जनता समाजावादीको नेतृत्वमै तीव्र विवाद, एकता संकटमा

काठमाडौं । हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी स्ुस्त बन्न थालेको छ । पार्टी एकीकरण भएको डेढ महिना बिते पनि नेतृत्वको टुंगो अझै लाग्न सकेको छैन । नेतृत्व टुंगो लगाउन विगत डेढ महिनामा पटक पटक आन्तरिक बैठक भए पनि नेताहरु आफ्नो अडानबाट टसमस नभएपछि विवाद सतहमै आउन थालेको हो ।

गत १० वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको थियो । पार्टी एकीकरण गरी त्यसको भोलिपल्ट निर्वाचन आयोगलाई जानकारी दिइएको थियो । निर्वाचन आयोगमा पार्टी एकीकरणका लागि निवेदन दिएको शनिबार ४५ दिन पुग्दै छ तर पनि हालसम्म एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन । सीमा विवादलगायतका राष्ट्रिय मुद्दामा यो पार्टी मौन बस्दै आएको छ ।

–पार्टीका थप काम ओझेलमा
–पार्टी सुस्त बन्दै
–सिद्धान्त, विचारलगायतका विषय गौण
–दर्ता प्रक्रिया अन्योलमा

शुक्रबार दुवै पार्टीका शीर्ष नेता छलफलमा बस्दै नेतृत्वको टुंगो लगाउने प्रयास गरे पनि सफल हुन सकेनन् । जसपा नेता महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्रराय यादव, अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका शीर्ष नेताहरुले नेतृत्वको टुंगो लगाउने प्रयास जारी राखे पनि उनीहरु असफल हुँदै आएका छन् ।

एकीकृत पार्टीको कार्यकारी अधिकारसहित केन्द्रीय समितिको अध्यक्षमा ठाकुरलाई र संघीय परिषद्को अध्यक्षमा डा. भट्टराईलाई राख्ने भद्र सहमति भए पनि कार्यकारी अधिकारका अन्य नेताले भद्र सहमति तोड्दै भाजो हालिरहेको जसपाका एक नेताले बताए ।

‘कार्यकारी अधिकारसहित केन्द्रीय समितिको अध्यक्षमा ठाकुर र संघीय परिषद्को अध्यक्षमा डा. भट्टराईलाई राख्नेमा विवाद सिर्जना हुँदैछ,’ ती नेताले भने, ‘मुख्यत उपेन्द्र र राजेन्द्र आफूसँग पार्टीको बढी अधिकार राख्न खोज्दै आफ्नो मर्यादाक्रममा बढी चिन्तित देखिएका छन् ।’ उनीहरुकै कारण पार्टी एकताले मूर्तरूप लिन नसकेको हो ।’

पार्टी एकीकरण गर्दा समानताका आधारमा सबै नेताको व्यवस्थापन गरिने सहमति भएको थियो । तर, अहिले आएर समाजवादी पार्टीबाट केन्द्रीय समितिको अध्यक्षमा ठाकुर र यादवलाई राखेर जाने वैकल्पिक प्रस्तावमा समेत छलफल सुरु भएको छ । यस्तो प्रस्ताव आएपछि महतोले आफ्नो ‘पोजिसन’ बलियो बनाउन खोजेका छन् । दुई अध्यक्ष राख्ने समाजवादीको प्रस्ताव राजपाले अस्वीकार गरेको छ । यादव अध्यक्ष हुन खोज्दा अर्को समस्या थपिएको बताइएको छ ।

‘दुई अध्यक्ष राख्ने र कार्यकारी अधिकार उपेन्द्रले आफूसँग राख्न खोजेका छन्, महन्थलाई सेरेमोनियल अध्यक्ष बनाउन खोजिँदै छ,’ जसपा स्रोतले भन्यो, ‘यस्तो प्रस्ताव आएपछि महतोले आफ्नो पोजिसन क्लियर गर्न खोज्दै छन् । यो प्रस्ताव राजपा नेताले अस्वीकार गरिरहेका छन् ।’

नेतृत्वमै विवाद सुरु भएपछि एकीकृत पार्टीको अन्य काम ओझेलमा परेको छ । पार्टीको सिद्धान्त, विचारलगायतका विषय अहिले गौण जस्तै भएको जसपा नेताले बताए ।

दुई पार्टीबीच एकीकरण घोषणाअघि ठाकुरलाई एकीकृत पार्टीको अध्यक्ष बनाउने सहमति भएको थियो । तर, सो सहमतिबाट पछि हट्दै समाजवादीले यादवलाई अघि सारेपछि विवाद सुरु भएको हो ।

पार्टी एकीकरणपश्चात् चार सदस्यीय विधान एवं घोषणपत्र मस्यौदा समिति गठन भएको थियो । राजपाबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र समाजवादीबाट राजेन्द्र श्रेष्ठ र नवराज सुवेदी सदस्य छन् । यो समितिले केन्द्रमा विभिन्न ११ वटा सांगठनिक संरचना रहने गरी विधान निर्माण गरेको थियो ।

राष्ट्रिय महाधिवेशन, संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीति समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, संघीय संसदीय दल, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखापरीक्षण आयोग रहने गरी विधानमा प्रस्ताव गरिएको छ ।

दर्ता प्रक्रिया अन्योलमा
जनता समाजवादी पार्टी (जसपा) दर्ता प्रक्रियामा अन्योल देखिएको छ । दुवै पार्टीका शीर्ष नेताको जिम्मेवारी बाँटफाँटमा सहमति जुट्न नसक्दा दल दर्ता प्रक्रियामा अन्योल देखिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच एकता गर्ने घोषणा गरी निवेदन दिएको ४५ दिनभित्र निर्वाचन आयोगमा नयाँ पार्टीको घोषणापत्र, पार्टीको विधान, दुवै पार्टीका केन्द्रीय सदस्यको हस्ताक्षर र पार्टी एकता गर्दाको सहमति पत्र बुझाउनुपर्ने हुन्छ ।

नेतृत्वको टुंगो नलागे पनि एकीकृत पार्टीको केन्द्रीय समितिमा ७ सय १ सदस्य, राजनीतिक समितिमा १ सय ५१ सदस्य र कार्यकारिणी समितिमा ५५ जनासम्म पदाधिकारी रहने सहमति यसअघि नै भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानदेखि धनगढीसम्म स्वतन्त्र