ओस्कारमा जान ‘एलिफेन्ट्स इन द फग’ भदौमै रिलिज

काठमाडौं । विश्व प्रसिद्ध चलचित्र महोत्सव ‘कान्स फिल्म फेस्टिभल’ ‘जुरी पुरस्कार’ जितेको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले अब ओस्कार अवार्डमा नेपालको तर्फबाट भाग लिने भएको छ । ओस्कारमा भाग लिनकै लागि आगामी भदौको अन्तिम सातासम्म सम्बन्धित चलचित्र प्रदर्शन गर्नु पर्ने हुन्छ । त्यसैले ओस्कारमै सहभागी हुन ‘एलिफेन्ट्स इन द फग’ प्रदर्शन मिति घोषणा गरिएको छ । यो मितिमा अरू दुई वटा चलचित्र रिलिजको तयारी हुँदै छ । तथापि आगामी १९ भदौ कृष्ण जन्म अष्टमीको अवसरमा ‘एलिफेन्ट्स इन द फग’ नेपालका चलचित्र घरमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नौबाग, आकांक्षा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ । नेपालको झापामा छायांकन गरिएको यो चलचित्रमा जंगली हात्तीको आतंकबाट आक्रान्त गाउँमा बस्ने स्थानीय र अल्पसंख्यक समुदायले जंगली हात्ती विरुद्ध गर्नु परेको संघर्षको कथा प्रस्तुत गरिएको छ ।

यो चलचित्रलाई अविनाश विक्रम शाहले निर्देशन गरेका हुन् । चलचित्रको लेखक पनि उनी आफैँ हुन् । कान्समा पुरस्कृत भएपछि यो चलचित्र हेर्न धेरै दर्शक उत्साहित भएकाले यसलाई भदौमा रिलिज गर्न लागिएको अविनाशले बताएका छन् ।

आगामी १४ मार्चमा आयोजना हुने विश्व प्रतिष्ठित ओस्कारको लागि चलचित्र सहभागी गराउन आगामी असोजबाट फारम खुल्दै छ । फारम खुल्नु अघि सम्बन्धित चलचित्र रिलिजसहित एक हप्ता प्रदर्शन भएको हुनुपर्ने ओस्कारको नियम रहेको छ । सोही कारण पनि १९ भदौमा यसलाई नेपालमा रिलिज गर्न लागिएको यसको निर्माण पक्षले जनाएको छ ।

नेपालबाट अहिलेसम्म कान्स फेस्टिभलमा ‘जुरी प्राइज’ जित्ने चलचित्र यो नै पहिलो हो । यसले विश्वमा नेपालको नाम चिनाएको भन्दै यसै साता काठमाडौँ महानगर पालिकाको तर्फबाट कार्यकारी प्रमुख सुनिता डंगोलले प्रोत्साहन स्वरूप १० लाख रुपैयाँ प्रदान गरिन् । टोल टोलमा चलचित्र घोषणा समारोहमा यो चलचित्रलाई १० प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । यस्तै चलचित्र विकास बोर्डले पनि यस चलचित्रका निर्मातालाई गत साता प्रोत्साहन स्वरूप २ लाख ५० हजार रुपैयाँ प्रदान गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल