोजनाको पानीसमेत यही प्रणालीसँग जोडिएको छ । उपत्यकाको पानीको प्रमुख प्रणालीको रूपमा रहेको जलाधार क्षेत्रको संरक्षणमा ५० वर्षदेखि जुटेको नेपाली सेना र राष्ट्रिय निकुञ्ज कार्यालयले जैविक विविधता जोगाउँदै पर्यापर्यटनसमेत प्रवर्धन गरिरहेको नेपाली सेनाले जनाएको छ ।

वर्षायाममा परेको पानी वन क्षेत्रमा सञ्चित भई बिस्तारै मुहान र खोलाका रूपमा निस्कने भएकाले प्राकृतिक जलाशयको महत्वपूर्ण विशेषता बोकेको यस क्षेत्रमा जथाभाबी मानवीय गतिविधि तथा डोजरे विकासको दोहन नभएकै कारण जोगिएको वातावरणविद्हरू बताउँछन् ।

उपत्यकाको कुल खानेपानी आवश्यकताको ४० प्रतिशतभन्दा बढी अर्थात् दैनिक करिब ३० मिलियन लिटर पानी यस क्षेत्रका जलस्रोतबाट आपूर्ति हुने गरेको तथ्यांक पाइएको छ ।

काठमाडौं उपत्यकाको पानीको सुरक्षालाई राष्ट्रिय सुरक्षाकै एक महत्वपूर्ण अंशको रूपमा लिइएको नेपाली सेनाका प्रवक्ता बस्नेत बताउँछन् । जलाधार क्षेत्रमा अनधिकृत प्रवेश, वन फडानी, चोरी–सिकार तथा अतिक्रमण रोक्न निकुञ्ज प्रशासन, सशस्त्र वन रक्षक तथा नेपाली सेनाले संयुक्तरूपमा सुरक्षा व्यवस्था मिलाउँदै आएको प्रवक्ता बस्नेतले बताए । नेपालका राष्ट्रिय निकुञ्जहरूको सुरक्षा व्यवस्थापनमा नेपाली सेनाको प्रत्यक्ष संलग्नता रहने कानुनी व्यवस्थाकै आधारमा संरक्षण गरिरहेको नेपाली सेनाले जनाएको छ ।

मुहानमा ध्यान नदिँदा उपत्यकाका ढुंगेधारा विनाश : विज्ञ
पानीका मुहानहरूको संरक्षणमा समयमै ध्यान नदिँदा काठमाडौं उपत्यकाको ढुंगेधारा तथा भूमिगत पानी प्रणालीमा असर परिरहेको त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक डा.सन्ध्या खनाल पराजुली बताउँछिन् । उपत्यकाको आसपासका पहाडी क्षेत्र मुहान भएर उपत्यकाका बस्तीहरूमा ल्याइएका राजकुलोहरू नास हुँदा उपत्यकाका ढुंगेधारा तथा ऐतिहासिक पोखरीहरू जोखिममा परिरहेको पराजुलीले बताइन् ।

अर्बौंको पानी बिक्री, रोयल्टीमा ६ वर्षदेखि केयूकेएलको अटेरी
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दैनिक ३० लाख लिटरको हाराहारी पानी केयूकेएल र १६७ उपभोक्ता समितिहरूले नागरिकलाई बिक्री गरेपनि त्यसबापतको रोयल्टी भने बुझाएका छैनन् । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली २०७६ ले यस क्षेत्रबाट पानी आपूर्ति गरी बिक्री गरेवापतको आम्दानीको २० प्रतिशत रोयल्टी बुझाउनुपर्ने व्यवस्था गरेपनि प्राप्त नभएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अधिकारीहरू बताउँछन् ।

केयूकेएल र विभिन्न उपभोक्ता समितिले नागरिकलाई पैसा लिएर बिक्री गर्ने पानीबाट रोयल्टी लिई मुहान संरक्षण तथा पुनर्भरण प्रणाली संरक्षणमा लगानी गर्ने राष्ट्रिय निकुञ्जको योजना बजेट अभावले अलपत्र परिरहेको निकुञ्ज व्यवस्थापनले गरिरहेको छ । राष्ट्रिय निकुञ्ज क्षेत्रले जलाधार र जैविक विविधता संरक्षणसँगै पर्यापर्यटन प्रवर्धन गरेपनि राज्यले सो कामका लागि अतिरिक्त बजेट दिने नगरेको निकुञ्ज प्रशासन तथा नेपाली सेनाका अधिकारीहरू बताउँछन् ।

निकुञ्ज प्रशासनसम्बन्धी उच्च अधिकारीहरूले रोयल्टीको विषय उठाउँदै गर्दा केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई भने नियमावली नमानेको सिधै स्वीकार गर्छन् । निकुञ्जले सरोकारवालासँग परामर्श नगरी एकलौटी हिसाबले आएको नियमावली मानेर १३० वर्ष पहिलेदेखि वितरण हुँदै आएको पानीमा रोयल्टी तिर्न नसकिने राईले बताए । राईले भने, ‘अहिले सुन्दरीजल तथा शिवपुरी क्षेत्रको पानी केयूकेएलले खासै वितरण गरेको छैन, त्यहाँ क्षमता भए पनि हामीले संकलन र वितरण गरेकै छैनौं तर पनि यो रोयल्टी भन्ने कतै पनि तिरेको छैन यहाँ कसरी तिर्नु ? फेरि यहाँ सुरु गरेपछि मेलम्चीले माग्ला अरूले माग्ला, त्यही भएर यो विषय विवादमै छ ।’

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

epaper

ताजा समाचार

‘बर्थ डे’ सँघारमा मेस्सीको कीर्तिमानी रात