काठमाडौं । २०३५ सालमा निर्देशक प्रताप सुब्बाको निर्देशनमा चलचित्र ‘परालको आगो’ निर्माण भएको थियो । कथाकार गुरु प्रसाद मैनालीको कथामा यो चलचित्रलाई त्यति बेला दार्जिलिङ र नेपालबाट संयुक्त ब्यानरमा निर्माण गरिएको थियो ।
सो चलचित्रकी अभिनेत्री वसुन्धरा भुसालका अनुसार भारत र नेपालमा छायांकन गरिएको यो चलचित्र त्यति बेला नेपाल र भारत दुवै देशमा प्रदर्शन गरिएको थियो । हास्य प्रधान यो चलचित्रले त्यति बेला राम्रो चर्चा पाएको थियो । चलचित्रले व्यावसायिक रूपमा कति कमाई ग¥यो भन्ने जानकारी आफूलाई नभए पनि ‘परालको आगो’बाट निर्माताहरू घाटामा नगएको उनको कथन छ ।
करिब साँढे चार दशकपछि गुरु प्रसाद मैनालीको ‘परालको आगो’ कथालाई जस्ताको जस्तै ग्रहण गरेर निर्माण सुशील पोखरेलले यस पटक चलचित्र ‘परालको आगो’ पुन निर्माण अर्थात ‘रिमेक’ गरे । यो चलचित्र गत वैशाखमा रिलिज गरियो । सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापाको मुख्य भूमिका रहेको यो नयाँ चलचित्र ‘परालको आगो’ले स्वदेशी बक्स अफिसबाट नेपालमा साँढे चार करोड भन्दा माथिको व्यापार ग¥यो । डेढ करोडमा तयार भएको यो चलचित्रबाट आफूले लगानी उठाएर केही मुनाफा पनि कमाएको यसका निर्माता पोखरेलले बताए ।
निर्माता पोखरेलका अनुसार ‘परालको आगो’ निकै राम्रो कथा थियो । यो कथामा साँढै चार दशक अघि बनेको चलचित्रलाई धेरैले हेर्न पाएका थिएनन् । सोही कारण ‘परालको आगो’लाई फेरी चलचित्रको रूपमा बनाउने साहस आफूले गरेको र यसले सफलता पनि प्राप्त गरेको उनको कथन छ । यो सफलतासँगै विगतमा बनेका सफल चलचित्रको कथामा अरूले पनि फेरी नयाँ चलचित्र ‘रिमेक’ गर्ने विश्वास यी निर्माताको छ ।
हलिउड, बलिउडमा धेरै चलचित्रलाई ‘रिमेक’ गरिएको छ । त्यहाँ त एउटै चलचित्रलाई तिन पटकसम्म ‘रिमेक’ गरिएको उदाहरण छ । नेपालमा त्यति धेरै ‘रिमेक’को प्रचलन छैन । पछिल्लो समय नेपालमा नेपाली चलचित्रको ‘रिमेक’ बन्ने क्रम सुरु भएको छ । विगतमा निर्माण भइसकेको चलचित्रमा पुन चलचित्र निर्माण गर्नु आफैँमा जोखिम कार्य हो । तर यो जोखिममा मेहनत गरे सफलता पनि मिल्ने सम्बन्धित निर्माता निर्देशकहरूको कथन छ ।
यस्तै यति बेला नयाँ चलचित्र ‘गौँथली’ निर्माण गरिएको छ । यो पनि ‘रिमेक’ चलचित्र हो । दुई दशक अघि नृत्य निर्देशक वसन्त श्रेष्ठको निर्देशनमा नेपालको पहिलो गीति चलचित्र ‘गौँथली’ निर्माण गरिएको थियो । त्यति बेला यो चलचित्रमा सबै गीत राखेर गीत र अभिनयबाटै कथा प्रस्तुत गरिएको थियो । डा. भोला रिजालको गीति खण्ड काव्य ‘गौँथली’मा यो चलचित्र निर्माण भएको थियो । चलचित्रले व्यावसायिक सफलताको ५१ दिन समेत मनाएको थियो ।
सोही कथालाई लिएर भोला रिजालकै छोरा डा. कपिल रिजालले आफ्नो निर्देशनमा यति बेला नयाँ चलचित्र ‘गौँथली’ तयार गरिरहेका छन् । आगामी १ साउनमा रिलिज हुने यो ‘गौँथली’ पनि पुरानो कथामा बनाइएको ‘रिमेक’ चलचित्र हो । सोही कथामा यो चलचित्र पुन निर्माण गरिएको भए पनि यस पटक खण्ड काव्यको त्यो गीतलाई कथामा ढालिएको छ । यो चलचित्रलाई सुमन गिरीले निर्माण गरेका हुन् । विगतमा ‘गौँथली’ले व्यावसायिक सफलताको ५१ दिन मनाएको र यो चलचित्रलाई त्यति बेला धेरैले मन पराएका कारण यसको पुन रिमेक गरिएको हो । तर कथा एउटै भए पनि अहिले पटकथा र संवादमा आफूहरूले धेरै नै मेहनत गरेको पनि निर्माता गिरीले राजधानीलाई बताए ।
दुई दशक अघि निर्माण भएको ‘गौँथली’ सामाजिक सञ्जालमा पनि नराखिएको र त्यति बेलाको कथालाई अहिले धेरैले बिर्सिसकेका कारण आफूले सोही चलचित्रको ‘रिमेक’ गरेको पनि सुमनले जनाए । एक पटक बनिसकेको चलचित्रको कथामा फेरी अर्को चलचित्र बनाउनु आफैँमा ठुलो चुनौती हो । तर यस पटक आफूले त्यही कथालाई फरक स्वादमा चलचित्रको रूपमा तयार गरेको यी निर्माताको कथन छ । नयाँ चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का जोडीको रूपमा प्रस्तुत भएका छन् । चलचित्रमा यो जोडी श्रीमान् र श्रीमतीको भूमिकामा छन् ।
गत वर्ष २६ वैशाखमा रिलिज भएको नेपाली चलचित्र ‘जार’ पनि ‘रिमेक’ नेपाली चलचित्र थियो । साहित्यकार इन्द्रबहादुर राईको ‘जार’ कथामा आधारित रहेर पाँच दशक अघि पनि चलचित्र ‘जार’ निर्माण गरिएको थियो । त्यति बेला चलचित्र ‘जार’ सिक्किमबाट निर्माण गरिएको थियो । सोही चलचित्रलाई ‘रिमेक’ गरेर निर्देशक फूर्वा छिरिङ लामाले गत वर्ष नयाँ चलचित्र ‘जार’ बनाएका हुन् । नेपाल र भारत दुवै देशको संयुक्त ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘जार’मा अभिनेता द्वय सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापाको अभिनय थियो । पूर्वी भारतमा राम्रो व्यापार गरेको यो चलचित्रले नेपालमा भने त्यति राम्रो कमाइ गरेन । तथापि हलिउड र बलिउडमा जस्तै नेपालमा पनि पुराना चलचित्रलाई नयाँ शैलीमा ‘रिमेक’ गर्ने कार्यलाई यो चलचित्रले सुरुमा अघि बढाएको हो ।
सम्बन्धित समाचार
‘मुटु फलाम भएर’ कविता कृति लोकार्पण
राष्ट्र बैङ्कको अध्ययनः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
आजको मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय
नेपालमा एनिमेसन चलचित्रको छुट्टै महोत्सव हुँदै
वायोपिकमा अग्रज कलाकार ‘मदनकृष्ण’
तमिल चलचित्रमा अझै मुख्यमन्त्री थलापति विजय नै महंगा अभिनेता
बलिउड कलाकार जसले अन्तर धार्मिक विवाह रोजे
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ






