डडेल्धुरा । सुदुरपश्चिममा भारतका विभिन्न शहरहरुबाट करिब ६० हजारको हाराहारीमा क्वारेनटाइनमा बसिरहेका छन् । निर्माण गरेका क्वारेनटाइनहरुको क्षमता भन्दा बढी व्यक्तिहरु नेपाल प्रवेश गरेपछि क्वारेन्टाइन व्यवस्थापनमा स्थानीय तहहरुलाई समस्या परेको देखिन्छ ।
सुदुरपश्चिम प्रदेशका कयौ क्वारेनटाइनभित्रै उपचार नपाएर मृत्यु भइरहेका बेलामा सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले भने ५ दिनसम्मका लागी स्वाब संकलन कार्य नगर्न ९ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । प्रदेश सरकारले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वाव संकलन गरी परिक्षणको दायरा बढाउनुको सट्टा स्वाव संकलन कार्य रोक्न निर्देशन दिएको छ ।
धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा यस अघि संकलित नमूनाहरुको परिक्षण बाँकी रहेकोले पाँच दिनका लागि थ्रोट स्वाबको नमूना संकलनको काम स्थगित गर्न स्वास्थ्य निर्देशनालयले परिपत्र गरेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए । सुदरपश्चिममा एक मात्रै कोरोना परिक्षण प्रयोगशाला धनगढीमा रहेको र त्यसबाट दैनिक दुई सय पचास जनाको मात्रै कोरोना परिक्षण हुने भएको र हालसम्म संकलित १ हजार ८३ जनाको थ्रोट स्वाब परीक्षण गर्न बाँकी रहेकोले सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।
सुदुरपश्चिमा रहेको आरटी पीसिआर जाँच प्रयोगशालाको क्षमता भन्दा बढी सुदुरपश्चिमका जिल्लाहरुबाट स्वाव संकलन भएको र संकलन गरिएको स्वाव परिक्षण गर्न केही दिन लाग्ने र परिक्षण गर्नुपर्ने स्वाब धेरै दिनसम्म थन्किन सक्ने र धेरै दिन परिक्षण नगरि राख्दा विग्रिन सक्ने भएकोले तत्काललाई ५ दिनका लागी स्वाव संकलन कार्य स्थगित गर्न पत्राचार गरिएको छ ।
विहिबारसम्म सुदुरपश्चिममा ८ हजार ६ सय ३६ जना महिला र ५० हजार ९ सय १८ जना पुरुष गरी जम्मा ५९ हजार ५ सय ५४ जना क्वारेन्टाईनमा रहेको सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयसंग तथ्यांक रहेको छ ।
सुदरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको विहिबार सम्मको तथ्याकले अछाम जिल्लामा १ हजार १० महिला र ५ हजार १ सय ७६ पुरुष, बैतडीमा ४सय ७३ महिला र ५ हजार १ सय ७२ पुरुष, बझाङमा ६ सय ६८ महिला र २ हजार २ सय ४२ पुरुष, बाजुरामा १ हजार १सय २८ महिला र ३ हजार ४सय ९ पुरुष, डडेल्धुरामा ३ सय ३३ महिला र ४ हजार १ सय ७५ पुरुष, दार्चुलामा १ सय ४५ महिला र १ हजार ३ सय ३७ पुरुष, डोटीमा १ हजार २ सय ६१ महिला र ७ हजार ४ सय ९४ पुरुष, कैलालीमा २ हजार ८ सय २३ महिला र १४ हजार ५ सय ४ पुरुष र कन्चनपुरमा ७ सय ९५ महिला र ७ हजार ४ सय ९ पुरुष गरी ५९ हजार ५ सय ५४ जना क्वारेन्टाइनमा रहेका छन् ।






