कुँवरसहित १० जना उद्यमी सम्मानित

गुल्मी। रेसुङ्गा नगरपालिकाले ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन कार्यक्रम’का सर्वोत्कृष्ट उद्यमीलाई रु १ लाख नगद पुरस्कारसहित सम्मान गरेको छ।

रेसुङ्गा नगरपालिका–१० सिमिचौरका कृषक बिनबहादुर कुँवरलाई नगरपालिकाले उद्यमशीलता प्रवद्र्धनका लागि सञ्चालन गरेको कार्यक्रममा सर्वोत्कृष्ट उद्यमी घोषित गर्दै सम्मान गरेको हो। २६ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आउनुभएका कुँवर १३७ जना उद्यमीमध्ये सर्वोत्कृष्ट उद्यमीमा छनोट भएका हन्। कुँवरले हाल ६५ रोपनी क्षेत्रफलमा व्यावसायिकरुपमा तरकारीखेती गर्दै आएका छन्। उनीसगै नगरपालिकाले अन्य उत्कृष्ट १० उद्यमी छनोट गरेको छ।

उद्यमीले आफ्नो व्यावसायिक कार्ययोजना तथा लगानीका विषयमा गरेको प्रस्तुतिको मूल्याङ्कनका आधारमा एक जनालाई सर्वोत्कृष्ट उद्यमी छनोट गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले अन्य उत्कृष्ट ९ं जना उद्यमीलाई भने जनही रु ६० हजार नगदसहित सम्मान गरेको छ।

सम्मानित हुने अन्य उद्यमीमा रेसुङ्गा कृषि, पशुपन्छी तथा मौरीपालन फार्मकी विष्णुमाया श्रीस, भगवती कृषि तथा पशुपन्छी फार्मका चुराबहादुर जोगी कुँवर, अर्जुन रेसुङ्गा मल्टी एग्रो एन्ड टुरिज्मका भविन्द्र घर्ती मगर रहेका छन्।

त्यस्तै, गोपाल तरकारी घुम्टी फार्मका गोपाल नेपाली, रेसुङ्गा कृषि तथा पशुपन्छी फार्मका केशव रजाली, थापा व्यावसायिक तरकारी फार्मका लिलबहादुर थापा, लक्ष्मी–लक्ष्मण कृषि फार्मका मुक्तिनाथ पन्थी क्षेत्री, न्यू रेसुङ्गा जडीबुटी प्रशोधन केन्द्रका झविन्द्रलाल भण्डारी एवं कृष्ण कृषि उत्पादन फार्मका कृष्णबहादुर बस्नेत सम्मानित भएका छन्।

नगरपालिकाले स्थानीय स्रोत, सीप र सम्भावनामा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख खिलध्वज पन्थीले बताएका छन्।

स्थानीय उद्यमशीलता विकास, स्वरोजगार सिर्जना तथा रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले दायित्वसँगको सहकार्यमा नगरपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

बजेट कार्यान्वयनसँगै कृषि र युवालक्षित कार्यक्रम ल्याउन माग